शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देश विकास निर्माणको अभिभारा बोकेर आएका छौँ : अध्यक्ष श्रेष्ठ

बुधबार, ०४ माघ २०७९, २१ : ५२
बुधबार, ०४ माघ २०७९

कैलाली । कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताएकी छन् । कैलाली टीकापुरमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले पाँच वर्षसम्म प्रतिनिधिविहीन कैलाली क्षेत्र नं १ का जनताले देश निर्माणको अभिभारासहित नेतृत्व तहमा पुरयाएको बताएकी हुन् । 

“हाम्रा लागि अबको पाँच वर्ष अवसर र चुनौती दुवैले घेरिएको छ । त्यो अवसर र चुनौतीलाई एकैसाथ टुङ्गोमा पुर्याउनुपर्नेछ, उनले भनिन्, “जनताका माझमा बाँडेका सपना पूरा गर्नुछ । दश वर्ष विकासमा पछाडि परेको टीकापुरलाई समृद्धिको बाटोमा डोर्याउने मेरो सङ्कल्प रहनेछ ।”

उनले टीकापुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै त्यसका लागि आवश्यक अभावलाई पूरा गर्न प्रतिबद्ध रहने बताइन् । “कर्णाली नदी टीकापुरको गहना हो । टीकापुर पार्क हाम्रो सम्पत्ति हो । कर्णाली, मोहना, पथरैया नदीमा पाइने डल्फिन हाम्रा सम्भावना हुन्”, अध्यक्ष श्रेष्ठले भनिन्, “ती सबै कुरालाई चलायमान बनाउनका लागि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनका लागि सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्नेछु । पाँच वर्षभित्र टीकापुरबाट हवाई सेवा सञ्चालन गर्ने मेरो प्रतिबद्धता भयो ।”

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले विकासका काममा राजनीतिभन्दा समन्वय र सहकार्य आवश्यक रहने बताए । उनले सबै दृष्टिकोणबाट टीकापुर सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई साकार पार्नका लागि सबैको एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भएको उक्त महोत्सव माघ १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा रु ७५ लाख बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ । महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी, विज्ञान प्रदर्शनी, रमाइलो मेलालगायतका आकर्षण रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप