मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
सारांश
- मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा एमाले र नेकपाका नेताहरू सकारात्मक देखिएका छन् ।
- एमाले र नेकपाका प्रदेशस्तरीय नेताहरूले कांग्रेससँगको सहकार्य कायमै रहने बताएका छन् ।
- मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले केन्द्रको निर्देशन अनुसार ३ दलीय गठबन्धनको सरकारले निरन्तरता पाउने दाबी गरेका छन् ।
जनकपुरधाम । विभिन्न पाँच प्रदेश सरकार गठनका सन्दर्भमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच सहमति भए पनि मधेस प्रदेशका सन्दर्भमा कुनै ठोस निर्णय भएको छैन ।
मधेस र गण्डकी प्रदेशको हकमा अन्य दलसँग परामर्श गर्ने एमाले र नेकपाको निर्णयले कांग्रेस नेतृत्वमा रहेका दुवै प्रदेश सरकार तत्कालका लागि सुरक्षित देखिए पनि पूर्ण विश्वस्त हुन सक्ने अवस्था भने छैन ।
यद्यपि मधेस प्रदेशको हकमा नेपाली कांग्रेससँगको सहकार्य कायमै रहने दुवै दलका प्रदेशस्तरका नेताले जनाएका छन् ।
मधेस प्रदेशका अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका नेता युवराज भट्टराईले कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने बताए । उनले केन्द्रबाट पनि त्यस्तै निर्देशन आएकाले यहाँ ३ दलीय गठबन्धनको सरकारले नै निरन्तरता पाउने दाबीसमेत गरे ।
मन्त्री भट्टराईले रातोपाटीसँग भने, ‘प्रदेशका ३ वटै दल आपसमा सहकार्य गर्न सहमत छन् । आपसमा कुनै मनमुटाव छैन ।’ त्यसैले मधेसको हकमा अहिलेकै सरकारले निरन्तता पाउने उनको दाबी छ ।
मन्त्री भट्टराईले जनताको मुख्य चाहना सुशासन भएको र यही सरकारले भर्खर बजेट पनि ल्याएकाले सरकार फेरबदलमा आफ्नो पार्टी नलाग्ने जिकिर गरे । ८–१० महिनापछि स्थानीय तह र प्रदेश सभाको चुनाव हुने भएकाले बारम्बार सरकार परिवर्तन गर्दा जनतामा राम्रो सन्देश नजाने भन्दै उनले यही सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
मधेस प्रदेशका एमाले सांसद दिपेन्द्र ठाकुरले पनि वर्तमान सरकार कायम रहने प्रस्ट पारे । ‘जनताले खोजेको डेलिभरी हो । त्यो यो सरकारबाट प्राप्त भइरहेको छ, अनि सरकार ढाल्ने र बनाउने काममा हामी लाग्छौँ ?’ उनले भने ।
अहिले राजनीतिक स्थिरता, विकास निर्माण, सुशासन जनताले खोजेको जिकिर गर्दै उनले त्यसतर्फ आफ्नो पार्टीले ध्यान दिएको दाबी गरे । एमाले सरकार बनाउने र गिराउने खेलमा नलागी जनताको हितमा काम गर्ने पार्टी भएकाले केन्द्रले त्यही अनुसार निर्देशन दिएको उनको भनाइ छ ।
उता कांग्रेसका मधेस प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कुवरकान्त झाले केन्द्रमा मुख्यमन्त्री कृष्ण प्रसाद यादव लगायतका नेताहरूसँग छलफलका क्रममा पार्टी सभापति गगन थापाले ‘प्रदेशमा के कसरी गर्दा सरकार जोगिन्छ, तपाईंहरू आफैँ गर्नुस्’ भनेको सुनाए । सत्ता साझेदार दलबिच कुनै खटपट नभएको जिकिर गर्दै उनले मधेस सरकारलाई अहिले कुनै खतरा नरहेको प्रस्ट पारे ।
मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा ३ दलीय (कांग्रेस, एमाले र नेकपा) गठबन्धनको सरकार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
-
एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
-
अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण
-
१८ जनाको पासपोर्ट र १ करोडभन्दा बढी रकम लिएर फरार (भिडिओ रिपोर्ट)
-
किन पटक पटक डुबिरहन्छ माइतीघर क्षेत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण