शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्रपति भण्डारीको जोड : ‘प्रतिभा विदेश पलायन रोकौं’

शुक्रबार, २७ माघ २०७९, १६ : २०
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह गरेकी छिन् । शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै रोजगारीको व्यवस्था गर्न आग्रह गरेकी छिन् । उनले सरकारले पर्यटकीय क्षेत्रको विकास, पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र गुणस्तरको अनुगमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण र सहज पहुँचको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् । 

उनले नेपालको मौलिक सांस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसार गरी पुनर्जागरणका लागि नेपाल सरकारको ध्यान जानेमा आफूले विश्वास लिएको बताइन् ।  प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिइन् । दैनिक रुपमा भइरहेको प्रतिभा पलायन रोक्न आर्थिक सामाजिक र पूर्वाधार विकासमा निगरानी बढाउनुपर्नेमा जोड दिइन् । 

उनले भनिन्– ‘श्रमको संस्कृतिको सम्मान गर्न श्रमको उचित प्रतिफल उपलब्ध गराउन सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्दछ । देशमा काम गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउनुपर्दछ । आजका युवा नयाँ कुरा गर्न र केही कुरा सिक्न चाहना गर्ने हुनाले परम्परागत श्रमबजारले मात्र श्रमको क्षेत्रमा आउने नयाँ श्रमिकको अपेक्षा पूरा गर्न सक्दैन । तसर्थ बजारको माग अनुरुप जनशक्ति उत्पादन गर्न सक्षम हुनेगरी शैक्षिक प्रणालीमा सुधार गर्ने कार्यलाई एकीकृत ढंगबाट अगाडि बढाउनुपर्दछ ।’

उनले सरकार छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाहको काम चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिइन् । नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नेगरी सेवा प्रवाहको व्यवस्था मिलाउन आग्रह गरिन् ।  उनले भनिन्– ‘एकै प्रकारको कागजात भिन्न भिन्न सरकारी कार्यालयमा पेस गर्नुपर्ने बाध्यतालाई तत्काल हटाउन, हाल सञ्चालनमा रहेका सरकारी प्रणालीहरुले एक अर्काले सजिलै सञ्चार गर्न सक्नेगरी अन्तर आवद्धता व्यक्त गर्नुपर्दछ ।’

संघीय सरकारको अगुवाईमा प्रदेश सरकारले यस्तो सुविधाको व्यवस्था गर्ने उनको विश्वास रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप