बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाल टी–२० लिग

सेभेनथ्री स्पोर्टस‍्विरुद्ध भारतीय अदालतमा मुद्दा लड्न क्यान सक्षम छ ?

शनिबार, १४ माघ २०७९, १४ : ३५
शनिबार, १४ माघ २०७९

काठमाडौँ । नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटमा पछिल्लो तीन वर्ष जे जति काम गर्‍यो त्यसको सम्पूर्ण जिम्मेवारी त्यहाँका पदाधिकारीलाई नै जान्छ । चाहे त्यो सकरात्मक होस या नकारात्मक  । 

तर अहिले क्यान लाचार छ । क्यानको नयाँ नेतृत्वले हालसम्म आलोचना मात्र खेपिरहेको छ । आलोचनाकैबीचमा भएको भारतीय कम्पनीसँगको सम्झौताले अहिले क्यानलाई अझै लाचार बनाउने अवस्थामा पुर्‍याएको छ । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पत्रकार सम्मेलनको आयोजना गर्दै क्यानले गल्ती गरेको र त्यसलाई सुधार गर्ने तर्फ आफूहरू उन्मुख भएको बताएका थिए । अहिले क्यान नयाँ बाटोमा जान चाहेको उनको भनाई थियो । त्यो गल्ती थियो भारतीय कम्पनी सेभेनथ्री स्पोर्टस्सँगको सम्झौता । कम्पनीको बारेमा राम्रो जानकारी नै नलिई गरेको सम्झौता अहिले आएर रद्द गर्ने तयारीमा क्यान छ । 

तर, क्यानलाई त्यो अधिकार उपयोग गर्नु पनि समस्या छ । किनभने क्यानले पहिलो संस्करणको नेपाली टी–ट्वान्टी लिगको पुरस्कार रकम पाउन सकेको छैन । क्यानले एसथ्रीसँग पैसा लिनु बाँकी नै छ । उत्कृष्ट खेलाडीले पाउने रकम र प्रतियोगितामा विजेताहरूले पाउने पैसा सबै एसथ्रीले दिने सम्झौतामा उल्लेख छ । 

तर, अहिलेसम्म एसथ्री क्यानको सम्पर्कमा छैन । पैसा दिएन भने क्यानले भारतीय कानुन बमोजिम भारतको नयाँ दिल्लीमा गरेर मुद्दा लड्नु पर्छ । भारतको अदालतमा मुद्दा लड्न क्यानलाई सहज हुने देखिँदैन । 

भारतीय अदालतमा भारतकै कानुन बमोजिम मुद्दा लड्न क्यान सक्षम छ ? 

क्यानले एसथ्रीसँग सन् २०२० को जनावरीमा पहिलो सम्झौता गरेको थियो । उक्त सम्झौतालाई पुनर्विचार गरेर पुनः अर्को सम्झौता सन् २०२२ मा भएको थियो । सम्झौता अनुसार प्रतियोगिता सुरु हुनु पूर्व रकम प्राप्त गर्न नसकेको क्यानले नेपाल टी–ट्वान्टी लिग सुरु हुनुभन्दा एक दिन पहिले अर्को सम्झौता गर्‍यो । 

सोही सम्झौता अनुसार क्यान अहिले कमजोर बन्न पुगेको छ । जसोतसो प्रतियोगिता सम्पन्न गरेको क्यानले प्रतियोगिताको पुरस्कार रकम दिन भने मुद्दा नै लड्नु पर्ने अवस्था आइलागेको छ । क्यानले एसथ्रीसँग गरेको सम्झौता अनुसार भारतको नयाँ दिल्लीमा गएर भारतीय कानुन अनुसार क्यानले मुद्दा लड्नु पर्नेछ । 

त्यसका लागि आफू तयार रहेको क्यानले बताएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आफूहरू भारतमा गएर भारतीय कानुन अनुसार मुद्दा लड्न तयार भएको बताएका हुन् । पहिले पुरस्कार रकमको लागि प्रयास गर्ने अनि सेभेनथ्री स्पोर्ट्सले नमानेमा आफूहरू कानुन अनुसार अघि बढ्ने उनको भनाई छ । 

उनले भारतीय कानुन भन्दा पनि अन्तर्राष्ट्रिय कानुन अनुसार आफूहरू अघि बढ्ने बताए ।  ‘हामीले अबको केही समय पुरस्कार रकमको लागि प्रयास गर्नेछौँ । यदि त्यो सम्भव भएन भने या एसथ्रीले पैसा दिन मानेन भने हामी अन्तर्राष्ट्रिय अदालतमा गएर मुद्दा लड्न तयार छौँ,’ मल्लले भने । तर सम्झौतामा भने भारतीय कानुन बमोजिम मुद्दा लड्ने भन्ने उल्लेख छ । 

के छ सम्झौतामा ?

सम्झौतामा क्यान र एसथ्रीबीचको सम्झौतामा ‘कुनै पनि विवाद आएर १५ दिनभित्र दुई पक्षले समाधान गर्न नसकेमा भारतीय कानुन बमोजिम मुद्दा लडेर भारतको नयाँ दिल्लीमा अङ्ग्रेजी भाषामा मुद्दा लड्ने र त्यसको फैसला हुने’ उल्लेख छ । 

लाचार क्यान 

पैसा उठाउने विषयमा क्यान लाचार छ । क्यानका अध्यक्ष चन्दले आफूहरूले गल्ती गरेको भन्दै पन्छिने प्रयास गरेका छन् । तर, क्यान जस्तो जिम्मेवार निकायले यति भनेर पन्छिन पाउने बाटो भने छैन । यदि एसथ्रीसँग मुद्दा लडेर हारेमा क्यानले त्यति धेरै आर्थिक रकम कहाँबाट जुटाउँछ भन्ने प्रश्न छ । ‘टिमलाई पुरस्कार रकम दिलाउन सकेमा हामीलाई सहज हुनेछ । त्यसका लागि हामी लागिपरेका छौँ,’ चन्दले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप