सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्रालय दिने भाका नाघ्यो, अब के गर्लान् सीके राउत ?

मङ्गलबार, १० माघ २०७९, १६ : २३
मङ्गलबार, १० माघ २०७९

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीलाई दिइने मन्त्रालयको बारेमा अझै टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष राउतको पार्टीले पाउने मन्त्रालयबारे सोमबारसम्म टुंगो लगाउने बचन दिएका थिए । 

तर आज मंगलबारसम्म मन्त्रालयको टुंगो लाग्न नसकेको हो । सत्ता साझेदार दलमा मन्त्रालय भागबण्डामा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको छ । तर, सुरुमा भएको उद्योग मन्त्रालय दिने सहमति उलंघन भएकाले त्यसलाई अस्वीकार गर्ने जनमत पार्टीले बताउँदै आएको छ । 

जनमत पार्टीले उद्योग मन्त्रालय नदिने हो भने खानेपानीसँगै थप एउटा मन्त्रालय दिनुपर्ने माग गर्दै आएको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्ड वन मन्त्रालय दिन सकारात्मक पनि भएका थिए ।  तर यहीबीचमा जसपाले पनि सरकारमा सहभागी हुने संकेत देखाएपछि प्रधानमन्त्री प्रचण्ड पर्ख र हेरको अवस्थामा छन् । 

जनमतले मागेको उद्योग मन्त्रालय हाल एमालेको भागमा परेको छ । जुन मन्त्रालय जनमतलाई दिन एमाले तयार भए आफूलाई कुनै आपत्ति नहुने प्रधानमन्त्री प्रचण्डले भनेको जनमत पार्टीका एक नेताले बताए । हाल वन तथा वातावरण मन्त्रालय एमालेले लिएर उद्योग मन्त्रालय जनमतलाई दिने गरी छलफल अगाडि बढेको बताइएको छ । 

जनमत पार्टीले मन्त्रालयको विषयमा अझै एक दुई दिन कुर्ने भनेको छ । त्यसपछि पनि सहमति नभए सरकारमा रहने वा नरहने भन्नेबारेमा पार्टीमा छलफल गर्ने उपाध्यक्ष दीपक साहले बताए । उनले भने, ‘हामीलाई सरकारमै रहनु पर्छ भन्ने केही छैन, हामीले काम गर्नका लागि राम्रो मन्त्रालय खोजेका हौं । यदि राम्रो मन्त्रालय पाएनौँ भने हामी सरकारमा रहँदैनौँ ।’ माग पुरा नभएमा सरकारमा बसिरहन कुनै बाध्यता नरहने उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप