शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

कोसी अस्पतालमा जहिल्यै राजनीतिक हस्तक्षेप, ०६१ सालयता १७ जना मेसु परिवर्तन

बुधबार, ०३ फागुन २०७९, ०७ : १७
बुधबार, ०३ फागुन २०७९

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा रहेको ठुलो सरकारी अस्पताल कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. लक्ष्मीनारायण यादव ६ महिना नपुग्दै परिवर्तन भएका छन् । उनको ठाउँमा डाक्टर रविराज सिंहलाई निमित्त मेसु तोकिएको छ । सिंहले मंगलबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । 

कोसी अस्पतालमा सरकार तथा मन्त्री परिवर्तन भएसँगै मेसु परिवर्तन गर्ने पुरानै रोग हो । अस्पताल विकास समिति र मेसु नियुक्तिमा ठुलो आर्थिक चलखेल हुने गरेको कतिपय बताउँछन् । हाल नियुक्त भएका डाक्टर सिंह अस्पतालका जुनियर डाक्टर मानिन्छन् । अस्पतालको १० औँ तहको सर्जन डाक्टर सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । यसअघि नियुक्त भएका यादव भने वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर हुन् । उनी भदौ १६ गते कोसी अस्पतालको निमित्त मेसुमा नियुक्त भएका थिए । 

अस्पतालमा ०७६ सालयता मात्रै ६ जना मेसु परिवर्तन भएका छन् । ०७६ साल अघि अस्पतालको मेसु हालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन खड्का थिए । उनलाई २०७६ भदौ १ गते स्वास्थ्य मन्त्रालयमा सरुवा गरेसँगै तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा.गुणराज लोहनीलाई मेसुमा नियुक्त गरेका थिए । लोहनी ०७६ भदौ १ गतेदेखि ४ महिना पुरा नभई पुनः अर्को मेसु नियुक्त गरिएको थियो । उनै यादवले डाक्टर सङ्गीता कुशल मिश्रलाई २०७६ पुस २५ गते मेसुमा नियुक्त गरे । स्वास्थ्य मन्त्रीबाट यादव हटेर स्वास्थ्य मन्त्रीमा भानुभक्त ढकाल आएसँगै मिश्रले पनि पाँच महिना मात्रै पुरा गर्न पाइन् । ढकालले मिश्रलाई हटाउँदै डाक्टर चुमनलाल दासलाई २०७७ असार १ गतेदेखि मेसु पदमा जिम्मेवारी दिए । दास भने झन्डै २० महिना मेसुको भूमिकामा रहेका थिए । यस्तै २०७८ फागुन ५ गते पुनः स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा आएसँगै डाक्टर यादवराज खरेल मेसुमा नियुक्त भए । खरेलले ६ महिना काम गर्दा नगर्दा खतिवडाको पद धरापमा पर्‍यो । खतिवडाको ठाउँमा स्वास्थ्य मन्त्रीमा भवानी खापुङ नियुक्त भए । उनै खापुङले डाक्टर लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएका थिए । 

हाल नयाँ सरकार बनेर एमालेबाट सांसद पदमा निर्वाचित पदम गिरी स्वास्थ्य मन्त्री बहाल छन् । उनै मन्त्री गिरीले एमाले मोरङका नेताहरूको दबाबमा सिंहलाई मेसु पदमा नियुक्त गरेका हुन् । जुनियर डाक्टरलाई मेसुमा नियुक्त गरेपछि अस्पताल भित्र विवाद सृजना भएको छ । कोसी अस्पतालमा ११ औँ तहको दरबन्दी गरेको छ । कोसी अस्पतालमा अहिले दुई जना ११ औँ तहका चिकित्सकहरू रहेका छन् । डा. दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी ११ औँ तहका चिकित्सक हुन् । ११ औँ तहको डाक्टर अस्पतालभित्रै हुँदा हुँदै पनि जुनियर डाक्टरलाई मेसुको जिम्मेवारी दिएपछि अस्पताल भित्र विवाद भएको हो ।

Dr.Nabinraj Sing

‘सिनियर र दरबन्दी अनुसारको चिकित्सक हुँदा हुँदै जुनियरबाट चिकित्सकबाट मेसुमा जिम्मेवारी तोकिएपछि भोलिको दिनमा अहिले मेसु नियुक्त भएका डाक्टरलाई ती सिनियर चिकित्सकले टेर्दैनन्,’ कोसी अस्पतालका वरिष्ठ एक चिकित्सकले भने, ‘कि त हस्पिटल भित्र भएका ११ औ तहको चिकित्सकलाई मेसु बनाएर ल्याउनुपर्ने थियो । यदि हस्पिटल भित्रका सिनियर र ११ औँ तहको चिकित्सक नभए स्वास्थ्य मन्त्रालयले अन्यन्त्रबाट भए पनि ११ औँ तहको चिकित्सक पढाउनुपर्ने थियो । त्यो सरासर राजनीतिक दबाबको कारणले नयाँ मेसु नियुक्त भएको छ ।’ 

सङ्घीय सरकार परिवर्तन भएर स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समिति परिवर्तन हुन्छ । जनताको उपचार गर्न स्थापना गरिएको कोसी अस्पतालमा एउटाले गरेको नियुक्ति अर्कोले हटाउने, जथाभाबी नियुक्ति गर्ने जस्ता रोगले आफैँ ग्रसित बनेको त्यही कार्यरत चिकित्सकहरू बताउँछन् । 

प्रदेश १ को सबैभन्दा ठुलो सरकारी हस्पिटल सुधार गर्ने पक्षमा अहिलेका विकास समिति, स्वास्थ्य मन्त्रालय र मन्त्री पनि नदेखिएको उनको आरोप छ । यसअघि पनि १० औँ तहको चिकित्सक मेसुमा थिए । यसअघिका डाक्टर यादव हस्पिटल भित्र सिनियिर चिकित्सकको रूपमा कहलिएका थिए । त्यस बेला पनि उनलाई यहाँका अन्य चिकित्सक र कर्मचारीहरूले असहयोग गरेका थिए ।

साढे ३ सय शय्याको कोसी अस्पतालमा दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय बिरामीले स्वास्थ्य उपचार गर्दछन् । यहाँ एक दर्जन बढी विभाग रहेको छ ।

अस्पतालका डाक्टर रोशन खड्काले बिरामीको चाप भएका कारण एक जना डाक्टरले ८० जनासम्म बिरामी हेर्नु परेको दाबी गर्छन् । यस्तै अस्पतालमा राजनीतिक दलहरूले आफ्ना मान्छेहरू भर्ना गर्ने र दक्ष जनशक्ति भर्ना नगर्दा अस्पतालको सेवा प्रवाहमा समस्या रहेको उनी बताउँछन् । 

‘अस्पतालमा फेरिरहने मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका बीचमा समन्वय नहुँदा समेत अस्पतालमा समस्या भएको छ,’ उनी भन्छन्, ‘ कोसी अस्पताल विकास समितिको ४ महिनादेखि बैठक बस्न सकेको छैन । आन्तरिक विवादका कारण बैठक बस्न नसक्दा चिकित्सक, कर्मचारीहरूले समस्या झेल्दै आएका छन् ।’

सङ्घीय सरकार परिवर्तन भएर स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समिति परिवर्तन हुन्छ । जनताको उपचार गर्न स्थापना गरिएको कोसी अस्पतालमा एउटाले गरेको नियुक्ति अर्कोले हटाउने, जथाभाबी नियुक्ति गर्ने जस्ता रोगले आफैँ ग्रसित बनेको त्यही कार्यरत चिकित्सकहरू बताउँछन् । 

अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले भने सरकारका कारण समस्या सिर्जना हुने गरेको बताउँछन् । ‘एउटा अस्पताल विकास समिति छ अर्को नियुक्ति गरेर सरकार नै पठाउँछ, राम्रोसँगले काम गर्नै पाउँदैन, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फेरिदिन्छ र कर्मचारी नियुक्तिमा लाग्छ अनि कसरी अस्पताल सुधार हुन्छ र ?,’ उनी भन्छन् ।

कोसी अस्पतालमा हालसम्ममा ३३ जना मेसु परिवर्तन भएका छन् । अस्पतालको रेकर्ड अनुसार कार्यालय प्रमुखको रूपमा २०१८ साल पुसमा डाक्टर भरतराज वैद्य नियुक्त भएका थिए । उनले झन्डै १० वर्ष अस्पताल प्रमुखको रूपमा काम गरेको रेकर्ड छ । पछिल्लो समय भने अस्पतालमा हुने राजनीतिकरण र अदृश्य ढङ्गले हुने चलखेलका कारण अस्पताल प्रमुख १ वर्ष टिक्न पनि मुस्किल देखिएको छ ।

अस्पताल प्रमुखहरुको लिष्ट (फोटोमा)

List (2)List (3)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप