शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी

शनिबार, २० असार २०८३, २० : ५९
शनिबार, २० असार २०८३

सारांश

  • योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले प्राथमिकतामा राख्नुपर्ने माग उठेको छ।
  • चेतना पौडेलको गिरफ्तारीलाई प्राकृतिक चिकित्सामाथिको प्रहार भन्दै संघले राज्यको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएको छ।
  • कार्यक्रममा वक्ताहरूले योग तथा प्राकृतिक चिकित्साको प्रभावकारिता र कानुनी मान्यताका बारेमा जोड दिँदै राज्यले यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

काठमाडौँ। नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्ने माग उठेको छ। 

शनिबार राजधानीको संवाद डबलीमा योग तथा प्राकृतिक चिकित्सा संघद्वारा आयोजित कार्यक्रमका वक्ताहरूले चेतना पौडेललाई अनावश्यक विवादमा तानेको आरोप समेत लगाएका छन्।

९ औं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको सन्दर्भमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष डा. जनक बहादुर बस्नेतले प्राकृतिक चिकित्सालाई राज्यले प्राथमिकता नदिएको बताए। विश्वभर प्रभावशाली बन्दै गइरहेको बेला नेपालमा यो चिकित्सा ओझेलमा पर्नु दुर्भाग्य रहेको डा. बस्नेतको कथन छ। पछिल्लो समयमा अत्यधिक रोगीहरू बढ्दै जानुमा राज्यकै नजरमा प्राकृतिक चिकित्साप्रतिको बुझाइमा अस्पष्टता हुनु मुख्य समस्या रहेको उनले औँल्याए।

 पौडेलको गिरफ्तारी र राज्यको अनुसन्धान प्रक्रिया प्राकृतिक चिकित्सामाथिकै प्रहार भएको बस्नेतले आरोप लगाए। पौडेलले ‘राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स’ बैङ्गलोरबाट साढे ५ वर्षको मेडिकल कोर्स अध्ययन पूरा गरी २१ वर्षदेखि चिकित्सकीय अभ्यासमा रहेको बताउँदै उनले दुई दशक बढी डाक्टरी पेसा गरिरहेकी व्यक्ति कसरी नक्कली डाक्टर हुन सक्छिन् भनी प्रश्न गरे।

Prakritik Chiktsa Sang (5)

सो क्रममा डा. चेतना पौडेलले आफूले योग तथा प्राकृतिक चिकित्सा सम्बन्धी अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भई दुई दशक बढी यही पेसा गरिरहँदा आफूमाथि पूर्वाग्रह साधिएको भन्दै दुखेसो व्यक्त गरिन्।

प्रा.डा. सञ्जय पोखरेलले विश्वभर प्रभावशाली बन्दै गइरहेको योग तथा प्राकृतिक चिकित्सालाई नेपाल सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए। डा. चेतना पौडेललाई राज्यले अनावश्यक विवादमा तानेर प्राकृतिक चिकित्सामाथि प्रहार गरेको उनको आरोप छ।

त्यस्तै, डा. हेमराज कोइरालाले प्राकृतिक चिकित्साको विकास क्रमबारे प्रस्ट पार्दै यस चिकित्सा पद्धतिको उद्गम थलो नेपालमै यो हेलाँमा परेको भन्दै दुःख व्यक्त गरे। डा. रविनलाल श्रेष्ठले ब्याचलर अफ नेचुरोप्याथी एण्ड योगिक साइन्सेस (बीएनवाईएस) प्रभावकारी र प्रमाणित चिकित्सा भएको भन्दै योग तथा प्राकृतिक चिकित्साको नेपालमा कानुनी मान्यताका बारेमा तथ्यहरू प्रस्तुत गरे। 

डा. सन्जु खईजुले यस चिकित्साको प्रभावकारिता र महत्वलाई बढाउन राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्। सो कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा अध्ययन पूरा गरेका नयाँ डाक्टरहरूलाई सम्मान समेत गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप