बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए

बिहीबार, १८ असार २०८३, २२ : १७
बिहीबार, १८ असार २०८३

चितवन । अवैध उत्खननमा संलग्न समूहबाट चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आक्रमण भएको छ ।  बस्नेतमाथि उनकै कार्यकक्षमा सामूहिक आक्रमण गरेर भाग्ने क्रममा प्रहरीले २ जनालाई धादिङको गजुरीबाट पक्राउ गरेको छ । 

बिहीबार बिहान केही व्यक्तिहरुको समूहले कार्यकक्षमै प्रवेश गरी ढोका थुनेर बस्नेत माथि कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायउव उपरिक्षक चन्द्रभुषण यादवले जानकारी दिए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बस्नेतलाई समूहमा आएका व्यक्तिहरुले कार्यकक्षको ढोका बन्द गरी आक्रमण गरिएको थियो । 

घटनालगत्तै फरार भएकामध्ये २ जनालाई प्रहरीले धादिङको गजुरीबाट नियन्त्रणमा लिएको उनले बताए । मुग्लिन नाका हुँदै काठमाडौँतर्फ भागिरहेको अवस्थामा प्रदेश ३–०१–०२३ च ८४६० नम्बरको गाडीसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न भएको अवस्थामा प्रयोग गरिएको उक्त गाडीको पहिचानबाट उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता यादवले बताए । पक्राउ पर्नेमा निर्माण व्यवसायी लालबहादुर तामाङ समूहका २ जना सदस्य रहेको उनले बताए । तर तामाङ हालसम्म फरार छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घटनामा ५/६ जनाको समूह संलग्न रहेको र उनीहरुको खोजी भइरहेको छ । पक्राउ परेकाहरुलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको उनले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बस्नेतमाथिको आक्रमणको मुख्य कारण खोला ठेक्का र मापदण्ड विपरीतको उत्खनन रहेको देखिएको छ । गाउँपालिकाले खोलामा मापदण्डविपरीत उत्खनन भएको भन्दै रोक्न खोजेपछि व्यवसायीहरुसँग विवाद बढेपछि बस्नेतट माथि आक्रमण भएको प्रवक्ता यादवले बताए ।

सोही विषयलाई लिएर अदालतमा मुद्दासमेत चलिरहेको अवस्थामा ठेक्का विवादमा कुरा नमिल्दा अधिकृतमाथि आक्रमण भएको बुझिएको उनको भनाइ छ । प्रहरीले पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय मुग्लिनमार्फत मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?