बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बालुवाटार धाउँदै ओली तर किन बस्दैन संयन्त्रको बैठक ?

आइतबार, २२ माघ २०७९, १५ : ०३
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस १० गते यता बालुवाटार १० पटक पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि एमालेका अध्यक्ष ओलीले प्रचण्डलाई १४ पटक भेटेका छन् । 

एकपटक उनी खुमलटार नै पुगेका छन् भने तीनपटक आफ्नै निवास बालकोटमै दुई नेताबीच छलफल गरेका छन् । ४२ दिनमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग १४ पटक छलफल गरिरहँदा सत्ता गठबन्धनको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक भने एकपटक पनि बस्न सकेको छैन । 

gathbandhan

पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेस नेतृत्वका गठबन्धन छाडेर ओली निवास बालकोट पुगेका थिए । त्यहाँ माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने भनेर दुई नेताको बीचमा सहमति भएको थियो । त्यो दिन जसपा, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी पनि बालकोट पुगेका थिए । 

माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएपछि एमालेका अध्यक्ष ओली उनलाई भेट्नका लागि खुमलटार नै पुगेका थिए । घरको छतमा सुन्तला खाँदै भेटघाट भएको थियो । त्यतिबेला मन्त्रिमण्डल विस्तार, न्यूनमतसाझाकार्यक्रमलगायतको विषयमा दुई जनाको बीचमा छलफल भएको थियो । 

त्यही दिन प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सरेका थिए । सरकारी निवास सरेको दुई दिनपछि अर्थात् पुस १५ गते अध्यक्ष अ‍ोली प्रधानमन्त्री प्रचण्डलाई भेट्नका लागि बालुवाटार नै पुगेका थिए । सो भेटमा मन्त्रिपरिषद् विस्तारलगायतको विषयमा छलफल भएको थियो । त्यसको चार दिनपछि पुस १९ गते ओली पुनः बालुवाटार पुगेका थिए ।

prachanda kp (1)

सो भेटअघि प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिने तय भइसकेको थियो । त्यसमा धेरैभन्दा धेरै संसद्को विश्वास मत कसरी लिन सकिन्छ । त्यस बारेमा दुई जनाको बीचमा छलफल भएको थियो । 

प्रधानमन्त्री प्रचण्ड अचानक पुस २५ गते काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । भेटपछि पुस २६ गते बिहानै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी काँग्रेसले निर्णय गर्‍यो । 

कांग्रेसको अप्रत्यासित ‘मुभ’ पछि एमालेका अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डप्रति संशकित बनेका थिए । त्यसको प्रतिक्रिया उनले पुस २६ गतेको संसद्को बैठकमा पनि दिइसकेका थिए । प्रचण्ड–देउवाबीच ‘साँठगाँठ’लाई ओलीले नरुचाएको र प्रचण्डसँग असन्तुष्ट भएको स्पष्ट देखिन्थ्यो ।

काँग्रेससँग सम्बन्ध बनाएको भन्दै असन्तुष्टि जनाउँदै आइरहेका ओलीसँग भेट्न पुस २७ गते प्रधानमन्त्री प्रचण्ड बालकोट नै पुगेका थिए । त्यहाँ दुवै जनाको बीचमा मन माझामाझ भयो । विश्वासको मत लिनुबाहेक काँग्रेससँग अरू कुनै सहमति नभएको भन्दै प्रचण्डले ओलीलाई विश्वास दिलाएका थिए ।

prachanda kp (2)

त्यसपछि बल्ल ओली पुनः बालुवाटार जान थाले । पुस २८ गते नै उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । सो भेटमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा दुवै जनाको बीचमा छलफल भएको थियो । त्यसै विषयमा छलफलका लागि उनी पुस ३० गते पुनः बालुवाटार पुगेका थिए ।

उनी बालुवाटारबाट फर्केपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । उनीहरूको बीचमा पनि मन्त्रिपरिषद्को विषयमा छलफल भएको थियो । 

लिङ्देन र लामिछानेसँग छलफल गरेको भोलिपल्ट अर्थात माघ १ गते ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । मन्त्रिपरिषद् विस्तारमा कुरा नमिलेपछि त्यसको भोलिपल्ट माघ २ गते प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न बालकोट नै पुगेका थिए । 

बालकोटमा पनि सहमति हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका थिए । तर त्यो बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा भन्दा राष्ट्रपति, उपराष्ट्रपतिलगायतका विषयमा बढी केन्द्रित भयो । अन्य–अन्य कुरा हुन थालेपछि एमालेका अध्यक्ष ओली बीचैमा बैठकबाट हिँडेका थिए । जसपा र लोसपाले भने बैठक नै बहिष्कार गरेका थिए । 

त्यसपछि फरक सत्ता गठबन्धनको विषयमा छलफल हुनथाल्यो । माओवादी, काँग्रेस, नेकपा एकीकृत समाजवादी, जसपालगायतको बीचमा आन्तरिक छलफल सुरु भएको थियो । वाम एकताका लागि ती दलहरूले वार्ता समिति पनि त्यहीँ बीचमा गठन गर्‍यो । प्रधानमन्त्री प्रचण्डले पनि एउटा सार्वजनिक कार्यक्रममा राष्ट्रपतिलगायत विषयमा एमालेसँग कुनै पनि सहमति नभएको, जे हुन्छ सहमतिमै हुन्छ भनी धारणा राखेका थिए । त्यसपछि ओली प्रचण्डप्रति झन् सशङ्कित हुन थाले । 

prachanda kp (3)

सर्वदलीय बैठकपछि एमालेका अध्यक्ष ओली र प्रचण्डबीच माघ १० गते मात्र कुराकानी भएको थियो । एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिलगायतको विषयमा स्पष्ट हुन प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । 

माघ १२ गते पनि उनी दुई जनाको बीचमा बालुवाटारमा छलफल भएको थियो । राष्ट्रपति लगायतको विषयमा दुई जनाको बीचमा चर्काचर्की नै भएको थियो ।

माओवादीको पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकले राष्ट्रपतिका लागि दलहरू बीचमा सहमति गर्ने निर्णय गरेको थियो । यो कुरा बाहिर आएपछि एमाले अध्यक्ष अ‍ोली झन् आक्रोशित बनेका थिए । 

माघ १३ गते भने देशको राजनीतिले अर्को मोड लियो । उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेको नागरिकता विवादमा रविले अमेरिकाको नागरिकता त्यागे पनि नेपालको नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेको थियो । जसले गर्दा रविको मन्त्री, सांसद, पार्टीको सभापति पद गयो ।

यसको विषयमा छलफल गर्नका लागि माघ १५ गते अध्यक्ष ओली बालुवाटार पुगेका थिए । लामिछानेले सिडिओ कार्यालयबाट नागरिकता लिइसकेपछि पुनः उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा आउन चाहेको जानकारी एमालेका अध्यक्ष ओली र प्रचण्डलाई गराएका थिए । 

रविलाई उपप्रधान तथा गृहमन्त्री दिनुपर्छ भन्ने पक्षमा ओली थिए । त्यही विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न माघ १८ गते बालुवाटार पुगेका थिए । त्यहाँ अ‍ोलीले रविलाई उपप्रधान तथा गृहमन्त्री बनाउनका लाग प्रचण्डलाई दबाब दिएका थिए । 

prachanda kp (5)

यो कुरा प्रचण्डले पार्टीको बैठकमा खुलासा गरेका थिए । रविले पनि आफू गृहमन्त्रालय पाउनुपर्छ भनी प्रधानमन्त्री प्रचण्डलाई पटक पटक दबाब दिए तर प्रचण्डले सर्वोच्चको निर्णय पूर्णपाठ आइ नसकेको र पासपोर्टको मुद्दा पनि विचाराधीन रहेको कारण केही समय पर्खिन भनेका थिए तर रविले मानेनन् । उनले ओलीबाट प्रचण्डलाई दबाब दिलाउन थाले । त्यसका लागि राप्रपाका अध्यक्ष लिङ्देन पनि मााघ १८ गते प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका थिए ।

माघ २० गते बालकोटमा ओली, लामिछाने र लिङदेनबीच छलफल पनि भएको थियो । त्यो छलफलको निष्कर्ष सुनाउन एमाले अध्यक्ष ओली माघ २१ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । उनले त्यो दिन पनि रविलाई उपप्रधान तथा गृहमन्त्री दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए तर उनले मानेनन् । 

उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका अध्यक्ष अ‍ोलीले पटक पटक खुमलटार र बालुवाटारको चक्कर लगाए पनि संयन्त्रको बैठक बसाउने प्रयास कहिले गरेनन् । बालुवाटारमा बसेको बैठक एमालेका अध्यक्ष अ‍ोलीलाई पुस १४ गते संयन्त्रको संयोजक बनायो । संयन्त्रको संयोजकको हैसियतले सरकारको न्यूनतम साझा कार्यक्रम पनि बुझ्ने काम गरे । तर संयोजक भएको एक महिना भन्दा बढी भइसक्यो तर अहिलेसम्म एउटा बैठक समेत बस्न सकेको छैन ।

prachanda kp (6)

माओवादी केन्द्रका नेता एवं प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘कुनै पनि बैठक वा छलफल आवश्यकता अनुसार हुन्छ अहिले संयन्त्रको बैठकको आवश्यकता नै परेको छैन त्यही भएर बसेको छैन ।’ आवश्यकता अनुसार बैठक बस्ने बताउँदै उनले दुईजना अध्यक्ष (ओली–प्रचण्ड)को बीचका छलफलहरू भइरहेका नै रहेको र त्यहाँबाट नै धेरैजसो समस्या समाधान भइरहेका छन् तैपनि आवश्यकता पर्‍यो भने बैठक बस्ने उनले बताए ।

राष्ट्रपति, गृहमन्त्री, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा सत्ता गठबन्धनको बीचमा विवाद छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि नरहने विवाद भइरहेको छ । जसपा नेपाल सत्ता गठबन्धनका दल भए पनि ऊ सरकारमा सहभागी भएको छैन । राष्ट्रपति एमालेले लिने भनी सहमति भएको भन्छ तर माओवादीले त्यसमा सहमति हुन बाँकी रहेको बताउँदै छ । यी र यस्ता थुप्रै विवादको समाधान संयन्त्रबाट समाधान गर्न सकिन्छ तर अ‍ोलीले बैठक नै बसाउन नचाहेको नेताहरू आरोप लगाउँछन् । बालुवाटार स्रोत भन्छ, ‘ओलीजी पटक–पटक प्रधानमन्त्रीलाई आफ्नै समस्या लिएर भेट्नुभएको हो । संयन्त्रलाई अगाडि बढाउने बारेमा एक दिन पनि छलफल भएको छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप