मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न किन भइरहेको छ ढिलाइ ?

बिहीबार, ०५ माघ २०७९, ०८ : ३३
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गर्यो । कार्यकारी परिषद्ले निर्णय गरेसँगै स्ववियु निर्वाचनको तयारी थाल्नुपर्छ । त्यसका लागि त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले तयारी थालिसकेको जनाएको छ । 

निर्वाचन गराउनको लागि कार्यतालिका सार्वजनिक हुनुपर्छ । तर, कार्यतालिका सार्वजनिक हुन सकेको छैन । त्रिविले पुस २८ गते ६२ वटा आङ्गिक क्याम्पसहरूलाई निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको थियो । त्यस्तै सम्बन्धन प्राप्त कलेजहरूलाई पनि पूर्व तयारी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिसकेको छ । 

सम्बन्धन प्राप्त कलेजहरूले त्यही सार्वजनिक सूचनालाई आधार मानेर निर्वाचनको पूर्व तयारी गर्नुपर्नेछ । तत्काल कार्यतालिका सार्वजनिक गर्न विद्यार्थी सङ्गठनहरूले माग गर्दै आएका छन् । तर, त्रिविले जानी जानी कार्यतालिका सार्वजनिक गर्नमा ढिलाइ गरिरहेको हो । अहिले नै कार्यतालिका सार्वजनिक गरेको खण्डमा विद्यार्थीको पढाई तथा परीक्षामा बाधा पुग्ने निष्कर्ष त्रिविको छ । निर्देशनालयले निर्वाचनका लागि १७ दिनको समय मागेको छ । फागुन १८ गतेदेखि चैत ५ गतेसम्मको समय निर्वाचनका लागि माग गरिएको निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए । 

‘फागुनको १७-१८ गतेतिर कार्यतालिका सार्वजनिक गर्छौ । परीक्षा चलिरहेका छन् । अहिले नै कार्यतालिका सार्वजनिक ग-यौं भने डिस्टर्व हुन्छ । परीक्षाको माहौल बिग्रिन नदिन तत्काल सार्वजनिक नगरेका हौँ ।’ निर्देशक अधिकारीले भने । 

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि विद्यार्थी सङ्गठनहरूले चुनावी गतिविधिलाई तीव्रता दिन्छन् । अहिले नै कार्यतालिका सार्वजनिक गरेको खण्डमा परीक्षामा समस्या हुने त्रिविको ठहर छ । 

कार्यतालिका छोटो हुने र निर्वाचनको तयारी गर्न विद्यार्थी संगठनहरूलाई समेत भनिएको उनको भनाई छ । ‘कार्यतालिका छोटो हुन्छ । जम्मा १६-१७ दिनको हुन्छ । संगठनहरू सबैलाई भनिसकेका छौं, तपाईहरू आफ्नो तयारीमा लाग्नुहोस् । कार्यतालिका चाडै प्रकाशन ग-यौं भने पनि अरू डिस्टर्व हुन्छ । फागुनको १८-१९ देखि कार्यतालिका आउँछ ।’ उनले भने । 

त्रिविले निर्वाचनका लागि आन्तरिक गृहकार्य गरिरहेको र कार्यतालिका अन्तिम समयमा मात्रै प्रकाशन गरिने उनको भनाई छ । ‘निर्वाचनको लागि हामीले १७ दिनको समय मागेका छौं । फागुन १८ गतेदेखि चैत ५ गतेसम्म निर्वाचनको कार्यतालिका बन्छ ।’ उनले भने । 

निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि विद्यार्थी सङ्गठनहरूले चुनावी गतिविधिलाई तीव्रता दिन्छन् । अहिले नै कार्यतालिका सार्वजनिक गरेको खण्डमा परीक्षामा समस्या हुने त्रिविको ठहर छ । 

विद्यार्थी सङ्गठनहरूले समेत आफ्नो तयारी थालेका छन् । त्रिवि कार्यकारी परिषद्ले शिक्षाध्यक्षको संयोजकत्वमा केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समिति बनाएको छ । 

उक्त केन्द्रीय अनुगमन तथा समन्वय समितिले नै देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा हुने निर्वाचनको मनिटरिङ गर्नेछ । त्रिविको ऐन अनुसार स्ववियु निर्वाचन गराइनेछ । 

निर्वाचन गराउन प्रत्येक कलेजमा छुट्टा छुट्टै समिति बन्नेछ । उक्त समितिलाई नै निर्वाचन गराउने जिम्मेवारी रहन्छ । ‘निर्वाचनका लागि हरेक कलेजमा छुट्टा छुट्टै समिति गठन गरिनेछ । प्रत्येक कलेजले निर्वाचन गर्नका लागि न्यूनतम ५ देखि अधिकतम ११ जना सदस्य रहने समिति गठन गर्नेछन् । त्यही समितिले निर्वाचन गराउनेछ ।’ निर्देशक अधिकारीले भने । 

लामो समयदेखि चुनाव हुन नसक्दा विद्यार्थीका तमाम समस्या समाधान हुन सकेका छैनन् । विश्वविद्यालयमा एक किसिमको बेथिति नै मौलाएको छ ।

त्रिविले पुस मसान्तभित्रमा नतिजा प्रकाशन गरिसक्ने प्रतिबद्धता जाहेर गरेको थियो । तर, अहिलेसम्म पनि नतिजा प्रकाशन गर्न सकेको छैन । जसले गर्दा कार्यतालिका सार्वजनिक गर्न ढिलाइ भइरहेको देखिन्छ । विद्यार्थी सङ्गठनहरूले नतिजा प्रकाशन नगरी कार्यतालिका सार्वजनिक नगर्न चेतावनी दिँदै आएका थिए । विद्यार्थी सुगठनहरूसँगको छलफलको क्रममा त्रिविका पदाधिकारीहरूले पुस मसान्तभित्रमा नतिजा प्रकाशन गरिसक्ने बताएका थिए । तर, केही विषयको नतिजा प्रकाशन गर्न बाँकी रहेको छ । 

त्रिविले २०६५ सालपछि स्ववियु निर्वाचन गराउन लागेको हो । हरेक २-२ वर्षमा स्ववियु चुनाव गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, २०६५ सालयता त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन । लामो समयदेखि चुनाव हुन नसक्दा विद्यार्थीका तमाम समस्या समाधान हुन सकेका छैनन् । विश्वविद्यालयमा एक किसिमको बेथिति नै मौलाएको छ । त्रिविमा देखिएका विद्यार्थी तथा त्रिविका समस्या समाधानका लागि भए पनि चुनाव गराउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो । 

निर्वाचन घोषणा भएको धेरै दिन बितिसक्दा पनि कार्यतालिका घोषणा नहुँदा विद्यार्थीहरूले आन्दोलन गर्ने सम्मको चेतावनी दिन थालेका छन् । विद्यार्थी सङ्गठनहरूले आफूले निर्वाचनको तयारी थालेको तर, त्रिविले कार्यतालिका सार्वजनिक नगर्दा अन्यौलता बढाउने काम गरेको बताएका छन् । 

उनीहरूले कार्यतालिका सार्वजनिक भएको खण्डमा आफूहरू ढुक्क भएर निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप