बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

राप्रपाको जलपान : अचानक कमल थापा लिङ्देनलाई भेट्न मञ्चमा पुगेपछि...(तस्बिरसहित)

बुधबार, २७ पुस २०७९, १८ : १६
बुधबार, २७ पुस २०७९

काठमाडौं । ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको भृकुटीमण्डपमा जलपान समारोह ग¥यो । 

मध्यान्न १२ बजेदेखि भृकुटीमण्डपको चौर राप्रपाका नेता कार्यकर्ताले भरिँदै गयो । भाषणको कुनै कार्यक्रम नराखिएको जलपान समारोहको सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष पशुपति शमशेरण राणा, प्रकाशचन्द्र लोहनी आफ्नै दल तथा अन्य दलका नेता कार्यकर्तालाई स्वागत गरिरहेका थिए ।

राणा र लोहनी झण्डै १ घण्टा कार्यक्रममा बसेर बाहिरिएपछि अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवल शमशेर राणा, विक्रम पाण्डे लगायतले नेता कार्यकर्तालाई मञ्चमा उभिएर हात मिलाउँदै स्वागत गरे ।

raprapa7

खासगरी युवा पुस्ताका राप्रपा कार्यकर्ता नेता लिङ्देनसँग सेल्फी खिच्न व्यस्त देखिन्थे । राजाराम पौडेल, प्रेमराजा महत, योगेश्वर अमात्य, शम्भुजित वास्कोटा लगायतका कलाकारहरू जलपान समारोहमा पुगेका थिए । दिउसो साढे २ बजेसम्म जलपान कार्यक्रममा अन्य कुनै दलका नेताहरू पुगेका थिएनन् । 

राजनीति दलका नेतार्फ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सबैभन्दा पहिला समारोहमा पुगे । उनी पुग्दा साढे २ बजेको थियो । त्यसपछि एमाले सांसद रघुजी पन्त, कांग्रेस सांसद रामहरि खतिवडा, एमाले नेता विष्णु रिमाल, राजन भट्टराई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया पुगेका थिए । 

नेता पौडेललाई सञ्चारकर्मीले गरेको कांग्रेस सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने प्रश्नमा उनले जे भएपनि कांग्रेस अहिलेको सरकारमा नजाने बताए । दिउसो ३ बजे एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपमहासचिव प्रकाश ज्वाला आइपुगेका थिए । 

कमल थापा र राजेन्द्र लिङ्देनको अंकमाल 

raprapa8

दिउँसो साढे ३ बजेतिर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पुगेका थिए । उनी मञ्चमा राप्रपाका नेता कार्यकर्ताको लाइनमा आबद्ध भएर मञ्चसम्म पुगेको दृश्य राप्रपाका नेता कार्यकर्ताले अनौठो मानेर हेरिरहेका थिए । मञ्चमा लिङ्देनसँग भेट भएपछि थापाले हात मिलाएर अंकमाल गरे । केहीबेर दुई नेताले छोटो कुराकानी गरे । 

सञ्चारकर्मीसँगको कुराकानीमा थापाले सरकारले पृथ्वी जयन्तीमा बिदा दिनु सकारात्मक भएपनि राज्यस्तरबाट पृथ्वी जयन्ती नमनाउनु दुखद भएको बताए । उनले मन्त्री, सरकारी तवरबाट पृथ्वी जयन्ती नमनाउनु खतरनाक रहेको टिप्पणी गर्दै अर्को वर्षदेखि राज्यस्तरबाटै पृथ्वी जयन्ती मनाउनुपर्ने बताए । 

जलपान समारोहमा झन्डै ४ बजे उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आइपुगेका थिए । त्यसपछि गृहमन्त्री रवि लामिछाने आइपुगेका थिए । कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेको बताउँदै आजको दिन महत्त्वपूर्ण रहेको उल्लेख गरे । 

४ बजेर १० मिनेटमा एमाले अध्यक्ष केपी शर्मा ओली जलपान समारोहमा पुग्दा एउटा समूहले केपी बा हाई हाई भन्ने नारा समेत लगाएको थियो । मञ्च अगाडि राखिएको पृथ्वीनारायण शाहको तस्बिरमा पुष्प गुच्छा चढाएर ओली मञ्चमा पुगेका थिए । ओली पुगेको केहीबेरपछि राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु कार्यक्रम समापन गर्दै चियापान समारोहमा गएका थिए । 

जलपान समारोहमा दिनभरि खैँजडी भजन टोलीले भजन गाउँदै नाच प्रदर्शन गरेका थिए भने कविहरूले पृथ्वीनारायण शाहको बारेमा कविता वाचन गरेका थिए । 

राप्रपाको जलपानको मेनु : दुनामा समोसा, लड्डु, निम्की र चिया

raprapa9

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान कार्यक्रममा राप्रपाका नेता कार्यकर्ताका साथै विभिन्न दलका नेताहरू तथा नेपालस्थित विदेशी कूटनैतिक नियोगका पदाधिकारी सहभागी भए । जलपान कार्यक्रममा सर्वसाधारण, नेता, कार्यकर्ताका लागि र विशिष्ट पाहुनाका लागि फरक फरक चियापानको व्यवस्था गरिएको थियो । 

जलपानको व्यवस्थापन गरेको अर्पण व्याङ्केटले झण्डै ३ हजार जनाका लागि जलपानको व्यवस्था गरेको थियो । समारोहमा झण्डै ४ हजार सहभागी भएको व्याङ्केटका सिईओ शिवकुमार सरावगीले रातोपाटीलाई जानकारी दिए । सर्वसाधारणका लागि सालको पातको दुनामा लड्डु, निम्कि, समोसा, पकौडा चिया र पानीको व्यवस्था गरिएको थियो । 

यस्तै भिआइपी पाहुनाका लागि स्यान्डवीच, कटलेट, गुलाव जामुन, फ्रेन्च फ्राईड,  कुकिज चिया, कफिको व्यवस्था गरिएको थियो । झन्डै ५ सय भिआपीका लागि फरक परिकारको व्यवस्था गरिएको थियो । जलपानका लागि ६५ जना ३ दिनदेखि खटिएको सरावगीले जानकारी दिए । 

निम्की र लड्डु बनाउनका लागि ३ दिनदेखि ७२ जनाले काम गरेका र ३ दिनका लागि १५० जनाले काम गरेको उनले बताए । पकौडा र समोसा भृकुटीमणडपमै बनाईएको हो भने लड्डु र निम्की भने अर्पण व्याङकेटमै तयार पारिएको थियो । 

kamal-rajendrakamal-rajendra1kamal-rajendra2kamal-rajendra3kamal-rajendra4kamal-rajendra5kamal-rajendra6rapraparaprapa1raprapa2raprapa3raprapa4raprapa5raprapa6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप