शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
जेलबाट राजनीति

डिल्लीबजार कारागारमा रेशम चौधरीको हाइफाई जिन्दगी, पाउँछन् अतिरिक्त सुविधा

मिटिङ बस्न टेबलकुर्सीको व्यवस्था
बिहीबार, ०४ फागुन २०७९, १२ : १५
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरी डिल्लीबजार कारागारमा थुनामा छन् । डिल्लीबजार कारागारमा दुई वटा ब्लक छन् । तीमध्ये उनी ‘ख’ ब्लकमा बस्छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको राजनीतिक भेटघाट र बैठक कारागार परिसरमै हुन्छ ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा तीन सिट जितेको छ । उनका बुवा लालवीर चौधरी बर्दिया–२ बाट निर्वाचित भएका थिए । सत्तामा सङ्कट आउँदा डिल्लीबजारमा भेटघाट बाक्लो हुन्छ, सङ्कट सकिएसँगै भेटघाट पातलिन्छ । 

उन्मुक्तिले विश्वासको मत नदिँदा सुदूरपश्चिममा एमालेका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढल्यो । अहिले कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार बनेको छ । शाह नेतृत्वको सरकार बन्नुअघि र बनेपछि पनि सुदूरपश्चिमका कांग्रेस नेता रमेश लेखक र प्रकाश देउवा डिल्लीबजार कारागार पुगेका छन् । 

‘मुख्यमन्त्री र अरू नेताहरू भेट्न आइरहनुहुन्छ,’ डिल्लीबजार कारागारको सुरक्षामा खटिएका एक जना प्रहरी अधिकृतले भने–‘उहाँको भेटघाट बाक्लो हुने गरेको छ ।’

कारागार प्रशासनले चौधरीको भेटघाटका लागि कुर्सी र टेबलको व्यवस्था गरिदिएको छ । प्लास्टिकको टेबल र ४ थान कुर्सी चौधरी बस्ने ब्लकको बाहिर राखिएको छ । त्यहाँ उनले बैठक र भेटघाट गर्छन् । भेटघाटमा सहजताका लागि कुर्सी र टेबल व्यवस्था गरिएको बताउँछन्, डिल्लीबजार कारागारका प्रशासक मातृका आचार्य ।  कारागार प्रशासक आचार्यले भने–‘कहिलेकाहीँ मुख्यमन्त्री आउनुहुन्छ । त्यसैले कुर्सी र टेवबचाहिँ व्यवस्था गरेका छौँ ।’ 

कुर्सी र टेबलबाहेक चौधरीका लागि अन्य सुविधा नदिएको कारागार प्रशासक आचार्यले जिकिर गरेका छन् । तर बाहिर रेशमलाई जेल प्रशासनले मनमौजी सुविधा दिएको भनेर प्रश्न उठ्ने गरेको छ । आचार्य भन्छन्– ‘कुर्सी र टेबलबाहेक अरू कैदीबन्दी र उहाँले पाउने सुविधा समान छ ।’

२०७४ फागुन १४ देखि उनी थुनामा छन् । २०७४ मा कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाई न्यायाधीश पर्शुराम भट्टराईले पुर्पक्षमा पठाउन आदेश गरेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सहितका राष्ट्रसेवकको हत्या अभियोग दर्ता भएको दुई वर्षपछि रेशमले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । 

२०७२ भदौ २७ मा थरूहट आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मी र एक जना बालकको हत्या भएको थियो । सो घटनामा चौधरीलाई मुख्य अभियुक्तका रूपमा सरकारी वकिलको कार्यालयले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो । 

रेशम बस्ने हलमा कम्तीमा १२ वटा बेड छन् । भेट्न जानेहरूलाई क्यान्टिनमा पैसा तिरेर उनले चिया खुवाउने गरेका छन् ।

दैनिक २० जनाले भेट्छन्

सरकार र सत्तालाई रेशम आवश्यक परेका बेला डिल्लीबजारमा उनलाई भेट्न पूर्वमन्त्री र सांसदहरू जान्छन् । त्यस्तो बेलामा भेट्नेहरूको भीड लाग्छ  । तर सामान्य अवस्थामा चाहिँ दैनिक उनलाई करिब २० जनाले भेट्ने गरेका छन् । 

रेशम बस्ने ‘ख’ ब्लकमा दुई सयभन्दा बढी कैदीबन्दी छन् । अन्य कैदीबन्दीलाई खाट जोडेर सुत्ने व्यवस्था गरिएको छ । तर चौधरीका लागि चाहिँ छुट्टै पलङको व्यवस्था गरिएको छ । उनको बेड नजिकै उनलाई आवश्यक एक जना सहयोगी तोकिएको छ । चौकीदारले जेल प्रशासनको सहमतिमा डिल्लीबजारमा कैद भुक्तान गरिरहेका एक जनालाई सहयोगी तोकेका हुन् । ‘सहयोगीलाई चौधरीको नजिकै खाट व्यवस्थापन गरिएको छ,’ कारागारमा कार्यरत एक जना प्रहरी अधिकृत भन्छन्– ‘उनले चौधरीलाई आवश्यक सहयोग गर्छन् ।’

२०७५ पुस १९ मा सिंहदरबारमा चौधरीले सांसद पदको शपथ लिएका थिए । कारागारबाटै उनलाई शपथ गराउन सिंहदरबारमा उपस्थित गराइएको थियो । 

कारागार व्यवस्थापन विभागबाट अवकाश पाएका पूर्वमहानिर्देशक द्रोण पोखरेल आफ्नो समयमा विभागले निर्णय नै गरेर उनलाई थप सुविधा नदिएको बताउँछन् । उनी भन्छन्– ‘डिल्लीबजार कारागारले सहजीकरण गरेको हुनसक्छ तर ती कुरा रिपोर्टिङमा पनि आउँदैन थियो ।’ रेशमका लागि भेटघाट चाहिँ सहज गरिएको पोखरेल सम्झन्छन् । 

पाँच घण्टा भेट्छन्

फागुन ३ मा बुधवार डिल्लीबजार कारागारमा पुग्दा सांसद लालवीर चौधरीसँग रेशम कुरा गरिरहेका थिए । बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लालवीरका छोरा हुन् रेशम । 

सांसद मात्र होइन, रेशमलाई जो भेट्न जाँदा पनि कारागार प्रशासनले सहज रूपमा भेट्न दिने गरेको छ । ११ बजेदेखि ४ बजेसम्म भेट्न आउनेलाई रेशमसँग सोधेर भेट्ने व्यवस्था मिलाएको कारागार प्रशासक आचार्यले बताए । उनी भन्छन्– ‘उहाँको अनुमतिबिना ाहिँ भेट्न मिल्दैन, उहाँले मञ्जुर गरेका मानिसहरूलाई भेटमा सहजीकरण गरेका छौँ ।’ 

चौधरीले बिहान ११ देखि ४ बजेसम्म आगन्तुकलाई भेट्छन् । एक जना पूर्वजेलरले रेशम र इच्छाराज तामाङलाई भेटमा सहजता गरिदिएको बताए । इच्छाराज ‘क’ ब्लकमा बस्छन् । ‘क’ ब्लकमा ६ सयभन्दा बढी कैदीबन्दी छन् । ती पूर्वजेलर भन्छन्– ‘रेशम र इच्छाराजहरूलाई भेटघाटमा समय तोकिएको छैन, उनीहरूले जति बेलासम्म भेटे पनि सहजता गरिएको छ ।’ 

करिब ५ घण्टा ब्लकबाहिरको कम्पाउन्डमा बसेर रेशमले भेटघाट गर्ने गरेका छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म जेलको फोनबाट कुरा गर्न पनि रेशमलाई सहज छ । अरूले लाइन बसेर फोन गर्नुपर्ने भए पनि रेशमले लाइनमा बस्नुपर्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप