शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसको बीचबाट ६ लेन सडक निर्माण गर्न भरत साहको सुझाव

बुधबार, ०४ माघ २०७९, १४ : ५८
बुधबार, ०४ माघ २०७९

जनकपुरधाम । मधेस प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले मधेस प्रदेशको बीचबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको पूर्व–पश्चिम राजमार्ग उत्तरी क्षेत्रमा रहेकाले मधेसको ठुलो जनसंख्या लाभान्वित हुन नसकेको बताए ।

उनले प्रदेश सरकारले २–३ सय मिटर ढलान बाटो तथा नाला निर्माणमा अल्झिन नहुने प्रस्ट पारे । उनले भने, ‘हामी वडा अध्यक्ष हो र ? दुईसय तीनसय मिटर ढलान बाटो बनाउने ?’ उनले भने, ‘६ लेन बाटो मधेसको बीचबाट बनाउन आँट गरौं ।’

सप्तरीदेखि पर्सासम्म मधेसको बीच भागबाट पूर्व–पश्चिम ६ लेनको सडक निर्माण गरे प्रदेश समृद्ध हुने उनको भनाइ छ । उनले प्रदेश सरकारले साधारण खर्च कटौती गरेर विकास खर्च बढाउनतिर ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

मुख्यमन्त्रीतिर लक्षित गर्दै उनले भने, ‘विश्वासको मत लिने बित्तिकै संविधानमा लेखिएका अधिकार लिन अघि बढ्नुहुन्छ भन्ने विश्वास लिएको छु । त्यसका लागि आफ्नो पार्टीले दह्रो साथ दिने विश्वास दिलाउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप