बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले दियो मीरगञ्ज पुलबाट मालवाहक सवारी साधन आवतजावतको अनुमति

मङ्गलबार, ०२ फागुन २०७९, २० : ३१
मङ्गलबार, ०२ फागुन २०७९

विराटनगर । भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल भासिएपछि एक वर्षअगाडि मालवाहाक सवारी साधन आवतजावतमा रोक लगाएको भारतले अब भने खुल्ला गरेको छ । 

२०२२ जनवरी ११ मा एक सूचना जारी गर्दै भारतीय पक्षले मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत रद्द गरेको थियो । त्यसपछि भारतले भीमनगर नाकाबाट सामान आवतजावत सुचारु गरेको थियो । त्यसरी सामान ल्याउँदा नेपाली पक्षलाई अतिरिक्त भार परेको थियो । 

अहिले उक्त क्षेत्रमा चारलेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेको छ । विराटनगरको मोरङ व्यापार संघ, उद्योग संगठन मोरङलगायतको पहलमा दुई महिना अघिबाटै आंशिक रूपमा पुल सञ्चालन भएको थियो । 

भारतको पटना स्थित कस्टम विभागले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएको छ । भारतको कमिस्नर अफ कस्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवतजावत खुलेको जनाएका हुन् । यसअघि भारतका जोगवनी स्थित ल्यान्ड कस्टम र आइसीपीबीच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो । 

यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक सवारी साधनलाई ११६ किलोमिटर घुमेर सुनसरीको भण्टाबारी नाकाबाट आउनु पर्ने बाध्यता हटेको छ । अब भने चार किलोमिटर दुरी पार गर्नासाथ मालवाहाक सवारी साधन नेपालको आइसीपी आइपुग्छन् । 

पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालवाहक सवारी साधन भारतीय कस्टम हुँदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।  एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा उद्योगी तथा व्यवसायीले १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको मोरङ व्यापार संघका अध्यक्ष रिजाल बताउँछन् । एक वर्षमा व्यवसायीहरूले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा मात्रै तिरेको उनको दाबी छ । 

भारतीय पक्षबाट पुलसँगै नाका पनि सञ्चालनमा आएको जानकारी दिएपछि आफू खुसी भएको रिजालले बताए । ‘यो सबैको अथक प्रयासको परिणाम भएको हो,’ उनले भने । प्रदेश १ को औद्योगिक जीवनलाइ नै ध्वस्त भएको बेला आफ्नो कार्यसमितिले निरन्तर रूपमा यो मुद्दालाई उठाएर समस्या समाधानका लागि पहल गरेको र एक वर्षमै पुल र नाका पूर्ण रूपमा सञ्चालनमा आएकोमा गर्व लागेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप