शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

निगमका कारण दुईपटक रोईसकेँ, तेस्रोपटक रुनु नपरोस् : मन्त्री किराती

‘काम गर्न सकिँदैन भने राजीनामा दिएर गए हुन्छ’
सोमबार, ०९ माघ २०७९, १५ : १७
सोमबार, ०९ माघ २०७९

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरूको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन थियो । 

उनले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफू समक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए । उनले भने, ‘अब हामीलाई बिजनेस प्लान चाहियो । प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई मन्त्रालयका चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घण्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काट्यो ? त्यो रिपोर्ट हामीलाई चाहिन्छ । हामीले पनि त जवाफ दिनुपर्‍यो । बेलुका हामीलाई सोध्छन् मान्छेले ।’ 

मन्त्रीले थपे, ‘मन्त्रालयबाट फर्कँदाखेरि म जहाजको रिपोर्ट हेर्दै फर्कन्छु । म ढिलै फर्कन्छु कहिलेकाहीँ त ११ पनि बज्छ । म ८–९ बजे त मन्त्रालयमा अनिवार्य रूपमा नै हुन्छु । यसको रिपोर्ट के माध्यमले तपाईंहरुले पठाउने हो, रिपोर्ट मलाई चाहिन्छ । मन्त्रालयलाई रिपोर्ट चाहिन्छ । समस्यालाई हात्ती जत्रो, समाधानको स्रोत चाहिँ झिँगोको टाउको जत्रो भएपछि कसरी हुन्छ ? समस्यालाई भकुन्डो जत्रो, समाधानको स्रोत चाहिँ गुच्चा जत्रो ? अब समाधानको स्रोत तपाईंले भकुण्डो जत्रो देखाउन सक्नुपर्छ,  बिजनेस प्लानमा । हाम्रो समस्या केही पनि होइन भनेर तपाईंहरुले दिने गरी ल्याउनु पर्छ ।’ 

‘गम्भीरताका साथ तपाईंहरुलाई भन्छु–जुत्ता फटाउने कोसिस कसैले पनि नगर्नु होला है । यो त पाँच सय जनाले चलाएको देश हो के । सबै एक घण्टामा थाहा पाइन्छ । १५ वर्ष भयो नि हो सिंहदरबार बसेको । पाँच सय जनाको परिधिभित्र यो देश चल्छ,’ उनले भने, ‘जे–जे भयो भइसक्यो अब त्यो, आइन्दा यस्तो नहोस् । नीतिमा हामी छौँ । तपाईंंहरुले काम, कार्ययोजना, कार्यक्रम लिएर यसलाई साँच्चै गौरवको विषय बनाउन प्लान चाहियो ।  

उनले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न पनि निर्देशन दिए । उनले भने, ‘यतिले सक्छ, सीताले सक्छ, बुद्ध एयरले सक्छ । यसले किन सक्दैन । सकिँदैन भने राजीनामा दिएर गए हुन्छ ।’ उनले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरूले तत्काल गरिदिने पनि बताए ।  मन्त्री किरातीले निगमलाई मान्छेहरूले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटकपटक दोहोर्याए । निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उनको भनाई थियो । उनले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराए । 

उनले भने, ‘भोजपुरको मेरो गाउँमा जहाज आउँदा म खुसी हुन्थे । र, छोडेर जाँदा म रुन्थे । यही जहाज हो । मेरो आमालाई पनि म रुवाउँथे । हप्ता दिनमा एक दिन आउँथ्यो होला त्यता जहाज । म त जहाज र गाडी भएको ठाउँमा हुर्किएको मान्छे । यो जहाजले कुनै बेला मलाई रुवाउँथ्यो । र, मैले भन्थे– जाऊँ हाम्रो हङकङ, जाऊँ हाम्रो ब्रुनाई । त्यतै जन्मेको, त्यही हुर्केको हुनाले । त्यसपछि म सांसद भएर आए । दोस्रो पटक आउँदा चाहिँ म यही मन्त्रालयसँग सम्बन्धित परराष्ट्र र यो नागरिक उड्डयनसँग सम्बन्धित समितिमा काम गर्ने मौका पाएँ । यो निगमको स्थिति बुझ्दा म दोस्रो पटक रोएँ । म यो जहाजको कारण २ पटक रोइसकेको छु । संयोग पनि कस्तो यही जहाजको मन्त्री हुन आइपुगिएछ । अब, तेस्रो चोटि चाहिँ रुन नपरोस् । म त यो जहाजको कारणले रोए–रोए । अब यही जहाजको कारणले म हाँस्नुपर्‍यो । हाँस्न चाहन्छु ।’ 

‘आज हामीलाई दुःखेको छ । हामी सबै यहाँ देशभक्त होलाऔँ । देशलाई माया गर्ने मान्छौ हामी यहाँ । किन हाम्रो यत्रो गौरवको, वायु सेवा निगम हाम्रो गौरवको विषय हो । जसले ४० औँ हजार माथि राष्ट्रिय झण्डा बोकेर अर्काको देशमा यात्रु पुर्‍याउने र ल्याउने काम गर्छ । एयरपोर्ट हाम्रो अनुहार हो । जहाज हाम्रो गौरव हो । अब यो राम्रो हुनुपर्छ । अरू कुरा म जान्दिनँ,’ उनले थपे,  ‘काम चाहियो अब । पहिला पहिला एनएसीको कर्मचारीसँग चेलीहरू विवाह गर्न खोज्थे । छोरी दिनका लागि होडबाजी चल्थ्यो भन्थ्यो है । तर आज एनएसी भनेपछि नाक छोपेर मान्छेहरू किन हिँड्छन् ? एनएसीको मान्छे जति फोहोरी कोही छैन भनेर मान्छेले किन घृणा गर्छन् ? यसको उत्तर यो कार्यकालमा हामीलाई चाहिन्छ ।’ 

मन्त्री किरातीले भने, ‘हामी फोहोरी छैनौँ । हामी हिजोजस्तै योग्य छौँ । हामीले यो प्रश्नको उत्तर दिनैपर्छ । म यो कार्यालय पसेर यहाँसम्म आइपुग्दा यो कार्यालयको मिटिङ हल सबै हेर्दा मलाई दयनीय नै लाग्छ । म भन्दैछु– म सेतो लुगा लगाएको मान्छे हुँ । कृपया कालो हातले छुने कोसिस नगर्नुहोला कसैले पनि । कालो हातले छोएर नचिनिने भएर फर्कन्छन् रे मान्छेहरू यहाँबाट । मैले त फेरि चिनिएर फर्कनु छ । मलाई केही लोभ छैन । मेरो बुबाले मलाई सङ्कटकालमा जेलमा भेट्न आउँदा राजनीतिमा र नजानेको मेरो बुबाले मै जस्तो लाहुरे भइहाल्थिस् । आइडी पनि थियो भन्दै रोएको मेरो आँखामा छ । एउटा वडाध्यक्ष पनि हुन्छु भनेर म राजनीतिमा लागेको होइन है साथीहरू । तर मन्त्री भए । प्रधानमन्त्री हुन्छु भन्ने सपनामा पनि छैन । तर मैले बुझेको छु–यो मेरो जीवनको अग्निपरीक्षा हो । म आगोमा खरानी हुन तयार छु । तर राज्यको यति ठुलो गौरवपूर्ण संस्था डुबेको टुलुटुलु । हेर्नै सक्दिनँ ।’ मन्त्री किरातीले अन्य जहाजहरू नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप