शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी देशभर संगठन विस्तार र सुदृढीकरण अभियानमा सक्रिय

बिहीबार, ०४ फागुन २०७९, २३ : १५
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारीसहित स्थायी  र केन्द्रीय समिति बैठकपछि देशैभर संगठन सक्रिय भएको छ । 

पार्टी बैठकपछि फागुन र चैत महिना संगठन विस्तार र सुदृढीकरण अभियान चलाएपछि संगठन मुर्झाउन लागेको हो ।

पदाधिकारी, स्थायी र केन्द्रीय समिति बैठक सकेर माओवादी पार्टी संगठन विस्तारमा लागेको हो । 

अहिले सात भौगोलिक तीन गैरगौलिकसहित दश प्रदेशका अधिकांश बैठक बसिसकेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले बताए । प्रदेशका केन्द्रीय सदस्यसहित प्रदेश पदाधिकारी राखेर केन्द्रीय प्रदेश समन्वयको गण्डकी प्रदेशको मात्रै बैठक बस्न बाँकी रहेको छ । 

फागुन ६ गतेसम्म प्रदेशको बैठक सकेर जिल्ला, स्थानीय तह, वडा र सेल कमिटीको बैठक समेत बसेर संगठनलाई चलायमान बनाइने भएको छ । प्रदेशदेखि सेल कमिटीसम्म बैठक राखेर पार्टी र सरकारको सम्पर्क सेतुको रूपमा पार्टीका नेता कार्यकर्ताले काम गर्ने ढकालले बताए ।

‘हामीले २ महिने संगठन विस्तार र सुदृढीकरण अभियान चलाएका छौं । केन्द्रीय प्रदेश समन्वय समितिको बैठक चलिराखेको छ । प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी राखेर बैठक बसिरहेका छौैं । त्यसलाई केन्द्रकै एउटा अभिन्न अंग मानिएको छ । केन्द्रको सबै अथोरिटी दिएको छ । त्यस बैठकले केन्द्रीय सदस्य र प्रदेश सदस्यको समेत कार्यविभाजन गर्ने छ’ ढकालले भने, ‘अब वैचारिक राजनीतिक अभियान पनि सञ्चालन हुने छन् । संगठनको प्रदेश हुँदै, जिल्ला, पालिका,वडा हुँदै सेल कमिटीसम्म बैठक बसालेर गतिशील बनाइने छ ।’ 

पार्टी, जनवर्गीय संगठन, र संगठनको शुभेच्छुक संस्थाको बैठक बसालेर सुझाव संकलन गरिने छ । यदि पार्टी संगठन र जनवर्गीय पुर्नगठन गर्नुपर्ने भएमा गरेर जाने निर्देशन दिएको छ ।

यस्तै पार्टीको प्रतिनिधि सभा, प्रदेश सभा र पालिका भित्रका निर्वाचन क्षेत्रका समेत बैठक बसिने भएको छ । संगठनको नयाँ सदस्यता वितरण र पुराना सदस्यता नवीकरणको कार्यलाई समेत गति दिइने भएको छ । पार्टी नेता कार्यकर्तालाई समेत उत्पादन जोड्न ठोस र मर्द योजना बनाएर अघि बढिने ढकालले बताए ।

‘पार्टीको तल्लो तहमा पुगेर पार्टी र सरकारका विषयमा राय सल्लाह सुझावसहित आलोचना संकलन गरिने छ । पार्टी रूपान्तरण गर्न के-के गर्ने भन्ने विषयमा सुझाव लिइने छ ’ ढकालले भने, ‘पार्टीका नेता कार्यकर्ता जनताको घरघर पुगेर विकास निर्माणको काममा समन्वय गर्नु हुने छ । पार्टी जनताबाट विल्कुल जनताबाट टाढा हुन नदिने भन्ने छ ।’ पार्टीका सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म काठमाडौं र जिल्ला सदरमुकाम नबसेर जनताको बीचमा जान निर्देशन दिएको ढकालले बताए ।

पार्टीको दुई महिने अभियानबाट जे जस्ता सुझाव र आलोचना संकलन हुन्छन् ती सबै केन्द्रीय समिति बैठकमा लगेर छलफल गरिने भएको ढकालले बताए । पार्टी र सरकारलाई कसरी लग्ने भन्ने विषयमा जनताबाट आएको सुझावलाई कार्यान्वयन गरिने तयारी छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप