शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार

सोमबार, १६ माघ २०७९, २३ : ०१
सोमबार, १६ माघ २०७९

काठमाडौँ । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन २०७९ मङ्सिरमा गृह मन्त्रालयले प्रस्ताव गरेको थियो । सो प्रस्ताव अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा फन्को मारेर पुन: गृह मन्त्रालयमा फिर्ता भएको छ ।

अर्थ मन्त्रालयले मङ्सिर अन्तिम सातामा सहमति दिएर फिर्ता गरेको प्रस्ताव अब गृह मन्त्रालयले थप परिमार्जन सहित अघि बढाउने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर प्रहरीमा ३० वर्ष सेवा गरेपछि अवकाशमा जानुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउन लागेको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेसँगै अध्यादेशमार्फत ३० वर्षे हटाउने प्रयासमा ब्रेक लागेको छ । 

३० वर्षे सेवा अवधि मात्र नभई प्रहरी ऐन–२०१२ लाई कसरी संशोधन गर्ने भन्नेबारे छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता (सह सचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । सह–सचिव पोखरेल भन्छन्–‘३० वर्षे सेवा अवधि सहित समग्रमा प्रहरी ऐन संशोधन गर्नेबारे छलफल गरिरहेका छौँ ।’

देउवा नेतृत्वको सरकारले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने गरी ऐन संशोधन गर्न खोजेको थियो । त्यसमा आईजीपीको कार्यकाल ३ वर्ष राख्न प्रस्ताव गरिएको थियो ।

यसअघि ३० वर्षे सेवा अवधि पुरा गरेपछि अवकाशमा जाने बाध्यतालाई हटाउन प्रहरी नियमावली–२०७१ को नियम १२७ लाई ऐनमा समावेश गर्न प्रस्ताव गरिएको थियो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई फाइदा हुने गरी गरेको सो प्रस्तावमा अर्थ मन्त्रालयले शर्त राखेर सहमति दिएको थियो । अध्यादेशमार्फत ऐन संशोधन गर्दा एक वर्षपछि मात्र लागु गर्ने गरी सहमति दिइएको अर्थ मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

सो प्रस्ताव अब विधेयकको रूपमा अघि बढ्ने बताउँछन् गृह प्रवक्ता पोखरेल । उनले रातोपाटीसँग भने–‘विधेयकको रूपमा संसद्मा पेश हुन्छ ।’ 

प्रहरी महानिरीक्षक (आईजीपी) अहिले ३ वटा अवस्था पुरा गरेपछि अवकाशमा जाने कानुनी व्यवस्था छ, ३० वर्ष सेवा अवधि, ५८ वर्षको उमेर हद र आईजीपी भएपछिको चार वर्ष कार्यकाल पुरा गरेर । 

तर, देउवा नेतृत्वको सरकारले ३० वर्षे सेवा अवधि हटाएर उमेर हद मात्रै लागु गर्ने गरी ऐन संशोधन गर्न खोजेको थियो । त्यसमा आईजीपीको कार्यकाल ३ वर्ष राख्न प्रस्ताव गरिएको थियो । 

विधेयकको रूपमा पेश हुँदा संसदीय समितिहरूमा छलफल भएपछि प्रतिनिधिसभा र  राष्ट्रिय सभाबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । ‘घुमिफिरी रुम्जाजार’ भनेजस्तै २०७९ मङ्सिरमा गरिएको ३० वर्षे हटाउने प्रस्ताव फेरी पुरानै अवस्थामा फर्किएको छ । 

ऐन संशोधन सर्वोच्चको आदेश 

सर्वोच्च अदालतका ५ जना न्यायाधीश सम्मिलित इजलासबाट २०७० चैत २० मा एउटा फैसला भएको थियो । सो फैसलाका कारण सरकारले प्रहरी ऐन ऐन संशोधन गर्न लागेको हो । तत्कालीन एआईजी मदनबहादुर खड्का सहित ११ जनाले दायर गरेको रिटमा सर्वोच्चले अवकाशको लागी सेवा अवधि वा उमेर हद तोक्दा नियमावली संशोधनको बाटो नअपनाई प्रहरी ऐनमा नै व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश गरेको थियो ।

तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट र ज्ञानेन्द्र बहादुर कार्की सम्मिलित विशेष इजलासको आदेशमा भनिएको छ–‘अवकाशको लागी सेवा अवधि तोक्दा वा उमेर हदको कारण सेवाबाट अवकाश लिने व्यवस्था गर्दा समेत नियमावली संशोधनको बाटो नअपनाई प्रहरी ऐनमा नै जो चाहिने आवश्यक व्यवस्था गर्ने गरी मिलाउनु भनी नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरी दिएको छ ।’

फैसलामा सर्वोच्चले थप व्याख्या गरेको छ–‘प्रहरी सेवाको सारभूत विषय अन्तर्गत पर्ने नियुक्ति, योग्यता, निवृत्तिभरण, अवकाश सम्बन्धी व्यवस्थाहरू नियमावलीको व्यवस्था अन्तर्गत नराखी ऐनकै व्यवस्थाअन्तर्गत राखिएमा कानुनमा स्पष्टता र निश्चितता रहने भई कार्यान्वयनमा प्रभावकारिता रहन सक्ने अपेक्षा गर्न सकिन्छ । यसका लागी प्रहरी ऐनमा नै विधायीकी हिसाबले पुनरावलोकन गरी सबै कुराहरूको सम्बोधन गर्ने व्यवस्था गर्न जरुरी देखिन्छ ।’

सो फैसलाका कारण सरकारले ऐन संशोधन गर्न लागेको गृहका उच्च अधिकारीहरू बताउँछन् । ती अधिकारीले रातोपाटीसँग भने–‘सो फैसलाको सम्मानका लागी प्रहरी ऐन संशोधन अनिवार्य छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप