शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

सर्वोच्चमा मुद्दाको चाङ

एउटा इजलासको भागमा ३६३६ मुद्दा
मङ्गलबार, ०९ फागुन २०७९, १८ : २९
मङ्गलबार, ०९ फागुन २०७९

 काठमाडौं । भनाइ नै छ– ढिलो न्याय दिनु न्याय नदिनु सरह हो । तर, सर्वोच्च अदालतमा मुद्दाको चाङ हेर्दा धेरैले छिटो न्याय पाउने छाँट देखिँदैन ।

आइतबारसम्म सर्वोच्चमा मुद्दा २९ हजार ९२ मुद्दा फर्छ्योट हुन बाँकी छ । हाल सर्वोच्चमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित १६ जना न्यायाधीश छन् । दैनिक आठ वटा इजलास बस्छ । एउटा इजलासमा दुई जना न्यायाधीश बस्छन् ।

मुद्दाको चाङ हेर्दा एउटा इजलासको भागमा ३ हजार ६ सय ३६ वटा मुद्दा पर्ने देखिन्छ । सर्वोच्चका अनुसार ४ हजार पाँच सय ४५ मुद्दा पाँच वर्ष अघिदेखि र १६ हजार ९३५ मुद्दा दुई वर्ष अघिदेखि सर्दै आएका छन् । धेरै फर्छ्योट हुने मुद्दा पुनरावेदन पत्र शीर्षकको छ । यो मुद्दामात्रै १८ हजार दुई सय ७१ वटा फर्छ्योट हुन बाँकी छन् । सबैभन्दा कम संवैधानिक मुद्दा फर्छ्योट हुन बाँकी छ । यो मुद्दा ६ वटामात्रै फर्छ्योट हुन बाँकी रहेको सर्वोच्चले जनाएको छ ।

सोमबार सर्वोच्चमा ६ सय ३८ वटा मुद्दा पेसीमा चढेको थियो । जसमध्ये २८ वटाको फैसला, १२ वटा हेर्दाहेर्दै, ४३ वटा आदेश, २९९ वटा स्थगित, १५९ वटा हेर्न नभ्याइने, ९६ वटा हेर्न नमिल्ने अवस्थामा थिए ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी हो । तर, अहिले कामुप्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश छन् । उनले भने, ‘न्याय परिषद्ले पाँच जना न्यायाधीश पूर्तिका लागि पहल गर्नुपर्ने हो तर, भएको छैन ।’ न्याय परिषद् ऐन अनुसार न्यायाधीश खाली हुनुभन्दा एक महिना अघि नै पदपूर्तिको प्रक्रिया थाल्नुपर्छ । तर ६ महिना पुग्दा पनि प्रक्रिया थालनी भएको छैन ।

‘मुद्दाको लोड धेरै छ, तर यो आर्थिक वर्षमा पनि ६ हजार चार सय मुद्दा फर्छ्योट भइसके,’ प्रवक्ता पौडेलले भने, ‘औसतमा हेर्दा वर्षमा ६ हजार मुद्दा फर्छ्योट पनि धेरै हो । समयमै न्यायाधीशको दरबन्दी पूर्ति भए फर्छ्योट पनि चाँडो हुन्थ्यो ।’

कुन मुद्दा कति फर्छ्योट हुन बाँकी ?

पुनरावेदन पत्र – १८२१७

साधक – ३३१

रिट निवेदन – ४९१०

संवैधानिक रिट/मुद्दा – २५१

पुनरावलोकन निवेदन/मुद्दा – २२०

निवेदन (दोहो¥याई पाउँ/अनुमति/अन्य निवेदन) – ४७३८

प्रतिवेदन – २५२

विविध – १६६

दुई वर्ष नाघेको मुद्दा–१६९२५

पाँच वर्ष नाघेको मुद्दा – ४५४५

फुटकर निवेदन – ६०७

थुनुवा मुद्दा – १६७५ 

sss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप