आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

अखिलमा ओलीको चाहना पुरा भएन, सहमति नजुटेपछि  मतदान सुरु

नतिजा केही बेरमा सार्वजनिक हुने
बिहीबार, ०४ फागुन २०७९, १५ : ३२
बिहीबार, ०४ फागुन २०७९

काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो । 

यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलोगरी मतदान सुरु भएको हो । 

अध्यक्ष मण्डलका सदस्य खिमलाल भटरटाईका अनुसार तीन ठाउँबाट मतदान थालिएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान थालिएको हो । 

अध्यक्षका लागि ५ ले उम्मेदवारी दिएका छन् । जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन् । 

त्यस्तै उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । भने महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सचिव खुलातर्फ ४८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमार्फत नेतृत्व चयन गर्न नेताहरूलाई सुझाएका थिए । महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको चितवन मोडल अपनाउन निर्देशन दिएका थिए । तर अखिलको नेतृत्वमा आकांक्षी धेरै हुँदा र अडान नछाड्दा अन्ततः मतदानमार्फत नै नेतृत्व चयन हुने भएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएकाले नतिजा एक घण्टाभित्रै आउने बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप