हिउँमा भेडीगोठ
जुम्ला । पशुपालनमध्ये भेडापालनलाई अप्ठेरो मानिन्छ । कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला जुम्ला,मुगु ,कालिकोट, डाेल्पा र हुम्लालगायतका थुप्रै बासिन्दाका लागि भेडापालन आर्थिक उपार्जनको भरपर्दो स्रोत हो।
यो कठिन व्यवसायमा पनि थप कठिनाइ हिउँदमा थपिन्छ, जब गोठ क्षेत्रमा बाक्लो हिउँ पर्न थाल्छ । खर्सुका बाक्ला जंगल छेउका पारिलो पाखामा भुइँ तले गोठ बनाइएका हुन्छन् । पिउने पानी पानीको नजिकै स्रोत छ कि छैन भन्ने पनि हेरिन्छ । कहीँ कतै भने खर्सुको जंगलबीचमै रहेका ओडारलाई बारेर गोठ बनाइएको हुन्छ। यस्ता भेडीगोठमा कुकुर मुख्य पहरेदार हुन्छन् । गोठ आसपास केही सुइँको पाउनै हुँदैन, शङ्कास्पद भए कुकुर भुक्नु अनि त्यसको चालमा गोठालाहरू सतर्क भएर कोकोहोलो कराउनु/चिच्याउनु सामान्य दिनचर्या हुन्छ ।
भेडाहरू हिउँदका बेला अत्यन्त अल्छी र लाटो स्वभावका हुन्छन् । राम्रो स्याहार पुगेन भने भेडा बेस्सरी दुब्लाउँछन् । स्थानीय समुदायमा सामुदायिक र निजी वन दर्ता गर्ने होड चल्यो तब भेडापालन झन्झन् घेराबन्दीमा पर्यो।अहिले पनि १ रुखको समुदायको तिथि अनुसार रुपैयाँ तिरेर खर्सु काट्ने गरिन्छ।भेडा पारिलो पाखाको घाँस कदापि रुचाउन्नन् । हिउँ पर्दा ठुलै सास्ती खेप्नुपर्छ । घुँडाघँडासम्म हिउँ पर्नु सामान्य हो । यस्तोमा जमिनमा घाँस हुँदैन । अनि खर्सुको डालाको विकल्पै छैन ।

एउटा असली तथा योग्य गोठालो बन्न रूख चढ्न सक्ने मात्र होइन, भरपुर मात्रामा खर्सुको डाला काट्न सक्नुपर्छ । प्रायजसो गोठालाहरू हिउँद याममा कसले कति डाला काट्न सक्यो र भेडालाई पेट अघाउँजी ख्वाएर पुष्ट बनायो भनेर दाँजिन्छन् । जुन भेडा बथान खर्सुको डालामा भरपुर आश्रित रह्यो त्यही बगालका भेडा बढी हृष्टपुष्ट हुन्छन् ।
तर हिउँ पर्दा छिप्पल रूख चढ्ने हिम्मत हराउँछ । जस्तोसुकै ‘मैं हुँ’ भन्ने गोठालाहरू पनि खर्सुका पोथ्रापोथ्री काट्नतर्फ लाग्छन् । खर्सु लेकाली रूख हो । हिमाली उच्च भागमा खर्सु बाक्लो पाइन्छ । दक्षिणी मोहडा भएका पहाडहरूमा ३ हजारदेखि माथि तथा उत्तरी मोहडा भएका पहाडमा ३ हजारदेखि तल २ हजार मिटर माथिसम्म खर्सु विशेष फैलन्छ ।

खर्सुको रूखमा चढेर डाला काट्दा फुर्को अनिवार्य राख्ने चलन छ । यसको आफ्नै सांस्कृतिक तथा वैज्ञानिक महत्त्व छ । फुर्को राख्नाले आफ्नो चिनो दिगो रहन्छ भन्ने उनीहरूको विश्वास छ । ज्येष्ठ गोठालाहरू जीवनको अति स्मरणीय क्षणको ठोस चिनारीको प्रतीकको रूपमा फुर्कोलाई मान्छन् । युवा जोसका बेला पालिएका फुर्काहरू जीवनको अन्तिम क्षणतिर देख्न पाउँदा उनीहरू आफूलाई औधी भाग्यमानी मात्र ठान्दैनन्, विगत सम्झेर आफ्नो जिन्दगी गुजार्नुको अर्थ कहन्छन् । र, उनीहरू बाँच्नका लागि संघर्षको रहस्य केलाउँछन् ।फुर्को राख्नाले रूखको उचाइ अझै बढ्ने, मूल डाँठ अझ सशक्त बन्ने, रूख अझ स्वस्थ बन्न बल पुग्ने, रूखको स्वच्छतामा दिगोपन आउने तर्कहरू गोठालोहरू सुझाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण