बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् कर्णालीका मुख्यमन्त्री शाहीका उपलब्धि

मङ्गलबार, २६ पुस २०७९, १८ : २९
मङ्गलबार, २६ पुस २०७९

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो ४३५ दिन लामो कार्यकालमा गरेका कामबारे चर्चा गरेका छन् । पत्रकार सम्मेलन आयोजना गरी उनले ‘कर्णालीवासीका नाममा सम्बोधन’ गर्दै सरकारले गरेका प्रमुख उपलब्धि सुनाएका हुन् ।

बुधबार नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्ने समय भएकाले उनले त्यसअघि नै आफ्नो कार्यकालमा भए गरेका कामहरुको विवरणबारे जानकारी गराएका हुन् । उनले अघिल्लो सरकारले अघि बढाएका कामहरुलाई प्राथमिकता दिएर आफू अघि बढेको बताए ।

१७ किलोमिटर सडक कालोपत्रे गर्नेदेखि प्रदेश रंगशालाको ३३ प्रतिशत काम सम्पन्न गर्न सकेको उल्लेख गर्दै उनले सुशासनका क्षेत्रमा पनि महत्त्वपूर्ण काम गरेको दाबी गरे ।

पत्रकारसँगको सवाल–जवाफमा उनले भने, ‘म मुख्यमन्त्री बन्नुभन्दा पहिला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरु व्यापारीहरु भरिने थलो मात्र थिए । म आएर सबै हटाएँ ।’

उनले आफू आएको दिनदेखि प्रदेश सरकार सुशासनको बाटोमा अघि बढेको बताए । अघिल्लो सरकारले सचिवहरुलाई कर्णालीमा बस्ने वातावरण सिर्जना नगरेको आरोप लगाउँदै उनले आफूले सरकारको नेतृत्व गरेपछि प्रदेशमा सचिवहरु समेत लामो समयसम्म बस्न मानेको जिकिर गरे ।

सत्ता पक्षकै नेताहरुले प्रदेश योजना आयोगलाई पूर्णता दिन नसकेको भन्दै उनको चर्को आलोचना भइरहँदा उनले आयोगमा सुहाउने खालको मान्छे कर्णालीमा नभएका कारण नियुक्त गर्न नसकिएको बताए ।

‘योजना आयोग भनिसकेपछि अलिकति प्रदेशमा विकासे योजनाहरु पनि बनाउन जानोस्, अलि बौद्धिक खालको हुनुपर्छ,’ उनले भने, ‘नेपालभर त थिए तर कर्णालीमा त्यस्ता मान्छे नभएकाले राख्न सकिएन । त्यस मानेमा तपाईँहरूले मलाई धन्यवाद दिनुपर्ने हो ।’

उनले आफू सरकारमा ‘कन्टिन्यू’ भएको भए सुरुवातदेखि नै पदाधिकारी नियुक्त गरेर योजना आयोगलाई अग्रसर गराउने सोच रहेको बताए । यद्यपि राजनीतिले आफूलाई कोमामा पारेको भन्दै अब प्रतिपक्षको कुर्सीमा रहेर आवाज उठाउने बताए ।

उनले भने, ‘तपाईँहरूले जहिले जीवन शाही विकास विरोधी भनेर समाचार लेख्नुभयो तर मैले सल्लाहकार नै नराखेर अर्थतन्त्र बचाएको कुरामा कहिल्यै धन्यवाद दिनुभएन नि !’

उनले कर्णाली प्रदेशको कामकारवाही र विकासको मोडेललाई आफूले ब्राण्डिङ्ग गरेको समेत बताए । हिजोको नेपाली टाइम भन्ने र हरेक क्रियाकलाप निर्धारित समय भन्दा ढिला गरी सुरु गर्ने र त्यसलाई स्वाभाविक र संस्कारको रुपमा लिने खराव परिपाटीको अन्त्य भएको उनको भनाइ थियो । साथै उनले ‘कर्णाली टाइम’ कर्णालीमा मात्रै नभई देशभर लागू हुँदै गएको बताए ।

के–के काम भए ?

मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालभरि ३५० हेक्टर जग्गामा थप सिंचाई सुविधा विस्तार भएको बताए । ५९२ वटा साना सिंचाई योजनाको निर्माण तथा मर्मतबाट करिब ३५० हेक्टर जग्गामा थप सिंचाई सुविधा विस्तार भएको उनको भनाइ छ ।

कृषि व्यावसायिकरण र आधुनिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालित ब्याज अनुदान कार्यक्रमबाट १ हजार २२७ जनाले कर्जा सुविधा प्राप्त भएका छन् भने ब्याजमा अनुदान बापत ३ करोड ९६ लाख रकम भुक्तानी गरिएको उनले बताए ।

मुख्यमन्त्री शाहीले आफ्नो कार्यकालमा १ अर्ब ५५ करोडको कृषि तथा पशुपन्छीजन्य वस्तु प्रदेश बाहिर निकासी भएको बताए । हिमाली क्षेत्रमा भेँडा पालकलाई प्रोत्साहन स्वरुप ३५७ जनालाई ६४ लाख रकम सहयोग गरिएको, कर्णाली प्रदेशमा दुग्ध उत्पादक कृषक तथा पशुपालन व्यवसायी १७ हजार ७७६ जनालाई प्रोत्साहन गर्न प्रतिलिटर १० रुपैयाँका दरले अनुदान दिई गत आर्थिक वर्षमा मात्र ४ हजार १५४ मेट्रिकटन दुध प्रदेश बाहिर निर्यात भएको शाहीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप