बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल शेट्टी : पिता थिए सफाइकर्मी, लेडी अम्बानीसँग विवाह गर्न कुरे ९ वर्ष; १२८ नेपाली महिलाको गरेका थिए उद्धार

आइतबार, ०८ माघ २०७९, १५ : ३७
आइतबार, ०८ माघ २०७९

भारतीय क्रिकेटर केएल राहुल र फिल्म अभिनेत्री अथिया शेट्टीको विवाह २१ जनवरीदेखि सुरु भइसकेको छ जुन २३ जनवरीसम्म चल्नेछ । कार्यक्रम सुनिल शेट्टीको खन्डालास्थित फार्म हाउसमा हुनेछ ।

आथियाका बुवा सुनिल शेट्टी एक सफल अभिनेता र व्यापारी हुन् । तर उनले बाल्यकालमा धेरै चुनौतीको सामना गरेका छन् । उनका बुवा क्लिनर थिए । तर, पछि उनी जुन भवनमा काम गर्थे त्यसैको मालिक बने । सुनिलले फिल्ममा आउनुअघि नै विवाह गरिसकेका । उनले ९ वर्षको लामो प्रतीक्षापछि मोनिसा कादरीसँग विवाह गरे जसलाई अब माना शेट्टीको नामले पनि चिनिन्छ ।

सुनिलको सपना क्रिकेटर बन्ने थियो तर उनको लुक्स र फिटनेसका कारण उनको फिल्ममा प्रवेश भएको थियो । पहिलो फिल्ममा नै न कुनै नायिकाले उनीसँग काम गर्न चाहे न फिल्म रिलिज पछि मानिसहरूले उनलाई मन पराए । आवाज राम्रो थिएन र नाच्न पनि नजान्ने । उनलाई धेरैले गिज्याउँथे । यद्यपि, उनले आफूलाई सुधार्न धेरै मेहनत गरे र देशका शीर्ष कलाकारको सूचीमा आफ्नो नाम सुरक्षित बनाए ।

आज सुनिल र माना सफल व्यवसायी हुन् र दुवैको कुल सम्पत्ति करिब ५०० करोड भारु छ । सुनिलसँग धेरै रेस्टुरेन्ट र प्रोडक्सन हाउसहरू छन् भने, माना घर जग्गा व्यवसायमा पनि परिचित व्यक्तित्व हुन् ।

सुनिल र माना शेट्टीको करियर यात्रा, प्रेम कथा, नेट वर्थ, फ्यान फलोइङ र कार सङ्ग्रहको बारेमा पढ्नुहोस्–

बुवा सफाइकर्मी थिए, आफूले सफा गर्ने भवनको बने मालिक

सुनिल शेट्टीको जन्म ११ अगस्ट १९६१ मा मङ्गलोरको मुल्कीमा एक मध्यम वर्गीय परिवारमा भएको थियो । उनको पूरा नाम सुनिल विरप्पा शेट्टी हो । उनका बुवा विरप्पा ९ वर्षको उमेरमा मुम्बई आएका थिए । घरको आर्थिक अवस्था राम्रो नभएकाले गुजारा चलाउन सरसफाई गर्ने काम गर्थे । काम सानो थियो तर उनलाई कहिल्यै लाज लागेन ।

हालै यो घटनालाई स्मरण गर्दै सुनिलले भने, ‘पापा मेरो हिरो हुनुहुन्थ्यो । जीविकोपार्जनका लागि आफूले गरेको काममा उहाँलाई कहिल्यै लाज लागेन । अचम्मको कुरा के छ भने जुन भवनमा सरसफाईको काम गर्थे, एक दिन त्यहाँको व्यवस्थापक बन्नुभयो र पछि पूरा भवनको मालिक पनि बन्नुभयो । उनी यस्ता व्यक्ति थिए जसले मलाई आफूले गर्ने काममा गर्व गर्न र पूरा मन लगाएर गर्न सिकाउनुभयो ।’

 सुनिलका बुबाले किनेको भवन वर्लीको फोर सिजन होटलको छेउमा छ ।

बुबा प्रायः छोरा सुनिलको सुटिङ सेटमा जान्थे

जब सुनिलको फिल्मी दुनियाँमा प्रवेश भयो, उनका बुवा प्रायः सुटिङमा जाने गर्दथे । छोराले राम्रो काम गरेको देखेर उनी निकै खुसी हुन्थे ।

सुनिललाई क्रिकेटर बन्ने रहर थियो

सुनिलको बाल्यकालमा क्रिकेटर बन्ने सपना थियो । उनी आफ्नो देशका लागि खेल्न चाहन्थे । उनले क्रिकेटका लागि मार्सल आर्ट सिके र फिटनेसमा पनि ध्यान दिए । मार्सल आर्ट र फिटनेसका कारण सुनिललाई फिल्म बलवानको अफर आयो ।

डेब्यू फिल्ममा सँगै काम गर्न कुनै पनि अभिनेत्रीले मानेनन्

सुनिल अभिनयमा आउनुअघि होटेल व्यवसाय सम्हाल्ने गर्दथे । उनले होटेल म्यानेजमेन्ट पनि पढेका थिए । फिटनेस र लुक्सका कारण फिल्मको अफर आएपछि उनले फिल्मी दुनियाँमा प्रवेश गरेका थिए ।

सुनिलले ३१ वर्षको उमेरमा फिल्ममा डेब्यु गरेका थिए । उनलाई यो फिल्मको अफर हुँदा कोही पनि नायिका उनीसँग काम गर्न चाहँदैनथे । सुनिल इन्डस्ट्रीमा नयाँ भएकोले यस्तो भएको थियो । यद्यपि, पछि दिव्या भारतीले उनीसँग फिल्ममा काम गरिन् ।

पहिलो फिल्म रिलिज भएपछि मानिसले इन्डस्ट्री छाड्न सल्लाह दिन्थे, आवाजको पनि खिल्ली उडाइन्थ्यो

यो फिल्म सेमी हिट भए पनि सुनिलको अभिनयलाई जनताले अस्वीकार गरेका थिए । मानिसहरूले उनको आवाज र नृत्यको बेस्सरी मजाक उडाए । यस्ता कुरा सुनेर सुनिल असाध्यै दुःखी हुन्थे तर उनले हिम्मत हारेनन् ।

 यो घटनालाई स्मरण गर्दै उनले एक अन्तरवार्तामा भनेका थिए, ‘यी सबै कुराले मलाई सताउँथ्यो तर मैले हिम्मतले काम गरेँ । मैले आफैँलाई वचन दिएँ, आफूलाई राम्रो बनाउन धेरै मेहनत गरेँ, जसले मजाक उडाउँथे उनीहरुले नै तारिफ गर्न लायकको हुन्छु भनेर सङ्कल्प लिए । ’

पछि त्यही भयो । उनले आफूमाथि काम गरे र ९० को दशकको शीर्ष नायकमा आफूलाई स्थापित गरे ।

फ्लप फिल्मका कारण सुनिल राती रुने गर्थे

सुनिलको जीवनमा एउटा यस्तो मोड आयो जब उनका फिल्महरू लगातार फ्लप भइरहेका थिए । जसका कारण उनी साँच्चै राम्रो अभिनेता होइनन् कि भनेर उनी सोच्न बाध्य भए । यसै कारण उनी रात भरी रुनेसमेत गर्थे । यद्यपि, समयसँगै सबै कुरा राम्रो भएको थियो र उनको करियर एक पटक पुनः ट्र्याकमा आएको थियो ।

मानालाई पहिलो नजरमै मन पराउन थाले

सुनिल शेट्टी फिल्ममा आउनुअघि नै विवाहित थिए । उनले सन् १९९१ मा मोनिसा कादरीसँग विवाह गरे, जसको विवाहपछि नाम माना शेट्टी भएको थियो । सुनिल र मानाको प्रेमकथा फिल्मी कथाभन्दा कम छैन । मानासँग विवाह गर्न सुनिलले ९ वर्ष लामो समय कुर्नुपरेको थियो ।

सुनिलले मानालाई पहिलो पटक मुम्बईको नेपियन सी रोडमा रहेको पेस्ट्री पसलमा देखेका थिए । मानालाई देख्ने बित्तिकै उनी प्रेममा परे । यद्यपि मानासँग मित्रता गर्ने कुनै बाटो उनीसँग थिएन । विकल्प नपाएपछि उनले सुरुमा मानाकी बहिनीसँग मित्रता गासेँ र यसैमार्फत उनले मानासँग पनि कुरा गर्न थाले । केही दिनपछि उनले साथीहरूलाई भनेर एउटा पार्टीको आयोजना गरे र त्यहाँ मानालाई पनि बोलाए । माना पार्टीमा आइन् र पार्टीपछि सुनिलले उनलाई बाइक राइडमा लिएर गएका थिए । यस्तै अन्य भेटघाटपछि मानालाई पनि सुनिल मनपर्न थाल्यो । केही समय बिताएपछि यी दुईले विवाह गर्न चाहन्थे  ।

परिवारलाई मनाउन ९ वर्ष लाग्यो, त्यसपछि भयो विवाह

जब मानाले आफ्नो परिवारका सदस्यहरूलाई यो कुरा भनिन्, उनीहरूले मानेनन् । कारण थियो, माना गुजराती मुस्लिम परिवारका थिए भने सुनिल कर्नाटकका तुलुभाषी परिवारका थिए । सुनिलका परिवारका सदस्य पनि यो सम्बन्धबाट खुसी थिएनन् । तर, दुवैले हार मानेनन् र परिवारलाई लगातार मनाइरहे । धेरै सम्झाए पनि परिवारका सदस्य मानेनन् । त्यति बेला उनीसँग भागेर बिहे गर्नुको विकल्प थिएन । तर पनि उनीहरुले यसो भने गरेनन् । उनीहरुले परिवारको सहमतिबिना बिहे नगर्ने निर्णय गरे । त्यसैले उनीहरुले पर्खने निर्णय गरे।

सुरुमा परिवारले उनीहरूको सम्बन्धलाई अस्वीकार गरेको थियो । तर समयसँगै आफ्नो सम्बन्ध बलियो हुँदै गएको देखेपछि परिवारका सदस्यले पनि सहमति जनाए । अन्ततः ९ वर्षको लामो प्रतीक्षापछि दुवैले विवाह गरे । सुनिल शेट्टी र मानाले ९ वर्षपछि २५ डिसेम्बर १९९१ मा विवाह गरेका थिए ।

जब सुनिलले १२८ नेपाली महिलाको उद्धार गरे

भारतीय सञ्चार माध्यमका अनुसार सुनिल शेट्टीले १२८ नेपाली महिलाको उद्धार गरेका थिए ।  यो सन् १९९६ को कुरा हो, जब कामाठीपुरामा प्रहरी र समाजसेवीले छापा मारेर करिब ४५६ बालिकालाई वेश्यावृत्तिको जालबाट उद्धार गरेका थिए । ती मध्ये १२८ नेपाली महिला थिए । पछि ती महिलालाई घर फर्काउने कुरा उठेपछि सुनिल शेट्टीले उनीहरूको उद्धार गरे । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने उनले ती सबै १२८ युवतीलाई विमानको टिकट बुकिङ गरेर नेपाल पठाए ।

sunielअब सुनिल शेट्टीको व्यापार र कुल सम्पत्ति हेरौँ–

सुनिलको बिजनेस

सुनिल फिल्म प्रोडक्सन हाउस प्राइभेट लिमिटेडका मालिक हुन् । उनीसँग दुई रेस्टुरेन्ट मिसचिफ डाइनिङ बार र क्लब एचटुओ पनि छ । दक्षिण भारतमा उनले आफ्नो चर्चित रेस्टुरेन्टको चेन पनि बनाएका छन् ।

सुनिलको एड्भेन्चर पार्कमा पनि पार्टनरसिप छ । यसबाट राम्रै कमाई हुन्छ ।

सुनिलको मुम्बईमा निकै सुन्दर बङ्गला र खण्डाला हिल स्टेसनमा विलासी फार्म हाउस छ । यसबाहेक उनले थुप्रै राज्यमा प्रपर्टीमा लगानी गरेका छन् ।

यस्तै, उनकी श्रीमती मानालाई बलिउडकी लेडी अम्बानी भनिन्छ । उनी एक सफल व्यापारी हुन् र एक सफल सामाजिक वर्कर र रियल स्टेट क्विन पनि हुन् ।

suniel1माना शेट्टीको व्यवसाय

माना एक फेसन डिजाइनर हुन् । उनी आफ्नी बहिनीसँग मिलेर ‘माना र इशा’ नामको एक कपडाको ब्रान्ड चलाउँछिन् ।

मानाले सुनिल शेट्टीसँग मिलेर एसटु रियालिटी एन्ड डेभलपर्स नामको एक रियल स्टेट प्रोजेक्ट सुरु गरिन् जसमार्फत उनले मुम्बईमा २१ लग्जरी भिला बनाएको छ ।

उनी आर हाउस नामको एक लाइफस्टाइल स्टोर पनि चलाउँछिन् ।

यसबाहेक उनी ‘सेभ द चिल्ड्रन इन्डिया’ नामको एक एनजिओसँग पनि सम्बन्धित छिन् ।

मिडिया रिपोर्टका अनुसार सुनिल शेट्टी र मानाको कुल सम्पत्ति करिब ५०० करोड भारु छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप