शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
सिंहदरबारमा सुदनकाे इन्ट्री

सुदनलाई मन्त्री बनाउने बाचा पूरा गरे प्रचण्डले

चुनाव प्रचारमा प्रचण्डले मतदातालाई भनेका थिए– जिताएर पठाउनु होला, मन्त्री बनाएर पठाउँछु
मङ्गलबार, ०३ माघ २०७९, १५ : ०८
मङ्गलबार, ०३ माघ २०७९

विराटनगर । निर्वाचन ताका भोजपुरको चुनावी सभालाई सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदन किराँतीलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । चुनावी सभामा प्रचण्डले भनेका थिए, ‘सुदनजीलाई चुनाव जिताएर पठाउनु होला, म मन्त्री बनाएर पठाउँछु ।’

प्रचण्ड यतिबेला प्रधानमन्त्री छन् । उनले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा किराँतीलाई मन्त्री नियुक्त गरेका छन् । किराँतीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा पाएका छन् ।

नेकपा एमालेका प्रभावशाली नेता तथा प्रदेश १ को पहिलो मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता सुदन किराँती विजयी भएका थिए । उनले शेरधनलाई २ हजार ३८५ मतले पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गर्दा राईले २६ हजार १९३ मत प्राप्त गरेका थिए ।

किराँती २०६४ साल र २०७४ सालमा पनि निर्वाचित भएका थिए । उनै किराँतीलाई राईले २०७० सालको संविधानसभा निर्वाचनमा भने पराजित गरेका थिए ।

किराँतीले आफूहरु निर्वाचनमा विजयी भए पनि जनतामा व्याप्त भोक, अशिक्षा र भ्रष्टाचार जस्ता महाशत्रुलाई पराजित नगरी र जनजीविकामा आम जनताको अधिकतम पहुँच वृद्धि नगरेसम्म विजयी हुन नसक्ने बताउँदै आएका थिए ।

‘राजनीतिमा राणा शासन ढालियो, राजा ढालियो, कहिले कांग्रेस ढालियो, कहिले कम्युनिस्ट ढालियो । तर, आफैभित्रको मुख्य शत्रु ढाल्न अझै सकिएको छैन । अब आफै भित्रको ती शत्रुमाथि निर्ममतापूर्वक प्रहार गरी विजय प्राप्त गर्नुछ,’ किराँतीले जनतालाई सम्बोधन गर्दै निर्वाचनमा विजयी भएपछि भनेका थिए, ‘तपाईहरूलाई धन्यवाद प्रदान गर्न श्रमसँग जोडिएर गाउँ आउनेछु ।’

को हुन् सुदन किराँती ?

नेकपा माओवादी केन्द्रका नेता सुदन किराती मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका थिए । २०३५ साल फागुन १२ गते बाबु हर्कबहादुर राई र आमा स्व. रक्षाकुमारी राईको कोखबाट सुदन किराँतीको जन्म भएको हो । बाबु बेलायत आर्मी भएकाले सुदनको जन्म हङ्कङ्मा भएको थियो ।

रामप्रसाद राई गाउँपालिका–१ भोजपुरका स्थायी बासिन्दा सुदनको विना राईसँग विवाह भएको हो । उनीहरूका एक छोरा छन् । एसएलसीसम्मको अध्ययन गरेका उनका बुबा हर्कराज राई अहिले अस्पतालमा उपचाररत छन् ।

उनी २०६४ मा संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७० सालमा पराजित बने । पुनः २०७४ मा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका उनी पुनः २०७९ को निर्वाचनमा भोजपुरबाटै निर्वाचित भए ।

राजनीतिक जीवन 

-    २०४६ सालको प्रजातन्त्रसँगै नेकपा मालेको विद्यार्थी संगठनमा आबद्ध

-    २०५० मा स्कुलमा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष

-    विभिन्न राजनीतिक मुद्दा व्यहोर्दै २०५५ मा तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चामा संगठित

-    २०५८ बाट पूर्णकालीन भूमिगत राजनीतिमा प्रवेश

-    २०६१–६३ मा माओवादीसँग एकतासँगै सगरमाथा जनकपुर क्षेत्रीय व्यूरो सदस्य

-    सेनाको व्यारेक र विभिन्न जेलको बसाई, शान्ति प्रक्रियापछि जेलमुक्त, जेल जीवन करिब २३ महिना

-    मेची कोशी व्यूरो सदस्य तथा धनकुटा जिल्ला पार्टी सचिव, किराँती राष्ट्रिय मुक्ति मोर्चा महासचिव, अध्यक्ष

-    भोजपुर जिल्ला पार्टी अध्यक्षका साथै ०७३ बाट भोजपुर जिल्ला पार्टी इन्चार्ज तत्कालीन माओवादी केन्द्र

-    २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य

-    हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप