सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ

सोमबार, ११ साउन २०८३, ०० : २८
सोमबार, ११ साउन २०८३

सारांश

  • झापामा फोन विवादमा खुकुरी प्रहार गर्ने प्रयासमा चार युवक पक्राउ परेका छन्।
  • आरोपीहरुले एक युवकको घरमा पुगेर ज्यान मार्ने धम्की दिएका थिए।
  • प्रहरीले घटनास्थलबाट खुकुरी र छुरीसहित चारै जनालाई नियन्त्रणमा लिएको छ।

झापा । सामान्य फोन विवादले उग्र रूप लिँदा झापाको झापा गाउँपालिकामा खुकुरी र छुरीसहित एक युवकमाथि आक्रमणको प्रयास गरेको आरोपमा चार युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार शनिबार राति झापा गाउँपालिका–५ का २६ वर्षीय सुरेश हेमरममाथि आक्रमण गर्ने उद्देश्यले झापा गाउँपालिका–६ शरणामति चन्द्रबस्तीका २० वर्षीय आकाश मुर्मु आफ्ना तीन जना साथीसहित हेमरमको घर पुगेका थिए ।

मुर्मुसँगै १७ वर्षीय किरण कर्मकार, १९ वर्षीय लोकबहादुर विक र १८ वर्षीय रोहन कर्मकार खुकुरी र छुरी बोकेर हेमरमको घरमा पुगेर घर घेरा हाल्दै ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षक चुक्तबहादुर विष्टको नेतृत्वमा तथा प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर खुकुरी र छुरीसहित चारै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सुरेश हेमरम र आकाश मुर्मुबीच फोनमा भएको सामान्य विवादकै कारण मुर्मुले साथीहरूलाई साथमा लिएर हेमरमको घरमा पुगेर आक्रमणको प्रयास गरेको खुलेको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप