बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इरानको युरेनियम प्रशोधन केन्द्र नजिकै विस्फोट :  सरकारले भन्यो माइक्रो ड्रोनबाट आक्रमण भयो

आइतबार, १५ माघ २०७९, १० : ०५
आइतबार, १५ माघ २०७९

मध्य इरानको इस्फाहान सहरमा रहेको सेनाको बेसमा ठुलो विस्फोट भएको खबर छ ।

इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबी र सरकारी समाचार एजेन्सी इआरएनएले आइतबार रक्षा मन्त्रालयको हतियार निर्माण केन्द्रमा विस्फोट भएको जनाएको छ ।

तर, केही समयपछि रक्षा मन्त्रालयले ‘माइक्रो ड्रोन’ (सानो मानवरहित ड्रोन) मार्फत विस्फोट गराएको र ‘असफल हमला’ भएको बताएको छ ।

विस्फोटमा अहिलेसम्म कुनै मानवीय क्षति नभएको एक सुरक्षा अधिकारीले बताएका छन् ।

विस्फोटको भिडियो सामाजिक सञ्जालमा शेयर भइरहेको छ । यसमा, व्यस्त सडकको छेउमा बनाइएको यो स्थलमा अचानक ठुलो आवाजको साथ आगोको गोला देखिन्छ, त्यसपछि धुवाँको मुस्लो उठेको देखिन्छ ।

इस्फाहान सहर इरानको आणविक कार्यक्रमसँग सम्बन्धित छ र यसमा युरेनियम प्रशोधन केन्द्रहरू छन् ।

आइआरएनएले रक्षा मन्त्रालयको एक विज्ञप्तिलाई उद्धृत गर्दै भन्यो, ‘हवाई प्रतिरक्षा प्रणालीले एउटा ड्रोनलाई निष्प्रभावी बनायो, तर अन्य दुई ड्रोन हाम्रो जालमा फसे र विस्फोटको साथ नष्ट भयो । सौभाग्यवश, यो एक असफल आक्रमण थियो र कुनै जन–धनको क्षति भएन । यद्यपि, हाम्रो वर्कसपको छतमा भने क्षति पुगेको छ । ’

मन्त्रालयले भनेको छ, ‘यो हमलाले न त देशका आधारशिला र मिसनमा कुनै क्षति पुगेको छैन । यस्तो खालको अन्धाधुन्ध हमलाले देशको प्रगतिलाई बाधा पुर्याउन सक्दैन ।’

रोयटर्सले लेखेको छ कि पछिल्ला केही वर्षहरूमा इरानी सैन्य आधारहरू, आणविक र कारखानाहरू वरपर धेरै विस्फोट र आगलागीका घटनाहरू भएका छन् ।

सन् २०२१ मा इरानको नातान्ज न्युक्लियर एनरिचमेन्ट सेन्टरमा लोड सेडिङ भएको थियो जसका कारण त्यहाँ उत्पादन रोकिएको थियो । इरानले यसका लागि इजरायललाई जिम्मेवार ठहराउँदै शीत युद्धको आरोप लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप