शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
क्रिकेटमा फिक्सिङ

फिक्सिङबारे सिआईबीले अनुसन्धान थालेपछि सेभेन–३ स्पोर्टस‍्का सञ्चालक फरार

फिक्सिङ गर्ने खेलाडीलाई ५ लाख रुपैयाँ !
मङ्गलबार, २६ पुस २०७९, १० : १४
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरूले आशङ्का गरेका छन् । यद्यपि ब्युरोले त्यसबारे छानबिन यतिबेला जारी रहेको छ । छानबिनको क्रममा अहिलेसम्म ४० जना भन्दा धेरै खेलाडी र अफिसियलहरुसँग सोधपुछ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का एआईजी उत्तमराज सुवेदीले रातोपाटीलाई बताए ।

प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टस्का सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशङ्का गरिएको छ । प्रहरीले अनुसन्धान थालेपछि सो कम्पनीका मुख्य सञ्चालक जतिन अहलुवालिया फरार भएका छन् । भारत घर भएका जतिनले काठमाडौँ छाडेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

अनुसन्धान चलिरहँदा जतिनले भारतबाट नेपाल क्रिकेट संघलाई १ करोड रुपैयाँ पठाएका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले केही दिनअघि जतिनले १ करोड रुपैयाँ रकम पठाएको रातोपाटीलाई बताए । भारतीय नागरिक अहलुवालिया र उनको कम्पनीको आम्दानीको स्रोत नदेखिए पनि लिग व्यवस्थापनको जिम्मा लिएर फिक्सिङ गरेरै पैसा तिर्ने नियत राखेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

‘व्यवस्थापक जतिन फरार छन्’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने–‘जतिन र उनका सहकर्मीहरूले फिक्सिङ गरेर नै क्रिकेट संघलाई पैसा तिर्ने गरेको आशङ्का गरेका छौँ ।’

केन्द्रीय अनुसन्धान ब्यूरोले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई पनि सोधपुछ गरेको छ । लिग खेलिरहेका आदिल अन्सारी र क्यानको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग पनि प्रहरीले फिक्सिङबारे सोधपुछ गरेको छ ।

अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘१ लाख देखि ५ लाखसम्म लिएर स्पट फिक्सिङ गरेको देखिन्छ, सो रकम खेलाडीहरूको खातामा जम्मा भएको देखिन्छ ।’

पूर्व क्रिकेटर पारस खड्का र विनोद दाससँग पनि सहयोग लिएर अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । उनले भने–‘आईसीसीको एन्टी करप्सन अफिसियलसँग पनि सहयोग लिएर अनुसन्धान गरिरहेका छौँ ।’

फुटबलमा फिक्सिङ गर्न कम्तीमा ६ जना मिल्नुपर्छ । तर, क्रिकेटमा एक जना मात्र खेलाडीले पनि ‘स्पट फिक्सिङ’ गर्न सक्छन् । प्रति बल फिक्सिङ गराएर आयोजकले पैसा असुल्न सक्छन् । नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले क्रिकेटमा फिक्सिङ भएको आरोप लगाएसँगै ब्युरोले अनुसन्धान थालेको थियो । सामाजिक सञ्जालमा भिडियो पोस्ट  गरेर सचिनले भनेका छन्–‘लिगमा हुने फिक्सिङले नतिजामा असर नपर्ने भए पनि खेलको बीचमा हुने क्रियाकलापमा असर पर्ने गरी फिक्सिङ भइरहेको छ ।’

क्रिकेट मैदानमा अनुसन्धान अधिकृतहरूलाई पठाएर पनि निगरानी गरिएको एआईजी सुवेदीले बताए । उनी भन्छन्–‘फिल्डमा नाङ्गो आँखाले हेरेर पनि अनुसन्धान गर्न पठायौँ, अहिलेसम्मको अनुसन्धानबाट स्पट फिक्सिङको आशङ्का गरेका छौँ ।’

फिक्सिङ गर्ने खेलाडीलाई ५ लाखसम्म

नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ खेल्ने खेलाडीले ५ लाखसम्म लिने गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘१ लाख देखि ५ लाखसम्म लिएर स्पट फिक्सिङ गरेको देखिन्छ, सो रकम खेलाडीहरूको खातामा जम्मा भएको देखिन्छ ।’

लिगमा सहभागी नेपालका १२ जना र ७ जना विदेशी खेलाडीसँग प्रहरीले बयान लिएर अनुसन्धान गरिरहेको छ । ‘कसैलाई सहयोग र कसैलाई शङ्काको हिसाबले सोधपुछ गरिरहेका छौँ’ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुवेदी भन्छन्–‘स्कोर बोर्ड पनि एनालाइसिस गरिरहेका छौँ ।’

अनुसन्धानको संयोजन केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी सञ्जय सिंह थापाले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप