मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सडकको पार्किङ हटाएको विरोधमा विराटनगर महानगरपालिकाविरुद्ध उत्रिए व्यापारी

सोमबार, १६ माघ २०७९, १३ : ३८
सोमबार, १६ माघ २०७९

विराटनगर । विराटनगरका मुख्य सडकमा गरिने पार्किङ हटाएको विरोधमा साना तथा खुद्रा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार आफ्नो पसलको सटर बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् । 

खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको कारण विरोध गरेको बताए । ‘अल्पकालीन ढंगले बनाइएका पार्किङमा पनि अनावश्यक शुल्क लिने गरिएको छ, व्यवस्थित भएको छैन,’ उनले भने, ‘बिस्तारै गर्नुपर्नेमा सबैतिर एकै पटक सडकका पार्किङ हटाउने निर्णय महानगरले गरेपछि हामी समस्यामा पर्‍यौँ ।’

महानगरपालिकाले विराटनगरका विभिन्न स्थानमा पार्किङको व्यवस्थापन गरेको छ । तर, ती पार्किङमा घण्टाको आधारमा पार्किङ शुल्क लिने गरेको छ । अर्को स्थानमा गएर पार्किङ गर्दा पनि पुनः शुल्क लिने गरेको मण्डल बताउँछन् । 

Byapar (3)

महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन अनुरोध गर्ने नमानेको खण्डमा छलफलपछि आन्दोलनका कार्यक्रम तय गरिने मण्डलले बताए । 

मेनरोडमा रहेको जानकी फेन्सी स्टोरका सञ्चालक सुनिलकुमार रजकले महानगरले आफ्नो समस्या बुझिदिनुपर्ने बताए । ‘पार्किङ नहुँदा बोनीबट्टा पनि हुन छोड्यो । वान वे गरिदियोस् । वान वे पनि खोलिदिएको छ । पार्किङ पनि हटाइदिएको छ यसरी त व्यापार चलल्ने देखियो,’ उनले भने ।

महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो । यसका लागि पुरानो जलजला हल उत्तरतर्फ र ग्रिनक्रस अस्पताल पछाडिको खाली जग्गालाई पार्किङस्थल घोषणा गरेको छ ।

Byapar (2)

यसैगरी महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ । यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रूपमा तोकेको छ ।

अर्को पार्किङ निषेधित क्षेत्रको रूपमा महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ । यसका लागि पुरानो गुद्री बजारको इप्लटलाई पार्किङस्थल तोकिएको छ । यसैगरी हनुमान मन्दिरदेखि जलजला चौकसम्मको दुरीलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको एप्लटलाई पार्किङस्थलको रूपमा प्रयोग गरिँदै आएको छ । हनुमान मन्दिर–जलजला चौकसम्म केही वर्ष अगाडि नै नो पार्किङ जोन घोषणा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप