आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित

आइतबार, १० साउन २०८३, १८ : २३
आइतबार, १० साउन २०८३

सारांश

  • नेकपा र एमालेबीच प्रदेशमा सत्ता सहकार्य गर्ने तीनबुँदे सहमतिमा माधव समूह विभाजित भएको छ ।
  • सहमतिमा माधव नेपाल अनुपस्थित रहेपछि उनी असन्तुष्ट रहेको चर्चा चलेको छ ।
  • समूहका केही नेताले सहमति सकारात्मक रहेको बताए पनि केहीले भने यसमा प्रश्न उठाएका छन् ।

काठमाडौँ । प्रदेशमा सत्ता सहकार्य गर्ने विषयमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बिच भएको तीन बुँदे सहमतिलाई लिएर सहसंयोजक पक्षधरी नै दुइ समुहमा विभाजित भएका छन् ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिच सात प्रदेशमध्ये कोशी, बागमती, लुम्बिनीमा एमालेले नेतृत्व गर्ने र सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेकपाले नेतृत्व गर्ने सहमति भएको थियो । मधेस र गण्डकी प्रदेशमा अन्य दलसँग परामर्श गरेर नेतृत्व सम्बन्धमा निर्णय लिने भनिएको छ ।

तर सहमतिमा हस्ताक्षर गर्ने बेलामा सहसंयोजक माधव कुमार नेपाल अनुपस्थित रहेका थिए । आफ्नो सहमतिबिनै प्रचण्डले ओलीसँग तीन बुँदे सम्झौता गरेको विषयमा नेपाल असन्तुष्ट रहेको चर्चा चलेको बेला साविक नेकपा एकीकृत पार्टीका नेताहरूले पक्ष–विपक्षमा प्रतिक्रिया दिएका छन् ।

नेपालनिकट नेता रामकुमार भट्टराईले कार्यगत एकता हुँदै भविष्यमा वाम एकता गर्ने बाटोमा जाने गरी सहमति भएको भए राम्रो हुने बताए । एमाले र नेकपा मिलेर सरकार बनाएपछि के–के काम गर्ने भनेर प्राथमिकता समेत निर्धारण गरेको भए राम्रो हुने भट्टराईले स्पष्ट पारे ।

‘एमाले र नेकपा मिलेर बन्ने नयाँ सरकारले के नवीनतम कार्य गर्छ त ? नयाँ चिज के दिने जनतालाई भनेर नगरिएकाले हतार गरिएको हो कि, परिपक्व भएन कि भन्ने कुरा हो,' उनले भने ।

सहमतिलाई लिएर अनेरास्ववियुका पूर्वअध्यक्ष तथा युवा नेता सुदेश पराजुलीले हिजो भएका गम्भीर गल्ती कमजोरीको आत्मा आलोचना सहित सहमति पत्रमा कहिले हुन्छ हस्ताक्षर भनेर प्रश्न उठाएका छन् । ‘हिजो हामीले गरेका गम्भिर  गल्ति कमजोरीको आत्मालोचनासहित सहमतिको पत्रमा कहिले हुन्छ कमरेड हस्ताक्षर ? हाम्राअघि पद/ कुर्सी छ भने मात्र हुने हो हाम्रो सहमति र हस्ताक्षर ?,' सहमतिप्रति उनले प्रश्न उठाएका छन् ।

तर नेता डा. बेदुराम भुसालले नेपालकै सहमति अनुसार नै तीन बुँदे सहमतिमा हस्ताक्षर भएको बताएका छन् । भुसालले अहिले सहकार्य मात्र गर्ने, तत्काल पार्टी एकताको सम्भावना नभएको स्पष्ट पारे ।

‘तीन बुँदे सहमतिमा उहाँ(माधव)को कुनै असहमति छैन । प्रदेशको कार्यक्रममा जानुभएकाले हस्ताक्षरको बेला अनुपस्थित हुनुभएको हो । असन्तुष्टी भएर होइन,' उनले भने ।

यता नेता जगन्नाथ खतिवडाले पनि तीन बुँदे सहमतिमा नेपालको विमति नभएको जिकिर गरे ।

‘अहिलेको आवश्यकता वामपन्थीबिच सहकार्य र एकता गर्ने भनेर नै त्यो सहमति गरेको हो । माधवजीको सल्लाहमै तीन बुँदे सहमति भएको हो,' उनले भने, ‘प्रचण्ड श्रीलंकाबाट स्वदेश फर्किएपछि एमालेसँग सत्ता सहकार्य गर्नेबारे छलफल भएको थियो । साउन ८ गते पनि एमालेसँग सहमति गर्ने विषयमा छलफल गर्न दुवै जना जानुभएको थियो । हिजो पनि दुई नेताबिच छलफल भएर नै सहमति भएको हो । उहाँको असन्तुष्टि छैन,' खतिवडाले भने । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप