शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

बुधबार, २७ पुस २०७९, १४ : १३
बुधबार, २७ पुस २०७९

बुटवल । लुम्बिनी प्रदेशका एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बहुमत सांसदको हस्ताक्षर पेश गरेसँगै बुधबार प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

गुल्मीको जिल्लाको रुरु गाउँपालिका–५ मा जन्मेका गिरी १६ वर्षको उमेरदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनमा सहभागी भएका हुन् । २०३६ सालको आन्दोलन, २०३७ सालको मजदुर आन्दोलनमा सहभागी बन्दै  बीएसम्म अध्ययन गरेका गिरी सोही वर्ष शिक्षक आन्दोलनमा समेत सहभागी भए । गुल्मीबाट ०३४ सालमा रुपन्देहीको शंकरनगर–१ (हालको तिलोत्तमा नगरपालिका–१) बसाई सरेर आए यता उनी राजनीतिक र सामाजिक काममा उत्तिकै सक्रिय रहँदै आएका छन् ।

उनी २०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष बने । २०३९ सालमा क्रान्तिकारी बुद्धिजीवि संघमा आबद्ध गिरी २०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य (भूमिगत) बनेका थिए । पञ्चायत विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसँगै आन्दोलनमा सहभागी भएका उनी रुपन्देहीको शंकरनगर गाउँ विकास समितिको पहिलो जननिर्वाचित अध्यक्ष बन्न सफल भएका थिए ।

राजा ज्ञानेन्द्रले शाहले सत्ता हातमा लिएपछि गिरी प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनमा सहभागी भए । उनले ०६१ माघ २७ देखि ०६२ वैशाख २८ गतेसम्म जिल्ला कारागारमा जेलजीवन समेत बिताए ।

गिरी २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए । शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा उनले उद्योग, वन, पर्यटन, वातावरण मन्त्रीको जिम्मेवारी सम्हाले ।

त्यही बेला उनले आन्तरिक मामिला तथा कानुन मन्त्री, स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी वहन गर्ने अवसर पाएका थिए । यस्तै पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका उनी नेकपा एमाले र नेकपा माओवादीको एकतासँगै बनेको नेकपाकालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनेका थिए । हाल उनी एमालेको पोलिटब्यूरो सदस्य छन् । २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित गिरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप