आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
अनेरास्ववियु महाधिवेशन

अनेरास्ववियुमा सहमतिको प्रयासले निर्वाचन कार्यतालिका प्रभावित

बुधबार, ०३ फागुन २०७९, १६ : ११
बुधबार, ०३ फागुन २०७९

काठमाडौं । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने तयारी थालिएको छ । 

प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा सहमतिको माध्यमबाट नेतृत्व चयनका लागि नेताहरू छलफलमा जुटिरहेका छन् । नेताहरू सहमतिको प्रयासमा जुटेपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा २ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका थियो । र उम्मेदवारहरूको  फाराम वितरण २ः३० देखि ४ बजेसम्म गर्ने भन्ने थियो । 

नेताहरू सहमतिको प्रयासमा जुटेपछि अहिले सबै कार्यतालिका रोकिएको अनेरास्ववियुको नेताहरूले बताएका छन् ।

नेताहरूले निर्वाचन समितिलाई केही समय माग गरेका छन् । समय माग गरेपछि समितिले निर्वाचन कार्यतालिका अगाडि बढाउन सकेको छैन । सर्वसम्मत ढंगबाट नयाँ नेतृत्व चयन गर्ने तयारीमा नेताहरू जुटेका छन् ।

महाधिवेशन सम्पन्न गराउनको लागि ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको छ । भानुभक्त ढकालको अध्यक्षतामा गठन गरिएको अध्यक्ष मण्डलले निर्वाचन समिति नयाँ नेतृत्व चयन गराउनको निर्देशन दिइसकेको छ । सोही आधारमा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । तर, नेताहरू सहमतिको प्रयासमा जुटेपछि कार्यतालिका अनुसार अगाडि बढ्न सकेको छैन । 

हिजोबाट सुरु भएको महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । त्यस्तै विभिन्न ३ वटा आयोगका पदाधिकारी समेत महाधिवेशनबाट चयन गरिनेछ । 

देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी छन् । उनीहरूले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप