शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : रवि लामिछानेलाई मन्त्री बनाउन चर्को दबाब छ

मङ्गलबार, १७ माघ २०७९, १४ : ४२
मङ्गलबार, १७ माघ २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री बनाउन सबैतिरबाट दबाब आएको बताएका हुन् । 

प्रचण्डले लामिछानेसहित अरू पार्टीबाट समेत उनलाई गृहमन्त्री बनाउन आफूलाई दबाब आएको ब्रिफिङ गरेको एक पदाधिकारीले बताए । ‘मलाई रव लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आइरहेको छ । उनीबाट मात्रै दबाब आए हुन्थ्यो नि, अरू पार्टीबाट पनि उस्तै दबाब छ’ प्रचण्डको भनाइ उदृद गर्दै ती पदाधिकारीले भने, ‘मैले कहिलेसम्म थेग्न सक्छु हेरौँ । गैरसांसदको रूपमा मन्त्री बनाउन लामिछानेको माग छ ।’

तर प्रचण्डले आफू लामिछानेलाई गैरसांसदको रूपमा मन्त्री बनाउने पक्षमा नरहेको बैठकमा ब्रिफिङ गरेका छन् । ‘अहिले गैरसांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश जाँदैन । यो सरकार र उनकै लागि पनि राम्रो हुँदैन’ प्रचण्डले बैठकमा भने, ‘यदि रविजीलाई मन्त्री बनाइयो भने पनि विगतमा अदालतले उल्ट्याएको  थियो । फेरि उस्तै नियति हुन सक्छ ।’ 

आफूसँगको पटक पटकको भेटमा रविले गैरसांसदको रूपमा ६ महिना मन्त्री बनाउन भनिरहेको प्रचण्डको भनाइ छ ।

पार्टीका अधिकांश पदाधिकारीले पनि रविलाई तत्काल गृहमन्त्री नबनाउन  आग्रह गरेका थिए । ‘अदालतको फैसलाको पूर्णपाठ आइसकेको छैन । नागरिकताको विषयमा टुंगो लागे पनि पासपोर्टको विषय सुल्झिएको छैन,’ प्रचण्डलाई नेताहरूले राखेको विषयबारे बताउँदै ती पदाधिकारीले भने, ‘यस्तो अवस्थामा तत्काल मन्त्री बनाउनु हुँदैन । प्रधानमन्त्रीले आफै राख्दा हुन्छ ।’ अब गृहमन्त्रीमा समझदारी गर्दा माओवादीले लिनेगरी गर्नुपर्ने पनि नेताहरूले धारणा राखेका छन् । पदाधिकारीको बैठक बुधवार फेरि बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप