नापी र मालपोत प्रमुखसँग मन्त्रालयको भर्चुअल अन्तर्क्रिया

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग अन्तर्क्रिया गर्ने छन् । कार्यालयका समस्या र सेवा प्रवाहमा अपनाएका अभ्यासबारे विचार विनिमय गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको सचिव डा दामोदर रेग्मीले बताए । कार्यक्रमले जिल्लाका कर्मचारीले सचिव र विभागीय प्रमुखसँग अन्तर्क्रिया गर्दै सेवा प्रवाहमा समन्वय र समस्या समाधान गर्न सहयोग पुगेको उनले बताए।
नापी र मालपोत प्रमुखलाई एकै ठाउँमा राखेर छलफल गरिँदा ती निकायबाट सम्पादन हुने कार्यमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ । जनतासँग प्रत्यक्ष सरोकार रहेका सबै कार्यालयलाई सदाचारितातर्फ उत्प्रेरित हुन यस कार्यक्रमले सहयोग पुगेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख नीराजन घिमिरेले बताए।
नापी विभागका महानिर्देशक जनकराज जोशीले नापी र मालपोत कार्यालयका सेवा प्रवाहका दैनिक काम गुनासोरहित तवरबाट सम्पन्न गर्न कार्यालय प्रमुख दत्तचित्त हुनुपर्ने बताए । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले भूमि प्रशासनको कामलाई झन्झटमुक्त बनाउनु सबैको दायित्व भएकाले केन्द्र यसका लागि प्रतिबद्ध रहेको विश्वास दिलाए ।
यसैबीच नापी र मालपोत कार्यालय एकीकरण तथा लेखापढी व्यवसायी सदाचार भएमा सेवाग्राहीले ती कार्यालयबाट प्रदान गरिने सेवा सहज, सर्वसुलभ र सरल हुने सुझाव दिएका छन् । मालपोत र नापीबाट हुने सेवा प्रवाहमा गुनासो बढिरहेकाले त्यसमा सुधार ल्याई चुस्तदुरुस्त र गुनासोरहित बनाउन आकस्मिक निरीक्षण र कार्यालयको प्रतिवेदन प्रणालीलाई व्यवस्थित तुल्याउन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
कार्यालयको सेवा प्रवाहमा सुधार, अभिलेख व्यवस्थापन व्यवस्थित, हेल्पडेस्क सेवाग्राहीमैत्री, मालपोत र नापी कार्यालयको समन्वय भएमा सेवा लिनका लागि अतिरिक्त रकम बुझाउनुपर्ने प्रवृत्ति अन्त्य हुने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशसँग नेपाल पराजित
-
नयाँ ग्यालेक्सी एस २३ सिरिज फोनका साथ तपाईंको प्यासनलाई अघि बढाउनुहोस् : अब नेपालमा पनि खुल्यो प्रि–अर्डर
-
अब बजेट रकमान्तर रोक्छौं : अर्थमन्त्री पौडेल
-
बजेट रकमान्तर गर्न गण्डकी सरकारद्वारा ऐन संशोधन प्रस्ताव टेबल
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका शीर्ष १० समाचार
-
छैटौं राष्ट्रिय महिला भलिबल शनिबारदेखि हुने