शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

के अब विराटनगर विमानस्थल डुब्दैन ?

नयाँ र ठुलो टर्मिनल भवन बनेपछि समस्या समाधान हुने आशा
सोमबार, ०१ फागुन २०७९, १९ : ४८
सोमबार, ०१ फागुन २०७९

विराटनगर । २०७४ साउन २७ र २८ गते आएको बाढीले विराटनगर विमानस्थल झन्डै दुई हप्ता अवरुद्ध बन्यो । त्यस्तै २०७८ साल कार्तिकमा आएको वर्षाका कारण विमानस्थल ४ दिन डुबानमा पर्‍यो । देशकै दोस्रो ठुलो टर्मिनल भवन शिलान्यास गरेको विराटनगर विमानस्थलमा अब पानी पस्दैन ? २०७४ सालको जस्तो केशलिया खोला उर्लेर आयो भने के हुन्छ ? यो विषय विराटनगरबासीको अत्यधिक चासोको विषय हो । 

२०७४ साउन २७ र २८ गते आएको बाढी विमानस्थलमा प्रवेश गर्दा विमानस्थलको धावनमार्गका साथै हाल रहेको टर्मिनल भवनभित्र अत्यधिक लेदो जम्मा भएको थियो । त्यसबेला विमानस्थलमा जमेको हिलो र लेदो निकाल्नका लागि नेपाली सेना परिचालन भएको थियो । करिब २०० को सङ्ख्यामा खटेका नेपाली सेनाका टोलीलाई लेदो हटाउन झन्डै दुई हप्ता लागेको थियो । बाढीका कारण विमानस्थलको करोडौँ क्षति भएको थियो । 

यस्तै २०७८ कार्तिक ३ गते आएको अविरल वर्षाका कारण पनि विराटनगर विमानस्थल बन्द भएको थियो । विराटनगर विमानस्थलमा धावनमार्गदेखि विमान पार्किङ गर्ने स्थान र कर्मचारी निवासमा पनि पानी जमेको थियो । 

Biratnagar Airport (5)

अत्यधिक वर्षा र नजिकका साना खोलाको पानी विमानस्थलमा पसेकाले विमानस्थल जलमग्न भएको थियो । पानीका कारण टर्मिनल भवन, एप्रोन, धावनमार्ग, निवास जलमग्न भएकाले एक्स-रे मेसिन, जेनरेटर, रन–वे लाइट सबै डुबानमा परेका थिए । 

डुबान समस्या समाधान गर्ने गरी सोमबार विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । ‘हामीले डुबान नहुने गरी टर्मिनल भवनको डिजाइन गरेका छौँ,’ विमानस्थलका इन्जिनियर अजय प्रसाद गुप्ताले भने । यद्यपि २०७४ सालको जस्तो बाढी भने विराटनगर विमानस्थलले नथाम्ने उनले बताए । ‘नाला क्लियर नहुँदा हुने समस्या अब हुँदैन,’ उनले भने, ‘तर, बाँध फुटाएर, खोला नै उर्लियो भने यहाँको संरचनाले नथेग्न पनि सक्छ ।’

Biratnagar Airport (1)

टर्मिनल भवन अन्तर्राष्ट्रिय विमानस्थलकै मापदण्डको बन्ने छ । कूल २ अर्ब ४२ करोड (भ्याटबाहेक) लागतमा निर्माण हुने टर्मिनल भवन १६ हजार २७७ वर्ग मिटरको हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उक्त टर्मिनल भवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठुलो हो । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्ग मिटरको छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ । विराटनगर विमानस्थलको धावनमार्ग तत्काल अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड अनुसार विस्तार नभएपनि अहिले रहेको १५०० मिटरको रनवेमा २७० मिटर थप गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

विमानस्थलको टर्मिनल भवन तीन वर्षभित्र निर्माण सक्ने गरी केसी–डाफे जेभीले ठेक्का लिएको छ । २०२५ मा बनेको विमानस्थलको टर्भिनल भवनबाट उत्तरमा नयाँ भवन बन्नेछ । नयाँ भवन बनेपछि पुरानो भवन भत्काइनेछ । ‘समयमा काम सम्पन्न गरेर हामीले पुरस्कृत गर्ने अवसर पाउनेछौं भन्ने विश्वास छ,’ टर्मिनल भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किराँतीले भने । 

Biratnagar Airport (4)

नयाँ टर्मिनल भवनमा १८ सय यात्रु क्षमता रहने बताइएको छ । गत मंसिर ११ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम पनि सुरु गरिसकेको छ । नयाँ बन्ने टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेस्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्रार्थना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हललगायतको अत्याधुनिक सुविधा रहनेछ । मन्त्री सुधन किराँतीले नयाँ बन्ने टर्मिनल भवनले प्रदेश १ को विकासमा कोषे ढुङ्गा साबित हुने बताए ।

Biratnagar Airport (2)

यसअघि विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको विमानस्थलको रूपमा विस्तारका लागि तीन तहको सरकारबीच सम्झौता भएर जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको थियो । मन्त्रिपरिषद्को २०७७ कात्तिक २७ गतेको निर्णयले १२६ दशमलव ४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । तर, बजेट अभाव रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले २०७९ भदौ ३१ गतेको बैठकले भने जग्गा अधिग्रहणको काम स्थगन गरेको थियो । 

विराटनगर विमानस्थल प्रदेश १ को हब विमानस्थलको रूपमा रहेको छ । यो विमानस्थल नेपालको आन्तरिक हब विमानस्थलहरूमध्ये पहिलो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि दोस्रो प्रमाणित एयरोड्रम हो । यहाँबाट ताप्लेजुङ, भोजपुर, तुम्लिङटार, फाप्लु, लामिडाँडा, थामखर्क, मनमाया राई खानीडाँडा र रुम्जाटार गरी आठ विमानस्थलमा उडान हुने गरेको छ । पोखरा विमानस्थलपछि यात्रु आवतजावतको हिसाबले पनि यो विमानस्थल दोस्रो व्यस्त आन्तरिक विमानस्थल मानिन्छ । 

Biratnagar Airport (3)

विराटनगर विमानस्थलबाट सन् २०२२ मा मात्रै ३ लाख ४८ हजार ४७६ जना यात्रु आएका छन् भने ३ लाख ५२ हजार ६४६ जना यात्रु बाहिरिएको तथ्याङ्क छ । सात वर्ष अगाडि भने यो सङ्ख्याभन्दा झन्डै आधा कम यात्रु आउने जाने गर्दथे । सन् २०१६ मा १ लाख ८८ हजार ६४६ जना यात्रु आएको र १ लाख ८८ हजार ४३१ जना यात्रु बाहिरिएको नागरिक विराटनगर विमानस्थलले जनाएको छ । सन् २०१६ मा विराटनगरका लागि ४ हजार ६७१ पटक विमानले ओहोरदोहोर गरेका छन् भने २०२२ मा ६ हजार २७४ पटक आउने र ६ हजार २७३ पटक बाहिरिएको तथ्याङ्कमा उल्लेख छ । विराटनगर विमानस्थलबाट हाल बुद्ध एयरलाइन्सको ७, यति एयरलाइन्सको ४, सौर्यको २ र श्री एयरलाइन्सको ३ गरी दैनिक १६ वटा उडान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप