शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
समाचार

यस्ता छन् नेपाली कांग्रेस संसदीय दलको बैठकका निर्णयहरू

विश्वासको मतबारे अर्को बैठकले निर्णय गर्ने
शनिबार, २३ पुस २०७९, २१ : ५९
शनिबार, २३ पुस २०७९

नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरूलाई निर्देशन दिएको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरूलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको हो ।

बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदहरूले के गर्ने भन्नेबारेमा पनि सांसदहरूलाई जानकारी गराएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरूले केके गर्ने भन्नेबारेमा पनि जानकारी गराइएको बताए । उनले पार्टीको संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने पनि जानकारी गराए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने बताए । 

उनले भने, ‘यो बैठक खास गरेर २५ गते प्रतिनिधि सभाको बैठकका लागि राखिएको हो । २५ गते प्रतिनिधि सभाको पहिलो बैठक सुरु हुँदैछ । २५ गते के के कुरा हुन्छ भन्ने बारेमा साथीहरूलाई जानकारी दिइयो । २६ गते प्रतिनिधि सभामा मान्य प्रधानमन्त्रीज्यूले विश्वासको मत पेस गर्नुहुन्छ । २६ गतेको प्रक्रियाका बारेमा पनि जानकारी गराइयो । साथै सामान्यतया संसद्मा नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र तयारीका बारेमा जानकारी गराइयो । अर्को बैठक २६ गते बिहान बजे बैठक बस्छ । नयाँ बानेश्वरको ल्होत्से हलामा बैठक बस्छ । त्यही बैठकबाट हामी विश्वासको मतका बारेमा निर्णय गर्नेछौँ । विश्वासको मत दिने नदिने भन्नेबारेमा विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय हुनेछ । कुनै नयाँ गठबन्धन बनाउने, बनेको गठबन्धन भत्काउने प्रयासमा लागेका छैनौँ । नेपाली कांग्रेसलाई सबैभन्दा ठुलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय भएको छ । पार्टीलाई जिताउने भूमिका निर्वाह गर्ने साथीहरूलाई धन्यवाद दिएका छौँ ।’

प्रमुख सचेतक लेखकले सिङ्गो पार्टी एकबद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने बताए । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठुलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको छ भने संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । 

congress

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप