सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा

आइतबार, १० साउन २०८३, २३ : २७
आइतबार, १० साउन २०८३

सारांश

  • नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ ।
  • स्वास्थ्य मन्त्री निशा मेहताको पहलमा घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।
  • घटनाको छानविन गर्न मन्त्रालयबाट टोली वीरगन्ज पठाइएको छ र घाइते मेडिकल अफिसरको उपचारको व्यवस्था मिलाइएको छ ।

वीरगन्ज । नारायणी अस्पतालमा उपचारका क्रममा भएको बिरामीको मृत्युको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल र निरन्तर समन्वयपछि घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

घटना लगत्तै मन्त्री मेहताले गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीहरू, नारायणी अस्पताल प्रशासन तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गरेकी थिइन् ।

घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगन्ज पठाइएको छ । 

मन्त्रालयका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने थप अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ ।

यसैबिच, घटनामा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । उनको उपचारको आवश्यक व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने भन्दै मन्त्री मेहताले दोषीमाथि कानुनबमोजिम कारबाही हुने र स्वास्थ्यकर्मीको सुरक्षा तथा नागरिकले सुरक्षित वातावरणमा उपचार सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप