शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा

बिहीबार, १८ असार २०८३, २१ : ५३
बिहीबार, १८ असार २०८३

पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा र कालो स्टिकर हटाउने थालेको छ ।

सार्वजनिक सुरक्षा र कानुन कार्यान्वयनलाई ध्यानमा राख्दै पर्सामा पनि सरकारको नीति अनुरूप प्रहरीले यो सक्रियता बढाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको सहभागितामा वीरगन्जका विभिन्न स्थानमा गुड्ने निजी तथा सार्वजनिक सवारी साधनहरूको कालो सिसा र कालो स्टिकर हटाउन सुरु भएको छ।

ट्राफिक प्रहरीले चेक जाँचका क्रममा मापदण्ड विपरीत सिसामा कालो रङ वा स्टिकर टाँसिएका सवारी साधनलाई रोकी तत्कालै त्यस्ता सामग्री हटाउन लगाइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा सम्बन्धित निकायको पूर्व स्वीकृतिबिना सवारी साधनको रङ, स्वरूप, इन्जिन, चेसिस वा अन्य कुनै पनि संरचनामा परिवर्तन गर्न नपाइने व्यवस्था छ।

सोही कानुनी प्रावधानलाई कडाइका साथ लागू गर्न यो कदम चालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले बताए।

उनका अनुसार सवारी साधनमा कालो सिसा प्रयोग गर्दा भित्र भइरहेका गतिविधिहरू बाहिरबाट स्पष्ट नदेखिने हुनाले सुरक्षा निगरानीमा चुनौती थपिएको छ।

'कालो सिसाको आवरणमा आपराधिक क्रियाकलाप लुकाउन सक्ने र अनुसन्धानमा समेत कठिनाइ हुने भएकाले हामीले सुरक्षा र शान्ति व्यवस्थालाई प्राथमिकता दिएर यो अभियानलाई तीव्रता दिएका हौँ,'प्रमुख श्रेष्ठले भने ।

ट्राफिक प्रहरीले यो अभियानलाई नियमित रूपमा सञ्चालन गर्ने र अटेर गर्ने सवारी चालक तथा धनीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ।

कालो सिसा हटाउँदा सडकमा हुने निगरानी सहज हुने र सम्भावित दुर्घटना वा अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास प्रहरीको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सबै सवारी धनीहरूलाई कानुनको पालना गर्न र आफ्ना सवारी साधनलाई निर्धारित मापदण्डअनुसार मात्र सञ्चालन गर्न आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप