सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
क्योटो । पश्चिमी जापानको एउटा सानो सहरकी मेयरले सुत्केरी बिदा लिने घोषणा गर्दा केही मानिसले अनौठो मान्नेछन् भन्ने उनले सोचेकी थिइन्। तर, यसको प्रतिक्रिया शोको कावाताले अनुमान गरेभन्दा धेरै व्यापक र विभाजित रह्यो।
जन्मदर बढाउन सङ्घर्ष गरिरहेको देशमा निर्वाचित अधिकारीले बच्चा जन्माउन बिदा लिन मिल्छ वा मिल्दैन भन्ने राष्ट्रिय बहसमा यी ३५ वर्षीया मेयर तानिएकी छन्। ‘प्रतिक्रिया यति ठूलो आउँदा म निकै छक्क परेँ,’ कावाताले बीबीसीलाई भनिन्।
मन्दिर र चेरीका रूखहरूका लागि चिनिने क्योटोको दक्षिणमा पर्ने यावाता सहरको सिटी हलस्थित पाँचौँ तलाको बैठक कोठामा उनी बाक्लो कुसन भएको कुर्सीमा बसिरहेकी थिइन्। उनको दायाँबायाँ दुई जना पाका उमेरका उपमेयरहरू बसेका थिए।
हाल स्थानीय जनप्रतिनिधिका लागि सुत्केरी हुँदा बिदा लिने कुनै कानुनी व्यवस्था नभएकाले कावाताले आधिकारिक रूपमा सुत्केरी बिदा पाउने छैनन्। त्यसैले, उनले आफ्नो बायाँतर्फ बसेका शिगेतो नोसेलाई अस्थायी रूपमा आफ्नो जिम्मेवारी सुम्पिँदै छिन्।

गत मे महिनामा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो योजना सार्वजनिक गरेकी थिइन्। सेप्टेम्बरको मध्यतिर सुत्केरी हुने मिति रहेकाले त्यसको दुई महिनाअघि र दुई महिनापछिसम्म आफू कामबाट बाहिर रहने उनले बताइन्। सुत्केरी बिदा लिने जापानकै पहिलो मेयर बनेर उनले इतिहास रच्दै छिन्।
औसत उमेर ३९ वर्ष रहेका आफ्ना कार्यालयका सबै सहकर्मीहरूले आफूलाई साथ दिएको उनी बताउँछिन्।
तर, सर्वसाधारणको धारणा भने फरक रह्यो। मानिसहरूले हजारौँ ‘एक्स’ पोस्ट र विभिन्न युट्युब भिडियोहरूमार्फत मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्।
बच्चा जन्माउनु गाह्रो काम भएको र कावाताले सकेसम्म राम्रो गरिरहेको कतिपयको भनाइ छ। जापानी समाजले गर्भावस्थालाई ध्यानमा राखेर उपयुक्त प्रणाली विकास गर्न नसकेको एक प्रयोगकर्ताले दाबी गरेका छन्। परिवारलाई पहिलो प्राथमिकतामा राखेर अन्य महिलालाई राजनीतिमा आउन सहज बनाउँदै कावाताले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको अर्का एक व्यक्तिको भनाइ छ।
यता, आलोचकहरू भने सार्वजनिक जिम्मेवारीबाट यसरी टाढा रहनुलाई ‘गैरजिम्मेवार’ कार्य मान्छन्। गर्भवती नै हुनु थियो भने पद सम्हाल्नुभन्दा अघि नै हुनुपर्ने उनीहरूको तर्क छ। लामो बिदा लिन चाहने उच्च अधिकारीले राजीनामा दिनुपर्ने अर्का एक व्यक्तिको भनाइ छ। त्यस्तै, सुत्केरी बिदाको समयमा तलब काटिनुपर्ने मागसमेत कतिपयले गरेका छन्।

यस्ता आलोचनालाई बेवास्ता गर्दै कावाताले आफूलाई आफ्नो काम निकै मन पर्ने र बच्चा जन्माएर परिवार सुरु गर्ने सही समय यही भएको गर्वका साथ बताएकी छन्।
‘सुत्केरी बिदा लिने राजनीतिज्ञको आलोचना गर्नुको अर्थ, २० देखि ४० वर्ष उमेर समूहका गर्भवती हुन सक्ने सबै महिलालाई सार्वजनिक पदबाट वञ्चित गर्नु हो।’
हिरोसिमा प्रान्तअन्तर्गतको अकिताकाता सहरका पूर्वमेयर सिन्जी इसिमारु भने सुत्केरी बिदाको समयमा काम कसरी सुचारु राख्ने भन्ने कुरा नै मुख्य विषय भएको मान्छन्। आफ्नो युट्युब च्यानलमार्फत उनले सुत्केरी बिदा राम्रो कुरा भएकोमा सबै सहमत रहेको बताएका छन्। नगरको काममा कुनै बाधा नपुग्ने गरी समाधान खोज्न यो घटनाले रचनात्मक छलफलको सुरुवात गर्ने उनको अपेक्षा छ।
कावाता ३३ वर्षको उमेरमा जापानकै सबैभन्दा कान्छी महिला मेयर बनेकी थिइन्। क्योटो विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेपछि उनी स्थानीय सरकार र राजनीतिमा प्रवेश गरेकी हुन्। उनको आधिकारिक प्रोफाइलका अनुसार, उनलाई चियापान समारोहमा सहभागी हुन, किमोनो लगाउन तथा मठमन्दिर घुम्न मन पर्छ।
पुरुषहरूको वर्चस्व रहेको राजनीतिक वृत्तमा उनले आफूलाई उभ्याएकी हुन्। गत वर्षसम्मको तथ्याङ्क हेर्दा, जापानका १ हजार ७ सय २० नगर प्रमुखमध्ये करिब ४ प्रतिशत मात्र महिला थिए।
अहिले देशले पहिलो महिला प्रधानमन्त्री पाउने चर्चा चलिरहँदा, राजनीतिमा महिलाको सहभागिता बढाउन पर्याप्त काम नगरेको भन्दै सरकारको निरन्तर आलोचना हुने गरेको छ। पुरुषको वर्चस्व रहेको मन्त्रिपरिषद् र युद्धपछिको धेरैजसो समय जापानमा शासन गर्दै आएको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नै यस समस्याको एउटा कारण भएको कतिपयको बुझाइ छ।
जुलाई २०२५ मा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको एक सर्वेक्षणले महिलालाई राजनीतिमा आउनबाट रोक्ने मुख्य बाधाहरू औँल्याएको थियो। जसमा गर्भावस्था, राजनीति पुरुषको मात्र काम हो भन्ने मान्यता र दुर्व्यवहारलाई मुख्य कारण मानिएको छ।
जापान विश्वकै चौथो ठूलो अर्थतन्त्र भए पनि लैङ्गिक समानताको सूचकाङ्कमा भने निरन्तर पछाडि छ। जुन २०२५ मा विश्व आर्थिक मञ्चले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा जापान १४६ देशमध्ये ११८औँ स्थानमा छ। लैङ्गिक समानताको सन्दर्भमा जी-७ राष्ट्रहरूमध्ये जापानको अवस्था सबैभन्दा कमजोर छ।

देशमा आमा र बाबु दुवैका लागि तलबसहितको कानुनी बिदाको व्यवस्था भए पनि सबैले यसको उपयोग गर्दैनन्।
महिलाले सुत्केरी हुनुअघि छ हप्ता र बच्चा जन्माएपछि आठ हप्ता बिदा पाउँछन्। त्यस्तै, बाबुले बच्चा जन्मेको आठ हप्ताभित्र चार हप्तासम्मको लचिलो सशुल्क बिदा लिन पाउने व्यवस्था छ।
बच्चा एक वर्षको नहुन्जेलसम्म आमाबाबु दुवैले बाल हेरचाह बिदा लिन पाउँछन्। यस अवधिमा योग्य कर्मचारीले पहिलो १८० दिनसम्म आफ्नो तलबको ६७ प्रतिशत र त्यसपछि ५० प्रतिशत रकम प्राप्त गर्छन्। अप्रिल २०२५ देखि लागू भएको नियमअनुसार, आमाबाबु दुवैले बिदा लिएमा पहिलो २८ दिनका लागि थप सुविधाहरू समेत उपलब्ध गराइन्छ।
उपमेयर शिगेतो नोसे भन्छन्, ‘महिला मेयर पदमा बहाल रहँदा सुत्केरी भएको अवस्थालाई व्यवहारमा कसरी व्यवस्थापन गरिन्छ भनेर धेरै मानिसले चासोका साथ हेरिरहेका छन्।’
दुई सन्तानका पिता रहेका ६२ वर्षीय नोसेले कावाताको अनुपस्थितिमा मेयरको सम्पूर्ण अधिकार प्रयोग गर्नेछन्। यद्यपि, मुख्य विषयहरूमा भने उनले हप्तामा एक पटक कावातासँग अनलाइनमार्फत छलफल गर्नेछन्।
उनले आफ्नो समयमा कहिल्यै अभिभावक बिदा लिएनन् र बच्चाको सम्पूर्ण हेरचाह आफ्नी श्रीमतीलाई नै छोडिदिए। ‘म घर फर्किंदा निकै थाकेको हुन्थेँ। राति बच्चा रोए पनि म श्रीमतीलाई नै हेर्न दिन्थेँ। अहिले फर्केर हेर्दा, मैले त्यसबेलाको आफ्नो व्यवहारमाथि साँच्चै विचार गर्नुपर्छ भन्ने लाग्छ।’
अहिले उनका ज्वाइँले दोस्रो बच्चाको स्याहारमा आफ्नी पत्नीलाई सघाउन छ महिनाको बिदा लिएका छन्। ‘यो देख्दा मलाई निकै खुसी लाग्छ। समय साँच्चै परिवर्तन भएको छ र उनीहरूले यसरी मिलेर काम गरेको देख्दा अत्यन्तै राम्रो लाग्छ।’
सार्वजनिक पदमा बसेका व्यक्तिले आफ्नो निजी जीवन त्यागेर पूर्ण रूपमा जनतामा समर्पित हुनुपर्छ भन्ने गहिरो मान्यताका कारण पनि आफूमाथि आलोचना भएको कावाताको बुझाइ छ।
आफ्नो गर्भावस्थाका विषयमा भएको यत्रो चर्चाका बारेमा भविष्यमा जन्मिने बच्चाले के सोच्लान् भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मलाई लाग्छ, उनीहरू यो कुरा सुनेर पक्कै छक्क पर्नेछन्।’
‘हामीले यस्तो समाज निर्माण गर्नु जरुरी छ, जहाँ महिलाले काम र परिवार दुवै सँगसँगै अगाडि बढाउनु सामान्य कुरा होस्। उनीहरूले काम वा परिवारमध्ये कुनै एक मात्र रोज्नुपर्ने बाध्यता नहोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दिवङ्गत डियोगो जोटाको जर्सी पहिरिँदै जब क्रिस्टियानो रोनाल्डो भावुक बने
-
बाढी, पहिरोले देशका विभिन्न स्थानमा सडक अवरुद्ध
-
अल्जेरियाविरुद्धको पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण