आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नीति कथा :  कुअन्नको प्रभाव

सोमबार, ०८ फागुन २०७९, १० : ०४
सोमबार, ०८ फागुन २०७९

नीतशास्त्र भन्छ कुअन्न खानु हुँदैन, अन्यथा जीवन वार्बाद हुन सक्छ । यसो त अन्न आफैँमा कुअन्न हुँदैन । अन्न भनेको प्राण हो, प्राण कुप्राण हुने प्रश्नै आउन्न तर त्यही अन्न अनीतिपूर्वक वा अधर्मले उपार्जित गरिएको छ भने कुअन्न हुन पुग्छ । त्यस्तो अन्नले सके त  जीवनै जाला नभए पनि शरीर, मान, सम्मान, इज्जत र प्रतिष्ठामा धक्का भने पक्कै लाग्छ ।   भाइबहिनीहरूको जानकारीका लागि यहाँ यस्तै कथा प्रस्तुत गरिएको छ । 

धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना राजगुरु थिए । उनी माथिल्लै स्तरका विद्वान थिए । राजदरवारमा बराबर आउने जाने गर्थे । एक दिन दरवार गएको बेला खानपानको व्यवस्था उतै गर्नुप¥यो । खाना खाएपछि एक छिन विश्राम गरी फर्कने सुरसार गर्न लागे तर भइदियो के भने पलङ नजिकै हीराको एउटा ठूलै हार झुण्डिरहेको रहेछ । हार देख्नासाथ उनले मन थाम्न सकेनन् र हारलाई सुटुक्क झोलामा हालेर हिँडे ।

बेलुका हार नदेखेर दरवारमा हल्लीखल्ली मच्चियो । यता उता खोजे कतै भेटिएन । राजगुरुप्रति त शङ्कै थिएन । किनकि उनी खारिएका सन्त थिए । यस्ता सन्तले यति सानो कुरामा ¥याल चुहाए होलान् भन्नै प्रश्नै थिएन । नोकर चाकरलाई केरकार गरियो केही भएन ।  
भोलिपल्ट बिहान राजगुरुलाई चार पाँच पटक पखाला लाग्यो । त्यसपछि उनी झल्यास्स भए । कतै हारकै कारण कुनै निर्दोषले दण्ड त पाएन भन्ने लागेकाले तत्कालै दरवार पुगी हार प्रस्तुत गर्दै भने–
‘महाराज ! लिनुहोस् तपाईँको हार । हिजो मेरो बुद्धि भ्रष्ट भएकाले लिएर गएको थिएँ । आज गल्ती बोध भएकाले फिर्ता गर्न आएको हुँ । मबाट नहुनुपर्ने काम भयो । यसैका कारण नजाने कुन चाहिँ निर्दोषले दण्ड पायो होला । दुःखी छु, के गर्ने यस्तै हो गल्ती भइहाल्यो क्षमा दिनुहोला  ।’

गुरुको कुरा सुनेर राजा हैरान भए । उनलाई गुरुको कुरामा विश्वासैै लागेन । त्यसैले मुसुक्क हाँस्दै भने–
‘गुरुदेव ! के कुरा गर्दै हुनुहुन्छ यस्तो । तपाईँ जस्ता ठूला सज्जनले यति सानो चीज लिएर जानुभयो होला भनेर कसरी मानौँ ? लाग्दैछ कसैलाई बचाउन चोरीको दोष आफ्नोटाउकोमा लिँदै हुनुहुन्छ ।’
‘होइन, होइन त्यसो नभन्नुस् । हार मैले नै लगेको हुँ ।’ गुरुले सम्झाउँदै भने–

‘महाराज ! झुटो बोल्दिनँ । अहिलेसम्म बोलेको छैन भने अब किन बोलौँ । हार मैले नै लगेको हुँ । आश्चर्य त केमा छ भने मलाई आज मात्र यस्तो भावना कसरी आयो ? बिहानै चारपाँच पटक पखला लागेको थियो । त्यसपछि गल्ती बोध भएकाले लाग्दैछ हिजो मैले खाएको खानामा कुनै दोष छ । त्यसैले पहिले त्यसैलाई पत्ता लगाउन आग्रह गर्छु ।’

गुरुको कुरा राजालाई ठीकै लाग्यो । उनले तत्कालै मन्त्रीलाई बोलाएर जाँच गर्ने आदेश दिए । अनुसन्धान गर्दै जाँदा के पत्ता लाग्यो भने केही दिन अघि कुनै सज्जनको घरबाट सो अन्न चोरी भएको रहेछ । अदालतले चोरलाई सजाय दिए पनि चामल फिर्ता लिन कोही नआएकाले त्यसलाई दरवारको जिम्मा दिइएको रहेछ । दरवारका कर्मचारीको गल्तीले राजकोशमा जम्मा भएको चीज सार्वजनिक काममा खर्चिनुपर्नेमा दरवारकै निजै भण्डारमा जम्मा गरेका रहेछन् र राजगुरुलाई सोही चामलको भोजन गराइएको रहेछ ।
वस्तुस्थिति बोध भएपछि राजगुरुलाई कारण पत्ता लगाउन बेर लागेन । उनले राजालाई सम्बोधन गर्दै भने–

‘महाराज ! नीतिशास्त्रले राज्यान्नलाई निजी उपभोगमा ल्याउनु हुन्न भनेको छ । जसरी शारीरिक रोगको सूक्ष्म कीटाणु फैलिएर रोगको विस्तार गर्छ उसैगरी सूक्ष्म मानसिक कीटाणुले पनि आफ्नो प्रभाव जमाउँछ । चोरीको परमाणु चामलमा फैलिएको थियो । त्यसैले त्यस चामलले मेरो मन चञ्चल बनायो र खानासाथ चोरी गर्न पुगेँ । धन्य भगवान्को कृपाले मलाई अतिसार भयो, जसले गर्दा त्यसको अधिकाँश भाग मलको रूपमा गयो र कुनै अनहोनी हुन पाएन ।’

गुरुको कुरा सुनेर राजाको होसहवास उड्यो । असावधानीवश राज्यान्न निजी प्रयोगमा ल्याउने कर्मचारीलाई दण्डित गर्दै अन्य कर्मचारीलाई पनि सचेत गराए । त्यस दिनदेखि दरवारमा त्यस्तो केही हुन पाएन । यस नीति कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर जस्तो आहार गरिन्छ बुद्धि र व्यवहार त्यस्तै हुन्छ भन्ने कुरा भने सत्य हो ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप