श्रीमान्को सपना पूरा गर्ने अञ्जुको सपना अधुरै
विराटनगर । कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा । खतिवडा २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । त्यसअघि उनलाई अभिभावक (बुबा–आमा) ले नर्सिङ पढाउन चाहन्थे ।
त्यस बेला उनको श्रीमान् दीपक पोखरेल पाइलट थिए । पोखरेलले नेपाली सेनाको हेलिकप्टर उडाउँथे । जब उनलाई यति एयरलाइन्सले जागिर दिने अफर गर्यो उनले विमान चलाउन थाले । तर, २००६ मा जुम्लामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा पोखरेल सहित ९ जनाको ज्यान गयो ।
आफ्ना श्रीमानको सफल विमान चालक बन्ने सपना अधुरै रहेको ठानेर अञ्जुले श्रीमान्को सपना पूरा गर्ने निधो गरिन् । आफ्ना बुबा गोविन्द खतिवडा र आमा इन्दिरा खतिवडाले नर्सिङ अध्ययन गर्न भनेपनि उनी श्रीमानकै सपना पुरा गर्न भन्दै पाइलट बन्ने अभियानमा लागिन् । भारतमा प्लस टु पास गरेपछि उनले अमेरिकाबाट पाइलटको अध्ययन पूरा गरेर नेपाल आएकी थिइन् । यद्यपि उनले प्रशिक्षण उडान सम्पन्न गर्ने आजै अन्तिम दिन थियो ।
_5o2mpHbUt9.jpg)
आज भएको यति एयरको एटिआर ७२ विमान दुर्घटनामा ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा खतिवडा कोपाइलट थिइन् । तर, आजको उडानलाई उनले सफलतापूर्वक सम्पन्न गर्न सकिनन् । अर्थात् उनको सफल पाइलट बन्ने सपना पूरा हुन पाएन ।
पोखरामा भएको दुर्घटनामा उनी अहिलेसम्म वेपत्ता छिन् । उद्धारकर्ताहरुले खोजी र उद्धार कार्य जारी रहेको छ । विराटनगर– ५ घर भएकी उनका बुबा गोविन्द खतिवडा ६५ वर्ष माथिका भए । उनकी आमा इन्दिरा खतिवडा पनि अन्दाजी ६० वर्ष पुगिन् ।
अञ्जुकी एक मात्रै अन्दाजी २२ वर्षीय छोरी क्यानडामा अध्ययनरत छिन् । उनलाई पनि विमान दुर्घटनाबारे सूचना पठाइएको पारिवारिक स्रोतले जनाएको छ । विराटनगरस्थित उनको घरमा शोकाकुल अवस्था छ । बुबा गोविन्द खतिवडा बिलौना गरिरहेका थिए, ‘मलाइ नै सब हुनुपर्ने, ज्वाइँको पनि निधन भयो, छोरीको पनि प्लेन दुर्घटनामै निधन भयो ।’
_jhlHrSNpx7.jpg)
यति एयरलाइन्सका अनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठुला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण