बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीका ७९ प्रतिशत नागरिक स्वास्थ्य बीमाबाट वञ्चित

सोमबार, ०९ माघ २०७९, १४ : ४४
सोमबार, ०९ माघ २०७९

गोल्डेन बुढा 

जुम्ला । सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन देशभर स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरिएको छ । तर कर्णाली जस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य भए पनि अझै विपन्न नागरिक अपेक्षित रूपमा स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन् ।  स्वास्थ्य बीमाका फाइदाबारे जानकारी नपाउनु,र आर्थिक अबस्था कमजोर भएका कारण कर्णालीका लाखौँ विपन्न नागरिक अझै स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । जसमध्ये स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ६ वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशका तीन चौथाइ नागरिक बीमा कार्यक्रमबाट वञ्चित रहेका छन् । 

करिब १७ लाख जनसङ्ख्या रहेको कर्णाली प्रदेशमा हाल सम्म साढे ३ लाख नागरिक मात्रै स्वास्थ्य बीमाको पहुँचमा पुगेको सरकारी तथ्याङ्क छ । जुन कुल जनसंख्याको २१ प्रतिशत मात्रै हुन आउँछ । यसरी हेर्दा कर्णाली प्रदेशका १३ लाख ३८ हजार २ सय ६६ जना अर्थात ७९ प्रतिशत नागरिक अझै स्वास्थ्य बीमाबाट वञ्चित रहेको तथ्याङ्कले देखाएको छ । 
वार्षिक ३५ सय रुपैयाँ तिरेपछि ५ जनाको परिवारले १ लाख सम्मको निःशुल्क उपचार पाउने व्यवस्था छ । बीमाबारे शिक्षा दिन नसक्नु नदिन सरकारकै कमजोरी रहेको रहेको जुम्लाका राजबहादुर महत बताउँछन् ।बीमाको सेवा प्रवाह केहि ढिलासुस्ती छ, धेरै जनतालाई थाहा पनि छैन ’उनी भन्छन् ‘बीमामा आबद्ध भएकाहरूले भने कार्यक्रमबाट राहत पाएका छन् ।’ 

कर्णालीमा २०७४ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । सुर्खेतमा बढी र डोल्पामा कम कर्णाली प्रदेशका साढे तीन लाख नागरिक स्वास्थ्य बिमित भएका छन् । कार्यक्रम सञ्चालन भएको ५ वर्ष बित्दा कर्णालीमा करिब १७ लाख जनसङ्ख्या रहेकोमा हाल सम्म ३ लाख ५६ हजार ६ सय ३८ नागरिक मात्रै बीमाको पहुँचमा पुगेका हुन् । जस मध्य जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बीमाको पहुँचमा पुगेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय जुम्लाले जनाएको छ । करिब १ लाख २० हजार जनसङ्ख्या रहेको जुम्लामा अझै ५२ हजार २ सय ६२ बढी नागरिक बीमाबाट वञ्चित रहेको पाइन्छ । 

यद्यपि, बीमाको पहुँच विस्तार तथा सचेतनाको कार्यक्रम अघि बढेको स्वास्थ्य बीमा कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका लागि सेवा क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रलाई तोकेको छ। त्यस्तै राष्ट्रिय बीमा बोर्डको तथ्याङ्क अनुसार सुर्खेतका ७५ हजार ४ सय २३ जना, दैलेखका २० हजार ३ सय ४४ जना, हुम्लाका १४ हजार १ सय ४२,सल्यानका ९ हजार २ सय १ नागरिक बीमाको पहुँचमा पुगेका छन् ।

साथै डोल्पाका २ हजार ६ सय ६०, रुकुम पश्चिमका ७० हजार २ सय ५१, जाजरकोटका ४४ हजार २ सय १७, कालिकोटका ४५ हजार ५ सय ५४ र मुगु जिल्लाका ६ हजार ९३ जना गरी कर्णालीका जम्मा ३ लाख ५६ हजार ६ सय २३ जना नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेको स्वास्थ्य बीमा बोर्डको तथ्यांकमा उल्लेख छ । हाल सम्म कर्णालीका सबैभन्दा बढी सुर्खेत र कम डोल्पाका नागरिक बिमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप