अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
सारांश
- अभिनेत्री सुस्मिताले आफ्नो थर र कानुनी पहिचानका विषयमा मुख खोल्दै छोरा अनमोल केसीमार्फत नागरिकता लिएको र आफ्नो आधिकारिक पहिचान 'केसी' कायम भएको बताएकी छन् ।
- उनले नेपालको कानुनअनुसार आमाले छोराबाट नागरिकता प्राप्त गर्न सक्ने कानुनी प्रक्रिया पूरा गरी 'केसी' थर कायम गरेको उल्लेख गरेकी छन् ।
- सुस्मिताले 'केसी' थरलाई माया, सम्मान, विश्वास र आमाछोराबीचको अटुट सम्बन्धको प्रतीक भन्दै यसलाई आफ्नो कानुनी अधिकार, अस्तित्व र आत्मसम्मानसँग जोडेकी छन् ।
काठमाडौँ । अभिनेत्री सुस्मिताले आफ्नो थर र कानुनी पहिचानका विषयमा मुख खोलकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै केसी थर आफ्नो छोरा अनमोलको कारणबाट प्राप्त भएको बताएकी छन् ।
उनले नेपालको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया र मापदण्ड पूरा गरेर आफ्नै छोरा अभिनेता अनमोल केसीमार्फत नागरिकता लिएकी हुन् । सोही कानुनी प्रक्रियाअनुसार आफ्नो आधिकारिक पहिचान ‘केसी’ कायम भएको उनले बताएकी छन् ।
उनले भनेकी छन्, ‘नेपालको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया र मापदण्ड पूरा भएपछि आमाले आफ्नै छोराबाट नागरिकता प्राप्त गर्न सक्नुहुन्छ । मैले पनि सोही कानुनी प्रक्रियाअनुसार नागरिकता प्राप्त गरेकी हुँ, र मेरो कानुनी तथा आधिकारिक पहिचान केसी हो ।’
आफ्नो जीवनमा छोरा र पहिचान सबैभन्दा मूल्यवान् सम्पत्ति रहेको उल्लेख गर्दै उनले छोरा अनमोल केसीप्रति गर्व व्यक्त गरेकी छन् । उनी अगाडि भनेकी छन्, ‘केसी मेरो छोराले मलाई दिएको अमूल्य पहिचान हो । यो मेरो लागि केवल एउटा थर होइन, यो माया, सम्मान, विश्वास र आमाछोराबीचको अटुट सम्बन्धको प्रतीक हो । म मेरो जीवनको अन्तिम साससम्म केसी नै रहनेछु ।’
यस विषयलाई आफ्नो कानुनी अधिकार, अस्तित्व र आत्मसम्मानसँग जोड्दै उनले यो कुनै थरको बहस मात्र नभएर एक आमाको गर्वको विषय भएको बताएकी छन् ।
सुस्मिता केही दिनदेखि ‘थर’को कारणले चर्चामा छिन् । भुवनसँगको वैवाहिक जीवन टुंगिएपछि पनि उनको थर ‘केसी’ किन भनेर सामाजिक सञ्जालमा कतिपयले प्रश्न सोधेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण