बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जो बाइडेन अचानक युक्रेन पुगे, कसरी गोप्य राखियो यो यात्रा ?

मङ्गलबार, ०९ फागुन २०७९, १३ : ५४
मङ्गलबार, ०९ फागुन २०७९

‘न्युयोर्क टाइम्स’का अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पोल्यान्डको सिमानामा निकै गोप्य तरिकाले ट्रेन चढाएर युक्रेन लगिएको थियो ।

पोल्यान्डबाट अचानक युक्रेनको राजधानी किभ पुगेका बाइडेनको भ्रमणलाई सुरक्षाको कारणले निकै गोप्य राखिएको थियो । अहिले राष्ट्रपति बाइडेनले युक्रेनबाट निस्किसकेको बताइएको छ । 

केही रिपोर्टमा शनिवार, बाइडेनले आफ्नी श्रीमती जिलसँग रेस्टुरेन्टमा डिनर गरेको र त्यसपछि गोप्य रूपमा वासिङ्टन प्रस्थान गरेको बताइएको छ । 

यद्यपि, यसअघि अधिकारीले पूर्वी युरोपको निर्धारित भ्रमणमा बाइडेन युक्रेन जाने कुरा अस्वीकार गरेका थिए ।

न्युयोर्क टाइम्सले लेखेको छ, ‘आइतबार राति ह्वाइट हाउसले जारी गरेको राष्ट्रपतिको कार्यतालिका अनुसार राष्ट्रपति सोमबार वासिङ्टनमै बस्ने र साँझ वार्सा प्रस्थान गर्ने थियो, जबकि त्यो बेलासम्म उनले आफ्नो आधा यात्रा पूरा गरिसकेका थिए । ’

एक वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो भ्रमण हो । यसअघि बाइडेन पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडालाई भेट्न गएका थिए ।

बाइडेनले के भने ?

जो बाइडेनले युक्रेनका नागरिकहरूको प्रशंसा गर्दै उनीहरूले सैन्य तालिमको कुनै अनुभव बिना नै उत्कृष्ट तरिकाले लडाइँ लडेको बताए ।

उनले भने, ‘म फेरि पनि युक्रेनका जनता, साधारण तथा मेहनती नागरिकको तारिफ गर्छु जसले कहिल्यै सैन्य तालिम पाएनन्, तर उनीहरू अगाडि आएर लड्ने तरिका नायकत्वभन्दा कम छैन र उनीहरूको बारेमा सारा विश्वले यस्तै सोच्दछ ।’

एक टेलिभिजन प्रसारणमा बाइडेन र जेलेन्स्कीले एक संयुक्त विज्ञप्ति जारी गर्दै भने, ‘लोकतान्त्रिक विश्वले यो साहसिक लडाइँ जित्नै पर्छ ।’ 

बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन जारी राख्ने बताए ।

जेलेन्स्कीले भने, ‘यो भ्रमण अमेरिका– युक्रेन सम्बन्धको पूरा इतिहासमा सबैभन्दा महत्त्वपूर्ण छ । हामीले पहिला नै के हासिल गरिसकेका छौँ भनेर यसले देखाउँछ । आज हामीबीचको कुराकानी निकै सार्थक रहेको छ ।’

उनले यो भ्रमणको असर निश्चित रूपमा युद्धको मैदानमा देखिने बताएका छन् । 

जनवरीको सुरुमा नै अमेरिकाले युक्रेनलाई अब्राम्स ट्याङ्क दिने निर्णय गरेको थियो, जसले अहिले युक्रेनको रक्षामा योगदान गरिरहेको छ ।

जेलेन्स्कीले भने कि बाइडेनसँग लामो दूरीका हतियारहरू पनि छलफल भएको छ, ‘मलाई थाहा छ कि युक्रेनले एक महत्त्वपूर्ण सपोर्ट प्याकेज प्राप्त गर्नेछ र यो एक सङ्केत हो कि अब रुसी आक्रमणको लागि कुनै मौका छैन ।’

उनले बाइडेनलाई भने, ‘मिस्टर प्रेसिडेन्ट, युक्रेन तपाईँप्रति आभारी छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप