सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल टेलिकमकाे नाफा २ अर्ब ८४ करोड, नाफा घट्नुका यस्ता छन् कारण

सोमबार, ०५ जेठ २०८२, १४ : ५८
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २ अर्ब ८४ करोड नाफा कमाएको छ, तर नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ।
  • कम्पनीको नाफा घट्नुको मुख्य कारण कर्मचारीको निवृत्तिभरणको व्यवस्थापन र ओटीटी सेवाको प्रयोग बढ्नु हो, जसले गर्दा विदेशबाट आउने कलको आम्दानी घटेको छ।
  • टेलिकमले जीएसएम अनुमतिपत्र नवीकरण र लगानीको ब्याजदर घट्दा आम्दानीमा असर परेको जनाएको छ, साथै वाईफाई सेवाको प्रतिस्पर्धाले पनि प्रयोगकर्ता घटेका छन्।

काठमाडाैं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २ अर्ब ८४ करोड नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार करपछिको नाफा ४८.६७ प्रतिशतले घटेको हो । गत वर्षको यही अवधिमा यस्तो नाफा ५ अर्व ५३ करोड रहेको थियो । 

खुद नाफामा उच्च गिरावट आएको टेलिकमको करअघिको नाफामा भने १६.८२ प्रतिशत तथा ब्याज कर र ह्रासकट्टिअघिको नाफामा भने ५.८९  प्रतिशत वृद्धि भएको देखिएको छ । 

टेलिकमको यो वर्षको स्थगन कर (डिफर्ड ट्याक्स) मा ठूलो पैसा खर्चनुपर्दा नाफा घटेको देखिएको छ । सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणको व्यवस्थाको लागि गत वर्ष  ४ अर्ब ९७ करोड रुपैयाँ छुट्याएको कारण स्थगन करमा प्रभाव परेको हो । 

यो वर्ष ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलमा असर परेको टेलिकमले जनाएको छ । सो कारण यसबापतको आम्दानीमा २२.३७ प्रतिशतले कमी आएको जनाइएको छ । त्यस्तै कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणको लागि २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको तथा निवृत्तिभरणको व्यवस्थाको समेत कारणले तेस्रो त्रैमासिकसम्म ४६.०२ प्रतिशत कमी आएको टेलिकमको तथ्यांक छ । साथै लगानीको ब्याजदर क्रमिक रूपमा घटेका कारणले समेत आम्दानीमा असर परेको जनाइएको छ । 

त्यस्तै प्रतिस्पर्धी आईएसपीले मोबिलिटी वाईफाई सेवा दिएकोले प्रयोगमा उल्लेखनीय कमी भएको समेत टेलिकमले जनाएको छ । विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढेको समेत कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप