शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

संसद्‍मा केपी ओली : राजनीति विभिन्न खालका अनुचित साँठगाँठहरूले अस्थिर र आक्रान्त भयो

आइतबार, २२ माघ २०७९, १४ : ३२
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको टिप्पणी गरेका छन् । 

उनले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा गर्न नपाएको बताउँदै नयाँ संविधान जारीपछि पनि उही अवस्था कायम रहेको टिप्पणी गरे । अध्यक्ष ओलीले भने– ‘हामीले अस्थिरताको राजनीतिक व्यवहार निरन्तर बेहोरिरहनुपरेको छ । २००७ सालपछि कुनै पनि प्रधानमन्त्रीले ५ आफ्नो ५ वर्षको कार्यकाल पूरा गर्न सकेको छैन । २०१५ सालमा पहिलो निर्वाचित प्रधानमन्त्री समेत २ वर्षमै अपदस्त भए र थुनामा परे । हामीले नयाँ संविधान जारी गर्‍यौँ तर स्थायित्व कस्तो भयो भने वर्षमा एक पटक प्रधानमन्त्री जस्तो भयो । हाम्रो चाहना स्थिरता र स्थायित्वको चाहना भयो तर हाम्रो प्राप्ति भने अस्थिरता र अनिश्चितता हुन पुग्यो । हाम्रो वर्तमान अनिश्चयता, डर र विभिन्न खालका अनुचित साँठगाँठहरूले आक्रान्त हुने गरेको छ ।’

उनले देशलाई आकार दिने राजनीति आफैँ दिशाविहिनताको भैपरी आउने अवसर पर्खेर बसेको उल्लेख गर्दै हामी कहिलेसम्म मदारीको जम्मुरे भएर बसिरहने ? भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले राजनीतिक दलका नेताहरू मिलेर आत्मविश्वासका साथ निडरताका साथ नेपाल र नेपाली जनताको भविष्य निर्माणका लागि सङ्कल्प गर्न आग्रह गरे । उनले राजनीतिक अस्थिरताको अन्य गरी मुलुकमा राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गराउन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप