बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘उम्मेदवारको नागरिकताका विषयमा किन चुक्छ आयोग ?’ यसो भन्छन् प्रमुख निर्वाचन आयुक्त थपलिया

शुक्रबार, २० माघ २०७९, १८ : ०९
शुक्रबार, २० माघ २०७९

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका बेला उम्मेदवारले बुझाएको नागरिकताको प्रमाणपत्र लगायतका कागजात ठीक छन् भनेर  स्वघोषणामा दस्तखत गराएर आयोगले विश्वास गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले उम्मेदवार स्वंयलाई आफ्नो कागजात ठीक छ भनेर स्वघोषणामा दस्तखत गर्न लगाएर उम्मेदवारी दर्ता गर्ने गरेका कारण त्यसमा आयोगको कमजोरी नहुने दावी गरे । 

उनले आयोगले उम्मेदवार नेपाली नागरिक हो कि हैन र उम्मेदवार बन्नका लागि उमेर पुगेको छ छैन हेर्नका लागि नागरिकताको प्रमाणपत्र माग्ने गरेको बताउँदै उजुरी परेमा सम्बन्धित निकायबाट त्यसबारेमा जवाफ मागेर निर्णय गर्ने उल्लेख गरे चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवारी दर्ता गर्दा नागरिकताको विषयमा आयोग चुकेको हो भन्ने पत्रकारले सोधेको प्रश्न दिँदै प्रमुख आयुक्त थपलियाले नागरिकताबारे समयमा उजुरी परे आयोगले प्रचलित बिधि अनुसार निर्णय गर्ने बताए ।  उनले उम्मेदवारले बुझाएको नागरिकताको विषयमा उजुरी आए आवश्यक परे आयोगले खोजविन पनि गर्ने र आगामी निर्वाचनका बेला यस विषयमा आयोगले गहन रुपमा हेर्नुपर्ने माग उठे कानुन संसोधन गरेर जानुपर्ने उल्लेख गरे ।  

प्रमुख आयुक्त थपलियाकै शब्दमा :  

कुनैपनि उम्मेदवारले उम्मेदवारी घोषणा गरिसकेपछि हामी एउटा स्वघोषणा गराउँछौँ र आफैलाई दस्तखत गर्न लगाउँछौँ, त्यो कानुनमा पनि व्यवस्था छ । त्यसमा एक नम्बरमै म नेपालको नागरिक हुँ भनेर सहि गर्न लगाउँछौँ । मैले पेस गरेका सबै कागजातहरु ठीक छन्, म संविधानप्रति प्रतिबद्ध छु, म कुनैपनि कानुनले उम्मेदवार हुनका लागि अयोग्य छैन, योग्य छु लगायतका सत्र–अठार वटा बुँदामा दस्तखत गराउँछौँ । देशलाई हाँक्न भनेर निर्वाचनमा आउने मान्छे गलत नागरिकता बोकेर आउँदैन भन्ने आयोगलाई विश्वास हुन्छ । यदि प्रश्न उठिहाल्यो भनेपनि त्यसको छिनोफानो गर्नका लागि आयोगले सम्बन्धित निकायलाई सोधेर काम गर्छ । हामीले मैले भरेको सवै ठीक हो, बेठीक भएमा कानुन बमोजिम सहन बुझाउन तयार छौँ भनेर हामीले सहि गराउने गरेका छौँ ।

उदाहरणको लागि तपाईहरुपनि कुनै निकायमा काम गर्नुहुन्छ, तपाईको नियुक्तिका लागिपनि नागरिकता मागिएको होला । पत्रकारितामा बिए पास गरेको प्रमाणपत्र मागिएको होला । ति सबै प्रमाणपत्रमा तपाईले सक्कल बमोजिम नक्कल ठीक छ भनेर दस्तखत गर्नुहुन्छ । हामीले त यी सबै ठीक हो गलत भयो भने कानुन बमोजिम सहन बुझाउन तयार छु भनी हामी सही गराउँछौँ । 

एकछिन सम्झनुस्, तपाईको संस्थाले तपाईलाई जागिर दियो, तपाईको संस्थाले एकवर्षभित्र काम गरिसक्नुभयो तर ४ महिनापछि उजुर पर्यो तपाईको नागरिकता गलत रहेछ, तपाईको शैक्षिक योग्यताको प्रमाणपत्र गलत रहेछ । तपाईलाई नियुक्ति दिने संस्थाको कमजोरी तपाईको चाही कमजोरी नहुने भन्ने ब्याख्या होला र ? त्यस्तो ब्याख्या गर्ने प्रयत्न गरिएको छ ।  

अहिलेपनि मैले बिनम्रताका साथ भन्नुपर्छ, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गरेर १ लाख ६० हजार उम्मेदवार भए । ती १ लाख ६० हजार उम्मेदवारका कागजात ठीक छन् भनेर नै हामीले सदर गरेको हो । उम्मेदवारी सदर निर्वाचन आयोगले गर्दैन, निर्वाचन अधिकृतको कार्यालयले गर्छ । निर्वाचन अधिकृतको कार्यालयले गरेको कामको पनि हामीले जवाफ दिनुपर्छ । प्रश्न उठेको सन्दर्भमा आयोगले बेला बेला उपयुक्त निर्णय गरेकै छ, गर्ने नै हो तर प्रमाणपत्र ठीक वा बेठिक, शुद्ध वा अशुद्ध भन्ने बारेमा हामी हेर्दैनौँ । 

नागरिकता हामीले मुलतः दुईवटा प्रयोजनका लागि हेर्छौँ । एउटा उ नेपाली नागरिक हो कि हैन ? र उसको नागरिकतामा भएको उमेरले उम्मेदवार हुन योग्य हुन्छ कि हुँदैन ? नेपाली नागरिक हो कि हैन, उमेर पुगेको छ कि छैन भनेर मात्र आयोगले हेर्ने हो ।  यसमा संशोधन आवश्यक छ, आयोगले अझै गहन ढंगले हेरिदिनुपर्छ भन्ने हो भने तद्अनुसार हामी भोलि ऐन संसोधनको प्रक्रियामा जान पनि तयार छौँ । तर आयोगले यो भन्दा बढी बाहिर गएर काम गर्न सक्दैन, जति गर्न सक्छ त्यति गरेको हो ।   भोलिको निर्वाचन आयोगले पनि गर्ने त्यही नै हो । 

अहिले ११६ वटा राजनीतिक दलहरु दर्ता छन् । ती सबै राजनीतिक दलहरु दर्ता गर्दा केन्द्रीय कमिटी र प्रदेश कमिटीका सबै पदाधिकारीहरुको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र सहितको विवरण हामीसँग हुन्छ । हामीलाई सबै शुद्ध होला भन्ने विश्वास छ उसले प्रमाणित गरेर दिएको कारणले । यसमा खोजीनिति गर्नुपर्ने अवस्था आयो भनेपनि आयोगले गर्छ नगर्ने हैन । 

स्थानीय तहको चुनावमा पनि हामीले भोगेको कुरा हो निर्वाचित भएर आउँछ तर कार्यालयमा छिर्न पाउँदैन । यो प्रणालीलाई फेर्नका लागि आउँदो चुनावमा कानुनमा यी कुराहरुलाई समावेश नगरी हुँदैन । अहिलेको कानुनबाट हामीले सक्ने अवस्था छैन । सकेसम्म कानुनको उदार, स्वर्णिम ब्याख्या गरेर आयोगले काम गर्ने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप