सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आत्मदाह गरेको प्रहरी अनुसन्धानको निष्कर्ष
सारांश
- सानिमा क्यापिटलकी मर्चेन्ट हेड ४५ वर्षीया रश्मी रिजाल तारकेश्वर नगरपालिका-१ मा मृत फेला परेकी छन्।
- प्रहरीको प्रारम्भिक अनुसन्धानले रिजालले आफैंलाई पेट्रोल छर्केर गाडीभित्र आत्मदाह गरेको निष्कर्ष निकालेको छ।
- सीसीटीभी फुटेज विश्लेषण र गाडीभित्र लाइटर बरामद भएपछि प्रहरीले घटनालाई आत्मदाहको रुपमा पुष्टि गरेको छ।
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१ मा शनिबार मध्यान्ह रश्मी रिजाल मृत फेला परिन् । ४५ वर्षीया रिजाल साउन ८ मा बिहान ७ बजे घरबाट निस्केर घर फर्केकी थिइनन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित तादी घर भएर मनमैजुमा बस्ने रिजाल घर नफर्केपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए । प्रहरी वृत्त बालाजुले खोजीकार्य गरिरहेको बेला खबर आयो, ‘तारकेश्वरस्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक एउटा गाडी शङ्कास्पद रूपमा रोकेर राखिएको छ ।’
कालो सिसा भएकाले स्थानीयले गाडीभित्र केही देखेनन् । प्रहरी पुगेर चेकजाँच गर्दा बिएई ०४१० नम्बरको ईभी कारभित्र उनै रश्मी मृत अवस्थामा भेटिइन् । उनी कारको पछिल्लो सिटमा थिइन्, गाडीको चाबी चालक सिटमा नै थियो ।
आइतबार पोस्टमार्टमपछि उनका श्रीमानले शव बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
तारकेश्वर नगरपालिका वडा नम्बर–९ मनमैजुस्थित शुभकामना चोकमा बस्दै आएकी रश्मी साउन ८ गते बिहान घरबाट निस्केकी थिइन् । घरबाट निस्केर सिधै उनी घटनास्थलमा गएको र पेट्रोल छर्केर उनले आत्मदाह गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । उनी पेट्रोल बोकेर घटनास्थलमा पुगेकी थिइन् । प्रारम्भिक अनुसन्धानबाट रश्मीले आफैँलाई जलाएको अनुसन्धानले देखाएको एसपी भट्टराईले बताए । उनले भने, ‘सिसिटिभी फुटेज विश्लेषण गर्दा घटनास्थलमा अरूको उपस्थिति देखिँदैन ।’
गाडीमा एयर कन्डिसन अन गरेर शुरुमा कारभन्दा बाहिर शरीरमा पेट्रोल छर्केको र भित्र छिरेर आगो लगाएको अनुसन्धानको निष्कर्ष छ । गाडीभित्र जलेको अवस्थामा ३ वटा लाइटर प्रहरीले बरामद गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी वृत्त बालाजुका एक जना अधिकृत भन्छन्, ‘गाडीको ढोका लक गरिएको थियो, आगो उहाँ आफैँले लगाएको सिसिटीभीबाट पनि देखिन्छ ।’
अनुसन्धान अधिकृतहरूका अनुसार रश्मीले आत्मदाह गरेको र उनको अनुहार र खुट्टा जलेको पाइएको छ । गाडीको भित्री भाग जलेको छ भने बाहिरी भाग जलेको छैन ।
नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडको मर्चेन्ट हेडको रूपमा कार्यरत रश्मी केही समयदेखि तनावमा थिइन् । गएको महिना लगातार ३ दिन कार्यालयमा अनुपस्थित भएपछि कार्यालयले उनको खोजी गरेको थियो । घटनास्थलमा भेटिएको गाडी उनकै भएको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
असार २५ पछि १० घटना
असार २५ भन्दापछि काठमाडौँ उपत्यका र उपत्यका बाहिर आत्मदाह सम्बन्धी १० वटा घटना भएका छन् । काठमाडौँमा मात्र ७ वटा आत्मदाह प्रयास र आत्मदाहका घटना भएका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ जवलधारा घर भएका २५ वर्षीय गणेश नेपालीले असार २५ मा आत्मदाह गरेपछि घटना एकपछि अर्को हुँदै बढेको हो । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको थियो । पार्किङको विषयमा काठमाडौँ महानगर प्रहरी बलका सुरक्षाकर्मीसँग विवाद हुँदा उनले आत्मदाह गरेका हुन् । घटनको सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको नेतृत्वमा न्यायिक समिति गठन गरिएको छ ।
साउन ४ मा काठमाडौँ महानगरपालिका वडा नम्बर–६ स्थित बौद्ध गेट नजिकै खाजा पसल चलाउँदै आएकी २७ वर्षीया सालु गुरुङले आत्मदाह प्रयास गरिन् । अहिले उनको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार हुँदै छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–३ घर भएर गुरुङ र उनका श्रीमान् गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा बस्दै आएकी थिइन् ।
असार २७ मा बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले आत्मदाह गरे । उनले आफ्नै घरको भान्साकोठामा आफैँलाई आगो लगाएका हुन् । उपचराको क्रममा उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।
साउन ५ मा कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका सुरेशचन्द्र श्रेष्ठले पनि आत्मदाह गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुर स्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए । आफैँले चलाएको बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा उनले आफैँलाई जलाएका हुन् । श्रेष्ठ औषधीको व्यवसाय गर्दै आएका थिए । उपत्यकामा भएका घटनाहरू मध्ये रश्मी रिजालको आत्मदाह पाँचौँ घटना हो ।
काठमाडौँमा भएका थप दुई वटा आत्मदाह प्रयासको घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर काउन्सेलिङ गरेको छ । कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बेच्दै आएका एक पुरुषलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
नगर प्रहरीको हस्तक्षेपका कारण तरकारी बेच्ने समय थोरै भएको हुनाले जीविकोपार्जन कठिन भएको भन्दै उनले साउन ४ मा आत्मदाह प्रयास गरेका हुन् । यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै अर्का एक युवाले पनि शीतलनिवास अगाडि आत्मदाह प्रयास गरे । आत्मदाह गर्न खोज्ने २७ वर्षीय उनलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ । उनी रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन् ।
सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो । असार २६ मा गोडैता नगरपालिका–१० घर भएका ३५ वर्षीय मण्डलले आत्मदाह प्रयास गरेका थिए । उपचारको क्रममा उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।
सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा साउन २ मा ५ जना कैदीबन्दीले आत्मदाह प्रयास गरे । रौतहटको गरुडामा असार ३१ मा २८ वर्षीय गौतमकुमार सहनीले आत्मदाह प्रयास गरे । गरुडा नगरपालिका वडा नम्बर–९ घर भएका सहनीको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना
-
नयाँ सङ्गठन र पद दर्ता गर्ने पहिलो निकाय बन्यो सामान्य प्रशासन मन्त्रालय
-
दुई हजार एम्बुलेन्स थन्किए
-
थानाभर्याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला
-
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि
-
मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण