बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

गौ संरक्षण सँगसँगै अंग्रेजी भाषा पढाउँदै संस्कृत विद्यापीठ

मङ्गलबार, ०२ फागुन २०७९, १६ : ३७
मङ्गलबार, ०२ फागुन २०७९

बुटवल । स्याङ्जा, गल्याङ नगरपालिका–९ का प्रितम भण्डारी संस्कृत सँगै अंग्रेजी पढ्दा ज्ञान, संस्कारसँगै अंग्रेजी भाषामा पोख्त हुने थाहा पाएपछि  रुपन्देहीको देवदहमा रहेको कामधेनु संस्कृत विद्यापीठमा आए । 

गत वर्षदेखि सुरु भएको  विद्यापीठमा  कक्षा ६ मा भर्ना भएका छन् भण्डारी । उनी  संस्कृत श्लोक उच्चारण गर्नेदेखि अंग्रेजी भाषामा सहज रूपमा कुराकानी गर्छन् । 

पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रुपन्देहीको देवदह नगरपालिका–१० भुलहीस्थित कामधेनु गौधामभित्र रहेको संस्कृत विद्यापीठमा भण्डारीको जस्तै अध्ययन गर्ने धेरै छन् । ती मध्ये एक हुन्, कञ्चनपुरका नवीन भट्टराई । 

१३ वर्षीय भट्टराई पनि भण्डारी जस्तै संस्कृत भाषामा पोख्त भएका छन् भने अंग्रेजी पनि सुधारेका छन् । 

त्यहाँका विद्यार्थीहरूले पढाई, श्लोक उच्चारणदेखि उनीहरूको बोली व्यवहारले लगातार गौधाम  जानेहरू प्रशंसा गर्ने गर्दछन् । दुवै भाषामा पोख्त बनाउने र संस्कार सिकाउन यहाँ गत वर्षवाट गुरुकुल सुरु गरिएको उक्त संस्कृत विद्यापीठका संरक्षक तथा प्राचार्य डा योगी सोमराजले बताए । 

अध्ययनको लागि आएका १४ वर्षीय भण्डारीले बुवाआमाले भन्दा पनि आफूलाई नै संस्कृत गुरुकुलमा अध्ययन गर्ने सानौदेखि रुचि भएको कारणले स्थानीय सरकारी विद्यालय छाडेर यहाँ आएको बताए । उनले रातोपाटीसँग भने, ‘मलाई यहाँ संस्कृतसँगै अंग्रेजी पढ्दा भविष्यमा जागिरदेखि जीवनयापन गर्नको लागि कुनै समस्या पर्दैन भनेर आएको हो ।’ उनलाई यहाँको सुविधा पनि मन परेको छ ।

1

गौधाममा यसरी चल्छ विद्यापीठ

गौमाता संरक्षकको रूपमा चिनिएका योगी डा सोमराज गौधामभित्रै रहेको  विद्यापीठमा रहेका विद्यार्थीहरूको हेरचाहमा पनि खटिन्छन् । उक्त विद्यापीठका प्राचार्य समेत रहेका डा उनले  आफ्नो पहिलो अभियान गौसंरक्षण नै भएको बताउँदै समाजमा नैतिक शिक्षाको अभाव भएकाले गुरुकुल स्थापना गर्नु  परेको जनाए । 

उनले संस्कृत भाषाको आफ्नै महत्व रहेकाले त्यसको संरक्षण तथा अंग्रेजी अन्तर्राष्ट्रिय माध्यम भाषा भएकाले समायोजन गर्न दुवै भाषालाई महत्व दिएको बताए । 

3

अहिले आधुनिक शिक्षा आर्जन गरे पनि समाज संस्कारयुक्त, नैतिकवान् बन्न नसक्दा डा सोमराजलाई थकथक लाग्छ । उनी आफै पनि सानैबाट योगी नरहरिनाथको पदचिह्न पछ्याउँदै हिँडेका हुन् । 

राजमार्गमा हुने गाई तस्करी नियन्त्रणमा पनि निकै सक्रिय छन् डा सोमराज । उनले सडकमा सङ्कटमा परेका गाई तथा बाच्छाहरूलाई संरक्षण गर्ने हेतुले देवदह नगरपालिकाले प्रदान गरेको जंगल क्षेत्रमा राखेका छन्। जहाँ ४ सय भन्दा बढी गाई बाच्छा रहेका छन् । गाईबस्तुलाई दाना खुवाउनेदेखि  रेखदेखको लागि  १८ जना  कर्मचारी छन् । 

गुरुकुलमा विद्यार्थीहरूलाई पढाइसँगै खाना, बस्न, पोशाकलगायत निःशुल्क रूपमा गरिएको छ । खास गरी गरिब तथा विपन्न  वर्गका संस्कृत अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूलाई ध्यान दिएर भर्ना लिने गरिएको छ । 

‘विद्यार्थीहरूको परिवारमा सकेसम्म मदिरा सेवन नगर्ने गरेको, यदि गरेको रहेछ भने पनि छाड्ने सर्तमा हामीले विद्यार्थी छनौट गर्ने गरेका छौं,’ डा सोमराजले भने । 

8

विद्यापीठमा अहिले पाल्पा, स्याङ्जा, कञ्चनपुर, कैलाली, रुपन्देहीका विद्यार्थीहरू रहेका छन् । देवदह नगरपालिकाका शिक्षा प्रमुख टिकाराम शर्माका अनुसार नगरपालिकाले अहिले तत्काल एउटा शिक्षकको तलब बेहोरोको छ, अन्य सहयोग पनि बिस्तारै गर्नेछ । 

रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी तथा शिक्षाविद् टेकबहादुर थापा संस्कृत विद्यापीठहरूको आफ्नै महत्व रहेकाले देवदह गौमाता संरक्षणसँगै थालिएको विद्यापीठलाई राज्यले थप लगानी गरेर अझै विस्तार गर्न मद्दत गर्नुपर्ने धारणा राख्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप