सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु

सोमबार, ११ साउन २०८३, ०९ : ०९
सोमबार, ११ साउन २०८३

सारांश

  • धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी ३५ वर्षीया ज्योति चौधरीको मृत्यु भएको छ।
  • चौधरीले आइतबार साँझ आफ्नै घरभित्र आगो लगाएकी थिइन्।
  • काठमाडौँ लैजाँदै गर्दा सोमबार बिहान धादिङमा बाटोमै उनको मृत्यु भएको हो।

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए।

गम्भीर अवस्थाकी उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाडौँ लगेका थिए। काठमाडौँ लैजाँदै गर्दा सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।

मृतकको शव कैलाली फिर्ता ल्याउने प्रक्रिया अघि बढाउनुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप