शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगकाे सदस्य

बिहीबार, २६ माघ २०७९, १५ : १७
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो दाइ डा.जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएका छन् ।  अध्यक्ष राउतले पार्टीबाट उनको सिफारिस गरेपछि बुधवार प्रधानमन्त्री प्रचण्डले उनलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वरिष्ठ कृषि वैज्ञानिक समेत रहेका उनले २०७९ को आम चुनावताका पदबाट राजीनामा दिएका थिए ।

डा.जयकान्त राउत प्रतिनिधिसभाको चुनावमा सप्तरी–२ बाट निर्वाचन लडेका थिए । तर उनलाई जनता समाजवादी पार्टीका नवकिशोर साहले चुनाव हराएका थिए । नवलकिशोर साहले २३ हजार ६०४ मत ल्याएका थिए भने जयकान्त १९ हजार ९९६ मत ल्याएर पराजित भएका थिए । चुनावमा पराजित आफ्नै दाइलाई योजना आयोगमा सिफारिस गरेपछि पार्टीभित्र र बाहिर आलोचना सुरु भएको छ । यसअघि पनि अध्यक्ष सिके राउतले आफन्त बबिता राउतलाई समानुपातिक प्रणालीबाट मधेस प्रदेश सभामा ल्याएका थिए । उनी अहिले उपसभामुख छिन् । अध्यक्ष राउतको यो कदमको पनि चर्को आलोचना भएको थियो । 

यद्यपि डा.जयकान्त राउतले सिके नेतृत्वको आन्दोलनमा भने हरहमेसा साथ दिँदै आएका थिए । उनले जागिरे भए पनि स्वतन्त्र मधेस गठबन्धनलाई सघाउँदै आएका थिए । तर मधेसलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने पक्षमा भने जयकान्त थिएनन् । उनले भाइलाई संसदीय राजनीति गर्न सुझाव दिँदै आएका थिए । सिके राउत जेल पर्दा जयकान्तले नै कानुनी तथा प्रशासनिक कामहरू गरेर निकाल्न पहल गर्थे । स्वतन्त्र गठबन्धन छाडेर सिके राउत मूलधारमा आउनुमा जयकान्तको हात रहेको छ । जयकान्तले पछिल्लो समय सिके राउत थुनामा रहेका बेला उनलाई रिहा गर्न र ११ बुँदे सम्झौता गराउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेर वातावरण निर्माण गर्न सफल भएका थिए ।

सिके राउत लामै समय जेल बस्ने अवस्था देखेपछि जयन्तले तत्कालीन सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसँग सम्पर्क गरेका थिए । उनले मन्त्री पाण्डेसँग आफूले सिकेलाई ‘स्वतन्त्र मधेस’ को आन्दोलनबाट अलग गर्न चाहेको र त्यसको वातावरण बनाइदिन प्रस्ताव राखेका थिए । पाण्डेले सो खबर तत्कालीन प्रधानमन्त्री ओलीसमक्ष पुर्‍याएका थिए । त्यस लगत्तै ओलीले जयकान्त राउतसँग कुराकानी गरेका थिए ।

ओलीसँग भएको वार्ता जयकान्त राउतले सिकेलाई जेलमै पुगेर सुनाएका थिए । त्यसबेला सिके राउतसँग वार्ता गर्ने जिम्मेवारी ओलीले विष्णु पौडेललाई दिएका थिए । त्यसपछि जेलमै पटक–पटक वार्ता गरी ११ बुँदे सम्झौता भएको थियो । सो सम्झौतासँगै सिके राउत मूलधारको राजनीतिमा आएका थिए । सिके राउत मूलधारको राजनीतिमा आएपछि जयकान्त राउत राजनीतिमा रूपमा झन् सक्रिय भएका थिए । २०७९ मङ्सिरको  निर्वाचनमा जयकान्त प्रतिनिधिसभा सदस्यको चुनाव लडेका थिए । चुनाव हार बेहोरेका उनी अहिले योजना आयोगका सदस्य बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप