बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दूरगामी भिजनसहितको राजनीतिले मात्रै देशको विकास सम्भव छ : विनोद चौधरी

सोमबार, ०८ फागुन २०७९, १६ : १९
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले दूरगामी भिजनसहितको राजनीतिले मात्रै देश विकास सम्भव हुने बताएका छन् । सोमबार तेस्रो रामपुर महोत्सवको समापन कार्यक्रमका लागि पाल्पा पुगेका कांग्रेस नेता चौधरीले राजनीतिबाट मात्रै विकास सम्भव भएको बताए । उनले राजनीतिमा दूरदर्शी नेताको खाँचो औँल्याए । ‘राजनीति मात्रै एउटा मात्र यस्तो नीति हो, जसले समग्र परिवर्तन ल्याउन सक्छ । राजनीति विकास केन्द्रित हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘दूरगामी सोचलाई कार्यान्वयनमा लैजाने सशक्त टुल भनेकै राजनीति हो । राजनीतिको कुर्सीमा सही व्यक्ति आयो भने एउटा हस्ताक्षरले ५० वटा बुढानीलकण्ठ स्कुल बन्न सक्छन्, ५० वटा उद्योग ग्राम बन्न सक्छन् र ५० वटा शास्वतधाम बन्न सक्छन् ।’

उनले ५० वर्षअघि राजपरिवारका सदस्यको अध्ययनका लागि बुढानीलकण्ठ स्कुल खुले पनि त्यसपछि अर्को बुढानीलकण्ठ स्कुल स्थापना गर्न नसक्नु सरकारको कमजोरी भएको बताए । ‘५० वर्षअघि राजपरिवारका सदस्यलाई पढाउन बुढानीलकण्ठ खोलियो । ५० वर्षमा दोस्रो बुढानीलकण्ठ स्कुल बनाउन सकेनौँ । नेपालीले नै सञ्चालन गरेको यो विद्यालयमा आम नेपालीका छोराछोरी पढिरहेका छन् । उनीहरुले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गरिरहेका छन्,’ उद्योगीसमेत रहेका कांग्रेस नेता चौधरीले प्रश्न गरे, ‘हामीले किन अर्को बुढानीलकण्ठ खोल्न सकेनौँ ? यसमा हाम्रो व्यवस्थापकीय कमजोरी पनि हो ।’ 

राजनीतिमा लामो सङ्घर्ष गरेका र योगदान दिएका व्यक्तिहरूको सम्मान हुनुपर्नेमा उल्लेख गर्दै सांसद चौधरीले भने, ‘तर यसका साथै विकास र समृद्धिका बारेमा बुझेकाहरूलाई राजनीतिमा स्थान दिनुपर्छ । त्यसो भयो भने मात्रै समृद्धि सम्भव छ ।’ उनले २०४६ सालमा आफैले उद्योग वाणिज्य सङ्घ तानसेनको भवनको शिलान्यास गरेको प्रसङ्ग उल्लेख गरे । एउटा उद्यमीको प्रयासबाट मात्रै विकास सम्भव नभएकाले आफू राजनीतिमा आएको प्रस्ट पारे ।

‘मलाई शास्वतधाम बनाउन २२ वर्ष लाग्यो । नवलपुर उद्योग ग्राम बनाउन ३२ वर्ष लाग्यो । तर एउटा उद्यमीले समग्र देशको समग्र विकास र व्यवस्थापनमा परिवर्तन ल्याउन सक्दैन,’ उनले थपे, ‘नेपाल बाहिर जाँदा विश्वभर छरिएर बसेका नेपालीहरूसँग भेट हुन्छ । उहाँहरूले मलाई माया गर्नुहुन्छ । उनीहरुले मलाई मौन एउटा प्रश्न सोधिरहेका हुन्छन्, कि तपाईँले आफ्ना लागि त धेरै गर्नुभयो तर देशका लागि के गर्नुभयो ? यही प्रश्नले मलाई राजनीतिमा ल्याएको हो ।’ चौधरी नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप